मोरङ- मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीको पारिश्रमिक, चाडपर्व खर्च र अन्य सेवासुविधा सुनिश्चित गर्न निर्देशन दिएको छ।
नगर कार्यपालिकाको कार्यालयले २०८३ असोज २७ गते पत्र जारी गर्दै प्रचलित श्रम तथा शिक्षा कानुनअनुसार शिक्षक र कर्मचारीले पाउनुपर्ने सेवा सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन विद्यालयहरूलाई निर्देशन दिएको हो।
संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिनसमेत काममा लगाउने गरिएको र त्यसबापत पाउनुपर्ने अतिरिक्त पारिश्रमिक वा सट्टा बिदा उपलब्ध नगराइएको गुनासो आएपछि नगरपालिकाले यस्तो कदम चालेको जनाएको छ।
नगरपालिकाले सार्वजनिक बिदाका दिन शिक्षक तथा कर्मचारीलाई काममा लगाउँदा प्रचलित कानुनअनुसार पाउनुपर्ने अतिरिक्त पारिश्रमिक वा सट्टा बिदा उपलब्ध गराउन स्पष्ट निर्देशन दिएको छ।
त्यस्तै, श्रम ऐन, २०७४ को दफा ३७ अनुसार वर्षमा एक पटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा उपलब्ध गराउन पनि विद्यालयहरूलाई भनिएको छ।
शिक्षक तथा कर्मचारीले कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्चसमेत नपाएको गुनासो नगरपालिकामा प्राप्त भएपछि उक्त व्यवस्था कार्यान्वयन गर्न विद्यालयहरूलाई सचेत गराइएको पत्रमा उल्लेख छ।
नगरपालिकाले शिक्षक तथा कर्मचारीको श्रम अधिकार र सेवासुविधा सुनिश्चित गर्नु विद्यालय सञ्चालकको दायित्व भएको स्पष्ट पारेको छ। कानुनले तोकेका सुविधा उपलब्ध गराउन विद्यालयहरूलाई निर्देशन दिँदै श्रमसम्बन्धी प्रावधानको पालना गर्न आग्रह गरिएको छ।
शिक्षक तथा कर्मचारीको हकहित संरक्षण, श्रम कानुनको कार्यान्वयन र संस्थागत विद्यालयमा कार्यरत जनशक्तिले पाउनुपर्ने सुविधा सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकाले यस्तो निर्देशन जारी गरेको हो।
