काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले आफ्नो ३०औँ स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम स्थगित गर्दै बाढीपीडितको उद्धार तथा राहतका लागि १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ECAN ले रसुवा, नुवाकोट, गोरखा, चितवनलगायत प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको जनाएको छ।
भदौ १३ गते (२९ अगस्ट २०२६) होटल एभरेस्ट, काठमाडौँमा आयोजना गर्ने तय भएको ईक्यानको ३०औँ स्थापना दिवस तथा वार्षिकोत्सव समारोह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघले जनाएको छ। संघले विपद्को कठिन परिस्थितिमा उत्सवभन्दा मानवीय सेवा, उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने भन्दै कार्यक्रम स्थगित गरेको हो।
राहतका लागि ईक्यान केन्द्रीय कोषबाट १० लाख १ हजार रुपैयाँ र केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको संयुक्त योगदानबाट ५ लाख रुपैयाँ गरी कुल १५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ। उक्त रकम सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन हुने प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराइने ईक्यानले जनाएको छ। संघले आफ्ना सदस्य, सदस्य संस्था, शैक्षिक परामर्श व्यवसायी, विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्था, अन्तर्राष्ट्रिय शिक्षा प्रदायक, साझेदार संस्था तथा अन्य सरोकारवालालाई स्वेच्छिक रूपमा राहत अभियानमा सहभागी हुन अपिल गरेको छ।
ईक्यान मार्फत संकलित सहयोग रकम पारदर्शी रूपमा सम्बन्धित राहत कोष तथा निकायमार्फत प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा प्रयोग हुने संघले जनाएको छ। बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै ईक्यानले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। बेपत्ता नागरिकहरू शीघ्र सकुशल परिवारको सम्पर्कमा फर्किऊन् भन्ने कामना पनि संघले गरेको छ।
ईक्यानका महासचिव भवनाथ हुमागाईंले विपद्को समयमा आफ्नो क्षमता र इच्छाअनुसार आर्थिक, भौतिक वा अन्य आवश्यक सहयोगमार्फत राष्ट्रिय राहत अभियानमा हातेमालो गर्न सबैमा अपिल गरेका छन्।
ईक्यानले स्थापना दिवस कार्यक्रम स्थगित भए पनि आफ्नो सामाजिक दायित्व स्थगित नभएको स्पष्ट पार्दै विपद्को यस कठिन घडीमा राष्ट्र र नागरिकका लागि एकजुट भएर सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
साथै ईक्यानले आजै रक्तदान कार्यक्रम समेत गरेको छ। रक्तदान कार्यक्रमका तस्बिरहरु :



