काठमाडौं- विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढाउनुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षमाथि आज काठमाडौंमा समग्र समीक्षा गरिने भएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहनेछ। विधेयक निर्माण प्रक्रियामा सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले सातै प्रदेशमा ‘शिक्षा संवाद’ आयोजना गरेको थियो।
विराटनगरबाट सुरु भएको शिक्षा संवाद सुदूरपश्चिमको धनगढीसम्म पुगेर सातै प्रदेशमा सम्पन्न भएको हो। प्रदेशस्तरीय संवादमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तहका प्रतिनिधि, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग विद्यालय शिक्षाका समस्या, चुनौती र सुधारका विषयमा छलफल गरिएको थियो।
सातै प्रदेशबाट प्राप्त सुझाव, प्रमुख विषय र निष्कर्षलाई एकीकृत रूपमा प्रस्तुत गरी समीक्षा गर्न काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा समग्र शिक्षा संवाद आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ।
छलफलमा प्रदेशस्तरबाट आएका सुझावका आधारमा विद्यालय शिक्षा विधेयकको मस्यौदामा समेटिनुपर्ने प्राथमिक विषयबारे थप विमर्श गरिनेछ। प्रदेशस्तरीय संवादमा शिक्षकको पेशागत विकास, विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि, पाठ्यक्रम तथा मूल्याङ्कन प्रणाली, विद्यालयको गुणस्तर सुधार तथा संघ, प्रदेश र स्थानीय तहबीचको शैक्षिक जिम्मेवारीलगायत विषय प्रमुख रूपमा उठेका थिए।
सातै प्रदेशबाट प्राप्त सुझाव र काठमाडौंमा हुने समग्र छलफलबाट आएका थप सुझावलाई समेटेर विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढाउने मन्त्रालयको तयारी छ।