काठमाडौँ - चितवनको नवोदय माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीले स्याटेलाइट बनाएर नेपालको अन्तरिक्ष अनुसन्धानमा ऐतिहासिक कदम चालेका छन्। प्रविधिको युगमा हरेक नयाँ पुस्ता केही नयाँपन लिएर आउँछ। चेपाङ समुदायका विद्यार्थी पनि नयाँ-नयाँ कुरा अन्वेषण गर्दैछन्।
‘स्लिपर्स टु स्याट’ परियोजनामार्फत यी किशोर-किशोरीले सीमित स्रोतसाधन र अथक मिहिनेतको बलमा स्याटेलाइट बनाए, जुन १५ सेप्टेम्परमा छिमेकी मुलुक चीनबाट प्रक्षेपण गर्ने तयारी छ। ‘स्लिपर्स टु स्याट’ परियोजना २०८१ मा सुरु भएको थियो। अन्तरिक्ष प्रतिष्ठान नेपालको पहलमा चितवनको नवोदय र अन्तोदय माध्यमिक विद्यालयबाट १२० जना विद्यार्थी तालिमको लागि छनोट भए। ७ दिनको तालिममा उनीहरूलाई आधारभूत इलेक्ट्रोनिक्स, कम्प्युटर सञ्चालन र कोडिङ सिकाइयो।
‘हामीलाई सुरुमा स्याटेलाइट भनेको के हो, केही थाहा थिएन,’ परियोजनामा सहभागी विद्यार्थी अमृत चेपाङले भने, ‘कम्प्युटर अन-अफ गर्न पनि डर लाग्थ्यो। हामीले कहिल्यै कम्प्युटर चलाएका थिएनौँ। तर मेन्टरहरूले सरल तरिकाले सिकाउनुभयो।’
तालिममा विद्यार्थीलाई इलेक्ट्रोनिक्सका सामान्य सामग्री, क्यामेराबाट फोटो खिच्ने, चित्र बनाउने र कोडिङका आधारभूत ज्ञान सिकाइयो। कक्षा ८ र ९ मा अध्ययनरत यी विद्यार्थीमध्ये ९ जना स्याटेलाइट निर्माणको मुख्य जिम्मेवारीका लागि छानिए। उनीहरूको चयन तालिममा देखाएको सक्रियता र सिकाइको आधारमा भएको थियो। सम्बन्धित विद्यालयले यसमा धेरै सहयोग गरेको ‘स्लिपर्स टु स्याट’का प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारी बताउँछन्।

कम्प्युटर चलाउन नजान्ने विद्यार्थीलाई लिएर स्याटेलाइट बनाउने कुरा सोचेजस्तो सहज थिएन। यो यात्रा निकै चुनौतीपूर्ण रह्यो। चेपाङ विद्यार्थीले स्कुलको पढाइ, गृहकार्य र परियोजनाको जिम्मेवारीलाई सन्तुलन गर्नुपर्थ्यो। विद्यालय तहमा चलेको यस्तो परियोजना र नियमित पढाइलाई अगाडि बढाउन पनि सोचजस्तो सहज थिएन। बिहान स्कुलमा नियमित कक्षा पढ्थे, दिउँसो ४:३० देखि ६ बजेसम्म स्याटेलाइटको काम गर्थे। बेलुका स्कुलका गृहकार्य सक्थे।
स्याटेलाइटको काममा यी ९ जना विद्यार्थीलाई सघाउन ६ जना मेन्टर थिए । उनीहरूले स्याटेलाइटका विभिन्न मिसनमा काम गरे। विद्यार्थी अमृतका अनुसार स्याटेलाइटमा चारवटा मुख्य मिसन छन्।पहिलो, क्यामेरा मिसन जसले पृथ्वीको सतहमा पानीको मात्रा र प्राकृतिक अवस्था अध्ययन गर्न सहयोग गर्छ। दोस्रो, इपिडियम मिसन जसले भूकम्प आउनुभन्दा केहीअघि पृथ्वीको सतहमा हुने स-साना हलचल पत्ता लगाउँछ। तेस्रो, एडिसीएस (एटिट्युड डिटर्मिनेसन एन्ड कन्ट्रोल सिस्टम) जसले चुम्बकको प्रयोगले स्याटेलाइटको दिशा नियन्त्रण गर्छ।
र, चौथो, डिजिटिबिटर जसले सूचनाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा प्रसारण गर्छ।यी मिसनहरूका लागि स्याटेलाइटमा अनबोर्ड कम्प्युटर, इलेक्ट्रोनिक पावर सिस्टम र कम्युनिकेसन सिस्टमजस्ता ‘बस सिस्टम’हरू राखिएको छ। यहीबीचमा विद्यार्थीले थ्रीडी प्रिन्टिङदेखि कोडिङसम्मका प्राविधिक कामहरू सिके। ‘हामीले विस्तारै कोडिङ र थ्रीडी चित्र बनाउन सिक्यौँ,’ अमृतले भने, ‘सुरुमा सामान्य चित्र बनायौं, पछि थ्रीडी डिजाइनमा काम गर्यौँ।’
यसरी १४ महिनाको अथक प्रयासपछि १५ असार २०८२ मा स्याटेलाइट निर्माण सम्पन्न भयो । यो स्याटेलाइट अब ग्राउन्ड स्टेसनमार्फत सञ्चालन हुने र डाटा संकलन गर्ने चरणमा छ । कम्प्युटर छुँदा पनि बिग्रेला कि भनेर डराउने यी विद्यार्थीले स्याटेलाइट बनाएकोमा अभिभावक आश्चर्यचकित छन्।
शीतल प्रजा, सुहान प्रजा, सजिना चेपाङ, एलिसा प्रजा, बिनामाया प्रजा, शिवकुमार चेपाङ, सुमिना तितुङ, रानासिंह चेपाङ र अमृत राजा आफ्नो यो फड्कोबाट खुसी छन्। ‘हामीलाई सुरुमा विश्वासै थिएन, हामी स्याटेलाइट बनाउन सक्छौं भनेर। झन् हाम्रो बुवा-ममीलाई यी कुरामा विश्वास नै थिएन। तर अहिले ‘तिमीहरूले साँच्चै त्यस्तो बनाएका हौ’ भन्नुहुन्छ,’ अमृतले सुनाए।
गाउँकै स्कुलमा चेपाङ विद्यार्थीले स्याटेलाइट बनाउनु आफैँमा आश्चर्यजनक थियो। अभिभावकले त जीवनमा आफ्ना सन्तानले यस्ता काम गर्लान् भन्ने विश्वासै गरेका थिएनन्।शीतल प्रजा, सुहान प्रजा, सजिना चेपाङ, एलिसा प्रजा, बिनामाया प्रजा, शिवकुमार चेपाङ, सुमिना तितुङ, रानासिंह चेपाङ र अमृत राजा आफ्नो यो फड्कोबाट खुसी छन्।
‘घरमा बुवा-आमाले त पत्याउनुभएको थिएन। पत्याउनु पनि कसरी ? अहिलेको अवस्थामा हाम्रो समुदायको नाम अन्तरिक्षसम्म पुग्ने कुरा अहिलेको लागि त सपनाजस्तै थियो नि,’ अमृतले भने। चितवनको ग्रामीण क्षेत्रमा बस्ने यी विद्यार्थीको पारिवारिक पृष्ठभूमि सामान्य छ। अधिकांश परिवारहरू चिउरी बेचेर र स-साना खेतीपाती गरेर जीविकोपार्जन गर्छन्। त्यसैले स्याटेलाइट बनाउँछौँ भनेर सुनाउँदा साथीहरूले समेत उडाए। जिस्क्याए। गाउँमा कसैको लागि यो कुरा विश्वसनीय थिएन।
अब यी विद्यार्थीको सोच पनि फेरिएको छ। सुरुमा शिक्षक बन्ने सपना देखेका यी विद्यार्थी ‘स्लिपर्स टु स्याट’ सफल भएसँगै आफ्ना सपनालाई अन्तरिक्षसम्म तन्काउन सफल भएका छन्। अमृत पनि अब विज्ञान पढ्ने सोचमा छन्। उनलाई इन्जिनियर बन्नु छ।अमृतले उत्साहित हुँदै अनलाइनखबरसँग भने, ‘मलाई त अन्तरिक्ष अनुसन्धानमै काम गर्ने मन छ।’
यता, स्याटेलाइटको काम सकिए पनि प्रोजेक्टबाट बाहिरिने समय भएको छैन। पढाइ सँगसँगै स्याटेलाइट प्रक्षेपणपछि ग्राउन्ड स्टेसनबाट हुने डाटा संकलन र विश्लेषणको कामलाई निरन्तरता दिनुछ। स्याटेलाइटले भूकम्पको पूर्वसूचना, पृथ्वीको पानीको मात्रा र अन्य वैज्ञानिक जानकारीहरू प्रदान गर्ने भएकाले त्यसको नियमित अपडेट उनीहरुले राख्नुपर्ने हुन्छ। अन्तरिक्ष प्रतिष्ठान नेपालसँगै सहकार्य गरेर यी काम चेपाङ विद्यार्थीले गर्नेछन्।
जब यो स्याटेलाइट चीनबाट अन्तरिक्षमा उड्नेछ, त्यसले चेपाङ समुदायको गर्व र नेपालको वैज्ञानिक भविष्यलाई एक कदम अघि बढाउने विश्वास यी विद्यार्थीको छ। अन्तरिक्ष प्रतिष्ठान नेपालमा कार्यरत ऋषभ अधिकारी, जो स्लिपर्स टु स्याटका प्रोजेक्ट म्यानेजर पनि हुन्, उनी पनि यसरी चेपाङ विद्यार्थीले गरेको मिहिनेत अन्तरिक्षमा घुम्नु गर्वको कुरा रहेको बताउँछन्।
हुन पनि चितवनको नवोदय माध्यमिक विद्यालयमा चेपाङ समुदायका विद्यार्थीले बनाएको स्याटेलाइट नेपालको अन्तरिक्ष अनुसन्धानमा ठूलो कदम हो। त्यो पृष्ठभूमिका विद्यार्थीले यो तहको काम गर्नु सामान्य हैन। कारण, अन्तरिक्ष प्रतिष्ठान नेपालका प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारीले नेतृत्व गरेको ‘स्लिपर्स टु स्याट’ परियोजनाले ग्रामीण विद्यार्थीलाई अन्तरिक्ष प्रविधिमा जोड्यो।
‘हाम्रो लक्ष्य सीमित स्रोत-साधन भएका विद्यार्थीलाई अवसर दिनु थियो,’ अधिकारीले भने, ‘यो स्याटेलाइट, जुन २०८२ असारमा सम्पन्न भयो, अब सेप्टेम्बर १५ मा चीनबाट प्रक्षेपण हुने तयारीमा छ।’
चेपाङ विद्यार्थीसम्म पुगेको यो परियोजनाले विभिन्न चरण पार गर्नुपर्यो सुरुवातमा परियोजना लमजुङ, मकवानपुर र चितवनका तीन स्कुलमा चारदिने तालिमबाट सुरु भएको थियो। लमजुङको भैरव र मकवानपुरको श्री राष्ट्रिय स्कुलमा तालिम दिइएको थियो। तर अन्त ढुवानी र पूर्वाधार समस्याका कारण अन्तरिक्ष प्रतिष्ठान नेपालले नवोदयलाई उपयुक्त ठान्यो।