काठमाडाैँ- आगामी माघ २५ गतेदेखि २९ गतेसम्म राजधानीकाे भृकुटिमण्डपमा २९औं संस्करणको 'क्यान इन्फोटेक २०२४' आयोजना हुने भएको छ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले क्यान इन्फोटेकको तयारीबारे जानकारी दिदैँ महासंघका अध्यक्ष रञ्जित कुमार पोद्दारले मेलाले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताए।
उनले भने,'क्यान मेलाले डिजिटल नेपाल निर्माणमा सहयोग पुग्ने अपेक्षा लिएका छाैँ। क्यान इन्फोटेक २०२४ का लागि हालसम्म १२५ भन्दा बढी स्टल बुकिङ भइसकेका छन्।'
उनले यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको जानकारी दिए। क्यानले यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा लिएकाे छ। मेलामा ‘स्टार्ट अप’लाई निःशुल्क स्टल दिइएकाे छ।
क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्न सहयाेगी भूमिका निर्वाह गर्दै आएकाे छ।
राजधानीमा माघ २५ देखि ५ दिनसम्म देशकै ठूलो सूचना प्रविधि समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने पनि क्यानले जनाएकाे छ। २९औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बिपिई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ।
प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम 'एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुवा' रहेको छ ।
त्यस्तै, क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम रहेका छन्।
त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम एनटेक र पिएनवइ रहेका छन्।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा इसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रालि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि, इन्स्योरेन्स पार्टनरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पिसिपिएस कलेज) रहेका छन्।
प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेट लगायतका संस्थाले सहयोग गरेका छन्।
महासंघका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे।
महासचिव चिरञ्जिवि अधिकारीले २९औँ संस्करणमा आइपुग्दा ‘क्यान इन्फोटेक’प्रति आम सर्वसाधारणको चासो बढेको र स्टल राख्ने कम्पनीहरूबीच पनि प्रतिस्पर्धा बढ्दै गएको बताए।
क्यान इन्फोटेकको टिकेटिङ पार्टनर इसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ। यस अन्तर्गत सर्वसाधारणका लागि १०० रूपैयाँ र विद्यार्थीका लागि ५० रूपैयाँ शुल्क तोकिएको छ।
जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था छ।
प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ-नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्।
यस क्यान इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिष्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिनेछ। यसका साथै एनपीसर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरीटी हेल्प डेस्कसमेत सञ्चालन गरिने क्यान महासंघले जनाएको छ ।