काठमाडौँ- भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीको सम्भावित उद्गमस्थल लाङटाङ लिरुङ हिमालको उत्तरी क्षेत्र रहेको खुलेको छ। चीनका वैज्ञानिकहरूले गरेको प्रारम्भिक विश्लेषणअनुसार बुधबार बिहान हिमालको उत्तरी भेगमा ठूलो हिमपहिरो गएको हो। चीनमा रहेका नेपाली हिमविज्ञानी मोहनबहादुर चन्दका अनुसार उक्त क्षेत्रमा ठूलो हिमपहिरो पहाडसहित तल खसेको देखिएको छ। घटनाको विस्तृत र यकिन विवरण संकलनका लागि अध्ययन भइरहेको उनले जानकारी दिए। प्रारम्भिक अनुमानअनुसार हिमपहिरो तिब्बतको ल्हेन्दे खोलामा खसेपछि खोला थुनिएको र त्यसपछि विस्फोटक रूपमा बाढी आएको हुन सक्छ। सोही बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेको बताइएको छ।
हिमपहिरो गएको क्षेत्रमा अझै ठूलो र गहिरो खाल्डोमा पानी जम्मा भइरहेको बताइएको छ। यसका कारण पुनः अर्को बाढी आउन सक्ने सम्भावना रहेको भन्दै स्थानीय तहमा सतर्कता अपनाइएको छ।
चितवनमा १८ शव भेटिए
तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएका छन्।रसुवा र नुवाकोटमा थुप्रै मानिसहरु सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ। कुरिनटारदेखि नारायणगढको लीलाचोकसम्म विभिन्न स्थानमा ती शव भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्। उनका अनुसार बुधबार साँझ ६ बजेसम्म १८ शव र १२ वटा हातखुट्टा फेला परेका छन्। सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउँदै बाढीले बगाएर ल्याएका शव तथा अवशेष निकाल्ने काम गरिरहेको छ।
प्रजिअ अर्यालले बाढीको बहावसँगै शव आएको बताउँदै नदीमा बगेर आएका सामान तान्न वा संकलन गर्न नजान सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। शव देखिए तत्काल सुरक्षाकर्मीलाई खबर गर्न अनुरोध गरे। नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख इन्जिनियर सुमित अधिकारीका अनुसार देवघाटस्थित नारायणी नदीमा पानीको सतह घट्न थालेको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग तथा नारायणगढ - मुग्लिन सडकखण्डमा दिउँसैदेखि सवारी आवागमन रोकिएको थियो। पोखरातर्फ जाने सवारीसाधन भने क्रमशः पठाउन थालिएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङतर्फ सडक अवरुद्ध रहेकाले सो दिशातर्फ जाने सवारी रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताउनुभयो।
नारायणी नदीमा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपासका विद्यालयसमेत बन्द गरिएको थियो। नदी तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङ गरी सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको थियो।
नेपाल–चीनबीच मौसमी विवरण आदानप्रदानमा सहकार्य
यसैबीच नेपाल र चीनबीच मौसमी विवरण तथा पूर्वानुमान आदानप्रदानमा सहकार्य गर्ने सहमति भएको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढी र प्रभावित क्षेत्रको मौसमी अवस्थाबारे नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि तथा जल तथा मौसम विज्ञान विभागका अधिकारीबीच बुधबार भर्चुअल बैठक भएको थियो।
बैठकमा चीनको मौसम विज्ञान निकाय (सीएमए) र नेपालको जल तथा मौसम विज्ञान विभागबीच मौसम गतिविधि, पूर्वानुमान तथा सम्भावित जोखिमसम्बन्धी सूचना आदानप्रदान गर्ने सहमति भएको विभागले जनाएको छ।
विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले भोटेकोशीमा आएको आकस्मिक बाढी, मौसमी अवस्था, पूर्वानुमान तथा क्षतिबारे चिनियाँ पक्षसँग छलफल भएको बताउनुभयो। उहाँका अनुसार प्रभावित क्षेत्रको मौसमी विवरण उपलब्ध गराउन चिनियाँ पक्षले सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
विभागका प्रवक्ता विभूति पोखरेलले नेपाल र चीन दुवैतर्फ प्रभावित क्षेत्रमा भारी वर्षा नभएको जानकारी दिनुभयो। हिमताल विस्फोट, पहिरो वा अन्य कारणले नदी थुनिएर बाढी आएको हुन सक्ने सम्भावना रहे पनि यसको आधिकारिक पुष्टि भइनसकेको उनले बताइन्। उनका अनुसार घटनाको वास्तविक कारण पहिचान गर्न नेपाल र चीन दुवै पक्षको संलग्नतामा थप अध्ययन आवश्यक छ। चिनियाँ पक्षले तिब्बत क्षेत्रमा ठूलो वर्षा नभएको र वर्षाका कारण बाढी आएको भन्ने पर्याप्त आधार नदेखिएको प्रारम्भिक जानकारी दिएको छ।
(तस्बिर: गोरखापत्र )




