काठमाडौँ- विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढाउन शिक्षा तथा खेलकुद मन्त्रालयले आज काठमाडौँमा बृहत छलफल गरिरहेको छ। केही बेर अघि देखि सूरुभएको छलफलमा सुझाव दिन सरोकारवालाको उपस्थिती रहेको छ।

यस अघि सातै प्रदेशमा सम्पन्न शिक्षा संवादबाट प्राप्त सुझाव तथा निष्कर्षमाथिसमग्र समीक्षा तथा बृहत् छलफल आयोजना गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा शिक्षा क्षेत्रका सरोकारवालाबीच छलफल चलिरहेको हो।
पूर्वको विराटनगरबाट सुरु भएको संवाद सुदूरपश्चिमको धनगढीसम्म पुगेर सातै प्रदेशमा सम्पन्न भएको हो।प्रदेशस्तरमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, स्थानीय तह, शिक्षाविद् तथा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालासँग विद्यालय शिक्षाका समस्या, चुनौती र सुधारका विषयमा छलफल गरिएको थियो।
सातै प्रदेशमा भएका छलफलबाट प्राप्त सुझाव, उठेका प्रमुख विषय तथा निष्कर्षलाई एकीकृत रूपमा प्रस्तुत तथा समीक्षा गर्न काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानमा शिक्षा संवाद कार्यक्रम गरिएको हो।
शिक्षकको पेशागत विकास, विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि, पाठ्यक्रम तथा मूल्याङ्कन प्रणाली, विद्यालयको गुणस्तर सुधार तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको शैक्षिक जिम्मेवारीलगायत विषय प्रदेशस्तरीय संवादमा प्रमुख रूपमा उठेका थिए।




