काठमाडौँ- गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको सम्भावित कारण नदीको सहायक नदीमा आएको पहिरोले पानीको बहाव अवरुद्ध हुनु र पछि एक्कासि खुल्नु रहेको प्रारम्भिक अनुमान गरिएको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, नदीमा आएको आकस्मिक बाढीबारे बिहान ४ बजे प्रारम्भिक जानकारी प्राप्त भएको थियो। पछिल्लो २४ घण्टामा छिटपुट मात्र वर्षा भएकाले तत्कालीन वर्षाका कारण मात्रै बाढी आएको सम्भावना नदेखिएको केन्द्रले जनाएको छ।
प्रारम्भिक सूचना तथा भू–उपग्रह तस्बिरहरूको अवलोकनका आधारमा पहिरोले नदी थुनेर बनेको अवरोध एक्कासि खुल्दा बाढी आएको हुन सक्ने अनुमान गरिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत प्राविधिक विश्लेषण भइरहेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार बूढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा बिहान ४:३० बजे जलसतह २.२८ मिटरबाट बढेर ३.६६ मिटर पुगेको थियो। उक्त केन्द्रको सतर्कता तह ४.५० मिटर रहेको विज्ञप्तिमा उल्लेख छ।
बिहान ५:५० बजे जलसतह बढेर ५.०१ मिटर पुगेपछि खतरा तहसमेत पार गरेको थियो। त्यसपछि जलसतह तीव्र गतिमा बढ्दै बिहान ६:३० बजे ६.२२ मिटर र ६:४० बजे ६.४३ मिटर पुगेको केन्द्रले जनाएको छ। बाढीले पुलसहितको मापन केन्द्र बगाएकाले त्यसपछि थप विवरण प्राप्त हुन नसकेको विज्ञप्तिमा उल्लेख छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै केन्द्रले बिहान करिब ४ बजे फेसबुकमार्फत तत्कालीन जानकारी सार्वजनिक गरेको थियो। बूढीगण्डकी नदीको तटीय क्षेत्रदेखि बेनीघाटसम्मका जोखिमयुक्त बस्ती खाली गर्न तथा आवश्यकताअनुसार राजमार्ग र करिडोरमा आवागमन बन्द गर्न अनुरोध गरिएको थियो।
त्यसैगरी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन तथा तनहुँ, चितवन र नवलपरासीलगायत सम्भावित प्रभावित क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको थियो। बिहान ९:२५ बजे पुनः एसएमएसमार्फत सर्वसाधारण तथा सरोकारवालालाई सुरक्षित स्थानमा जान र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन अनुरोध गरिएको थियो।
केन्द्रले यस अवधिमा दुई पटक गरी करिब २ लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरेको जनाएको छ। बाढीको जोखिमबारे समयमै जानकारी पुर्याएर सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सूचना प्रवाह गरिएको हो।
केन्द्रले बूढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार साँझसम्म नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। नदीको बहाव घट्दै गएको देखिए पनि जोखिम पूर्ण रूपमा टरेको निष्कर्ष निकाल्न नसकिने भएकाले पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
