काठमाडौँ- विद्यालय शिक्षाको अन्तिम खुड्किलो कक्षा १२ को नतिजामा सुधार आएको छ।गत शुक्रबार सार्वजनिक भएको नतिजामा गत वर्षको भन्दा आठ प्रतिशत बढि विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन्। अघिल्लो वर्ष ६१.१७ प्रतिशत रहेको नतिजा यस वर्ष वृद्धि भएर ६९.७५ प्रतिशत पुगेको छ।
दुई वर्षअघि कक्षा १२ को उत्तीर्ण प्रतिशत ५२.९१ प्रतिशत मात्रै थियो। दुई वर्षको अवधिमा कक्षा १२ को नतिजा झन्डै १७ प्रतिशतले बढेको छ। यस पटक कक्षा १२ कोपरीक्षामा नतिजा वृद्धि हुनुमा विविध कारण छन्। प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणमा शिक्षकलाई दिइएको तालिमले सकारात्मक प्रभाव परेको छ। विगतका नतिजा विश्लेषण गर्दै अपनाइएको सुधारात्मक उपायले सुधारमा सहयोग पुगेको हो।

राष्ट्रिय परीक्षा बोर्डले पछिल्लो समय प्रश्नपत्र निर्माणका लागि शिक्षकलाई तालिम दिन थालेको छ। दुई हजारभन्दा धेरै शिक्षकले यस्तो तालिम लिएका छन्। बोर्डले विगतका प्रश्नपत्र तथा नतिजाको विश्लेषण गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म नतिजा सुधारको अभियान चलाएको छ। विगतका कमजोरीको निर्मम समीक्षा गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सञ्चालन गरिएको नतिजा सुधार अभियानले शिक्षक, विद्यार्थी र अभिभावक सबैलाई आआफ्नो जिम्मेवारीप्रति सजग बनाएको छ । त्यस्तै लेटर ग्रेडिङ निर्देशिकामा गरिएको व्यावहारिक संशोधन, जसले विद्यार्थीलाई आफू असफल भएको निश्चित विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिने सुविधा दिएको छ। यसले पनि विद्यार्थीको मनोवैज्ञानिक दबाब कम गर्न मद्दत पु¥याएको छ । बोर्डले यस पटकको परीक्षा गत जेठ १४ बाट २७ गतेसम्म सञ्चालन गरेको थियो।
परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए।
जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका थिए । सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो। बोर्डले निर्देशन भएको समयावधिअगावै नतिजा सार्वजनिक गर्न सफल भएको छ। यसअघि एसइईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । तर परीक्षा सकिएको महिना दिनमै कक्षा १२ को नतिजा सार्वजनिक भएको भनेर खुसियाली मनाएको शिक्षा तथा खेलकुद मन्त्रालयले अनपेक्षित टीकाटिप्पणीको सामना गर्नु परेको छ।
हतारमा नतिजा सार्वजनिक गर्दा त्रुटि बढेको, उत्तरपुस्तिका परीक्षणमा लापर्बाही भएको, नतिजामा चित्त नबुझेका विद्यार्थीलाई पुनर्योग गर्दा लाग्ने शुल्क बढाएकोलगायतका टिप्पणी सामाजिक सञ्जालबाट आएको थियो। गुनासो तथा टिप्पणी आएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस विषयमा स्पष्ट पारेका छन्।
कक्षा १२ को नतिजा छिटो प्रकाशित गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले विगतमा अपनाइँदै आएका सबै प्रक्रिया अपनाएको र कर्मचारीबाट कुनै कमजोरी नभएको मन्त्री पोखरेलको दाबी छ।
विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात् सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउने व्यवस्था गरिएको थियो । यस वर्ष भने सम्परीक्षणको काम सम्बन्धित स्थानमै गर्न सकिने व्यवस्था मिलाइएकाले काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको पनि मन्त्री पोखरेलले बताए।
उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समयसम्म रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गर्दै परीक्षण प्रव्रिmया समयमै सुरु गरिएको बताउँदै मन्त्री पोखरेलले कसैलाई हतार हतारमा परीक्षण गर्न नलगाइएको पनि स्पष्ट पारे।
साथै यस पटक उत्तरपुस्तिका परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको पनि मन्त्री पोखरेलको भनाइ छ। धेरै जनशक्ति परिचालन गरेर अनावश्यक प्रशासनिक तथा प्रव्रिmयागत ढिलासुस्ती हुन नदिइएको मन्त्री पोखरेलले बताए।
सामाजिक सञ्जालमा पुरानो नतिजामा पुनर्योगको शुल्क वृद्धि गरिएको भन्ने गुनासो आएपछि मन्त्री पोखरेलले यो निर्णय वर्तमान सरकारले नगरेको स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘पुनर्योगको शुल्क वृद्धि गत वर्षको पूरक परीक्षादेखि नै लागु भएको हो र यस सम्बन्धमा वर्तमान सरकारले कुनै नयाँ निर्णय गरेको छैन। ’
‘यस वर्ष नतिजा ‘असामान्य रूपमा छिटो’ आएकोभन्दा पनि विगतमा नतिजा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारिएको हो। हामीले नतिजा प्रकाशित हुनुपर्ने उचित समयमै प्रकाशित गरेका मात्र हौँ, ’ उनले बताए।
‘उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति बढाइएको छ, सम्परीक्षणका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको छ, उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गरिएको छ र परीक्षण प्रव्रिmया समयमै सुरु गरिएको छ,मन्त्री पोखरेलले भने।
सरकारी र निजी विद्यालयबिचको नतिजामा अन्तर, भौगोलिक विकटताका कारण ग्रामीण क्षेत्रका विद्यार्थीले भोग्नु परेको गुणस्तरीय शिक्षक र शैक्षिक सामग्रीको अभाव जस्ता संरचनागत चुनौती अझै सम्बोधन हुन बाँकी नै छन्। अहिलेको प्राथामिकता केवल नतिजाको प्रतिशत बढाउनु मात्र होइन, उत्पादित जनशक्तिको गुणस्तर र सान्दर्भिकता सुनिश्चित गर्नु पनि हो। कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षामा प्रवेश गर्ने वा श्रम बजारमा जाने सरकारले विद्यार्थीहरुलाई कता जान मार्गनिर्देश गर्ने भन्ने सवाल महत्वपुर्ण देखिन्छ।