काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १ देखि ९ सम्म र कक्षा ११ का शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्दा कार्यालयको छाप र आधिकारिक हस्ताक्षर अनिवार्य गरेको छ।
मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श, प्राविधिक तथा छात्रवृत्ति शाखाले असोज २७ गते पत्र जारी गर्दै प्रमाणपत्र प्रमाणीकरण प्रक्रियालाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गरेको हो। मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइ, विश्वविद्यालय र स्थानीय तहलाई सम्बोधन गर्दै आवश्यक प्रक्रिया पूरा गरेर मात्रै प्रमाणपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको छ।
जारी पत्रअनुसार प्रमाणीकरण गरिएका प्रमाणपत्रमा सम्बन्धित कार्यालयको छाप, प्रमाणीकरण गर्ने अधिकारीको आधिकारिक हस्ताक्षर, पद र मिति अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। यी विवरण पूरा नभएका प्रमाणपत्रको प्रमाणीकरण प्रक्रियामा समस्या आउन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।
मन्त्रालयको व्यवस्थाअनुसार कक्षा १ देखि ९ सम्म र कक्षा ११ का शैक्षिक प्रमाणपत्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ वा स्थानीय तहबाट प्रमाणीकरण गरी पठाउनुपर्नेछ। त्यसैगरी, उच्च शिक्षासम्बन्धी प्रमाणपत्र भने सम्बन्धित विश्वविद्यालयबाट प्रमाणीकरण गराउनुपर्ने व्यवस्था गरिएको छ।
प्रमाणपत्र प्रमाणीकरण गर्दा सम्बन्धित निकायले तोकिएको प्रक्रिया र आधिकारिक विवरण पूरा भए–नभएको सुनिश्चित गर्नुपर्ने मन्त्रालयले जनाएको छ। यसले शैक्षिक प्रमाणपत्रको आधिकारिकता पुष्टि गर्न तथा प्रमाणीकरण प्रक्रियामा एकरूपता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, मन्त्रालयले चारित्रिक प्रमाणपत्र र ‘जससँग सम्बन्धित छ’ भन्ने प्रकृतिका कागजात प्रमाणीकरण नगर्ने स्पष्ट पारेको छ। त्यस्ता कागजात लिएर प्रमाणीकरणका लागि आउने सेवाग्राहीलाई सम्बन्धित व्यवस्थाबारे जानकारी गराउन पनि पत्रमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
मन्त्रालयले शैक्षिक प्रमाणपत्र प्रमाणीकरणसँग सम्बन्धित सबै निकायलाई नयाँ व्यवस्थाअनुसार काम गर्न आग्रह गरेको छ।