काठमाडौँ - नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले जारी गरेको नयाँ शिक्षा नियमावलीले शिक्षकका मूल समस्याहरू समाधान गर्न नसकेको भन्दै अब आन्दोलन नै एक मात्र विकल्प बनेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित महासंघको तेस्रो राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले नयाँ नियमावली शिक्षकमैत्री नभई राज्यको प्रशासनिक सुविधा केन्द्रित रहेको आरोप लगाए। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष केशव निरौला प्रमुख अतिथि तथा पूर्व अध्यक्ष बाबुराम थापा विशिष्ट अतिथि रहेका थिए।
सुवेदीले विशेषगरी शिक्षक सरुवा प्रक्रियालाई अनावश्यक रूपमा जटिल बनाइएको भन्दै आपत्ति जनाए। सरुवा सामान्य प्रशासनिक प्रक्रिया भएकाले यसलाई सहज, पारदर्शी र विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने उनको धारणा थियो। बढुवाजस्तै प्राप्ताङ्क, विभिन्न मापदण्ड र जटिल प्रक्रिया राखेर सरुवा गर्ने व्यवस्था शिक्षकमाथिको अन्याय भएको भन्दै महासंघले यसको कडा विरोध गर्ने उनले बताए।
उनले विद्यालय कर्मचारी, प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षक तथा शिक्षण–सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब वृद्धि नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे। साथै स्थायी शिक्षकको बढुवा, अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व र सेवा अवधि पूरा गरेर पनि सुविधा नपाएका शिक्षक–कर्मचारीका समस्या अझै समाधान हुन नसकेको उल्लेख गरे।
प्रधानाध्यापकको अधिकार र भूमिकालाई पनि नयाँ नियमावलीले कमजोर बनाएको सुवेदीको भनाइ थियो। विद्यालय सञ्चालनका लागि प्रधानाध्यापकलाई प्रभावकारी प्रशासनिक नेतृत्व प्रदान गर्नुपर्ने महासंघको माग विपरीत व्यवस्था गरिएको भन्दै उनले यसले विद्यालय व्यवस्थापनमा नकारात्मक असर पर्ने बताए।
महासंघले शिक्षकका सबै माग समेटेर नयाँ आन्दोलनको तयारी गरिरहेको जानकारी दिँदै सुवेदीले आन्दोलन अपरिहार्य बन्दै गएको बताए। उनले आन्दोलनको सफलता केवल शिक्षकको प्रयासमा मात्र निर्भर नरहने, राज्य र सम्बन्धित निकायको भूमिकासमेत महत्वपूर्ण रहने उल्लेख गरे।
विगतको शिक्षक आन्दोलनपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभासम्म पुगे पनि राजनीतिक परिस्थितिका कारण प्रक्रिया अघि बढ्न नसकेको स्मरण गर्दै उनले अब शिक्षकका माग समेटिएको अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन पुनः आन्दोलन गरिने बताए।
यसै अवसरमा अध्यक्ष सुवेदीले आगामी भदौ १८ गते सेवा निवृत्त हुन लागेको जानकारी दिँदै अध्यक्षका रूपमा यो आफ्नो अन्तिम राष्ट्रिय कार्यक्रम रहेको बताए। पदबाट अवकाश लिएपछि पनि महासंघको सल्लाहकारका रूपमा शिक्षक आन्दोलनमा सक्रिय रहने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रममा शिक्षक आन्दोलनमा योगदान पुर्याएका अग्रज नेतृत्व तथा सहिदप्रति सम्मान व्यक्त गरिएको थियो। साथै निवर्तमान शिक्षक नेताहरू विष्णुप्रसाद भण्डारी र सानोभाइ कार्कीलाई सम्मान गरिएको थियो। नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, महासचिव हरिदेव यादव तथा अखिल नेपाल शिक्षक संघका अध्यक्ष चक्रपाणि पौडेल र महासचिव पुष्कर सापकोटालाई नयाँ जिम्मेवारीका लागि बधाईसमेत ज्ञापन गरिएको थियो।