काठमाडौँ- सल्यानका २१ वर्षीय आयुष खड्काको सरकारी अधिकृत बन्ने सपना भोटेकोशीको विनाशकारी बाढीसँगै अधुरै बनेको छ।
लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा सरकारी सेवामा प्रवेश गरेका आयुषको पहिलो पदस्थापन रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा भएको थियो। सरकारी सेवामा प्रवेश गरेको करिब पाँच महिनामै भदौ १० गते आएको विनाशकारी बाढीमा परेर उनको मृत्यु भयो।
स्नातक तहको परीक्षा दिन उनी बाढी आएको दुई दिनपछि गृहजिल्ला सल्यान फर्किने तयारीमा थिए। भदौ १२ गते काठमाडौं आउने र त्यसपछि भदौ १६ गते परीक्षा दिन घर जाने उनको योजना थियो। तर, घर फर्किने तयारी गरिरहेकै बेला भदौ १० गते बिहान आएको बाढीले उनको ज्यान लियो।
बाढीमा बेपत्ता भएका आयुषको शव पाँच दिनपछि फेला परेको थियो। शव घरसम्म लैजान सकिने अवस्था नरहेपछि सोमबार चितवन र तनहुँको संगमस्थल देवघाटमै उनको अन्त्येष्टि गरिएको उनका काका रमेश खड्काले जानकारी दिए।
‘खरिदार हुँदिनँ, सिधै अधिकृत निकाल्छु भन्थ्यो’
आयुष पढाइमा निकै रुचि राख्ने र भविष्यप्रति महत्वाकांक्षी रहेको उनका काका रमेश बताउँछन्। सरकारी सेवामा प्रवेश गरेपछि पनि उनले अधिकृत तहमा नाम निकाल्ने लक्ष्य बनाएका थिए।
परिवारले लोकसेवा उत्तीर्ण भएकाले जागिरसँगै पढाइलाई निरन्तरता दिन सुझाव दिएपछि उनी रसुवा पुगेका थिए। रसुवामा पदस्थापनप्रति उनको खासै रुचि नभए पनि परिवारको सल्लाहपछि उनी त्यहाँ गएर जिम्मेवारी सम्हालिरहेका थिए।
‘पढ्नमा साह्रै रुचि राख्थ्यो। खरिदार हुँदिनँ, म सिधै अधिकृत निकाल्छु भन्थ्यो,’ काका रमेशले सम्झिए।
आयुष सल्यानको बागचौर नगरपालिका–१० पिपलनेटाका स्थायी बासिन्दा थिए। उनी खड्का परिवारका जेठा छोरा थिए। परिवारमा उनका बुवा, आमा र एक बहिनी छन्।
छोराको मृत्युको खबरले आमालाई सम्हाल्नै गाह्रो
आयुष बाढीमा परेको खबर पाएपछि उनकी आमा मुना बेहोस भएकी थिइन्। लामो समयसम्म छोराको खोजीमा रहेको परिवारले पाँच दिनपछि शव भेटिएको खबर पायो।
सोमबार देवघाटमा आयुषको अन्त्येष्टि भइरहँदा आमा मुना र बहिनी आयुषा अर्धमूर्छित अवस्थामा पुगेका थिए। अन्त्येष्टिमा सहभागी आफन्तहरूले उनीहरूलाई सम्हालेका थिए।
सरकारी सेवामा प्रवेश गरेर भविष्य बनाउने सुरुवाती चरणमै आयुषको जीवन बाढीले खोसिदिएपछि परिवारले एउटा छोरा मात्र होइन, उज्ज्वल भविष्यको सपना पनि गुमाएको छ।