काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अबदेखि विश्वविद्यालयका रेक्टर, रजिस्ट्रार, डिनलगायत पदाधिकारीको नियुक्तिमा सरकारले कुनै हस्तक्षेप नगर्ने बताएका छन्। शुक्रबार शिक्षा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको स्वायत्तता सुदृढ गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै उपकुलपतिलाई आफ्नो कार्यटिम स्वतन्त्र रूपमा चयन गर्ने अधिकार दिइएको बताए।
विश्वविद्यालयहरूले अहिलेसम्म पूर्ण रूपमा स्वतन्त्र र स्वायत्त अभ्यास गर्न पाएका थिएनन् उनले भने ,अब सरकारले कुनै हस्तक्षेप गर्दैन। उपकुलपतिलाई आफ्नै टिम आफैँ बनाउन भनेका छौँ, रेक्टर, रजिस्ट्रार, डिनलगायत पदाधिकारीको नियुक्तिमा सरकारको हस्तक्षेप नरहने पनि उनले दाबी गरे।
सरकारले विश्वविद्यालयको समग्र विकासका लागि स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोण तय गरेको भए पनि त्यसको कार्यान्वयनका क्रममा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिबद्धता लिएको मन्त्री पोखरेलले बताए। विश्वविद्यालय कस्तो हुनुपर्छ भन्ने सरकारको भिजन छ, त्यसअनुसार काम गर्नुपर्छ, तर त्यसका लागि राजनीतिक हस्तक्षेप हुँदैन।
उपकुलपतिहरूले स्वतन्त्र रूपमा आफ्नो टिम बनाएर विश्वविद्यालय सञ्चालन गर्न सक्नुहुन्छ, उनले भने। विश्वविद्यालयको नेतृत्व चयन प्रक्रियामा पनि सुधार भएको दाबी गर्दै पहिलोपटक योग्यता र क्षमताका आधारमा उपकुलपति नियुक्त गरिएको दाबी उनकाे थियाे ।
मन्त्री पोखरेलका अनुसार नियुक्त भएका उपकुलपतिहरू अन्तर्वार्ताअघि आफूलाई भेट्न नआएको र नियुक्तिपत्र बुझ्न आउँदा समेत नियुक्ति प्रक्रियाको निष्पक्षताप्रति उनीहरू स्वयं आश्चर्यचकित भएको अनुभव सुनाएका थिए। विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त, स्वायत्त र उत्तरदायी शैक्षिक संस्थाका रूपमा विकास गर्ने सरकारको प्रतिबद्धता पनि उनले दोहोर्याए।