काठमाडौँ- विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका व्यक्तिहरूको नामावली सार्वजनिक गरिएको छ।
उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालयका लागि सर्टलिस्ट सार्वजनिक गरेको हो।
सरकारले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ लागू गरेपछि पहिलो पटक एकीकृत प्रणालीमार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको हो। नयाँ कार्यविधिअनुसार योग्यतामा आधारित, पारदर्शी र निष्पक्ष छनोट सुनिश्चित गर्न विज्ञ समितिमार्फत प्रारम्भिक मूल्याङ्कन र छनोट गरिएको जनाइएको छ।
सार्वजनिक गरिएको अल्पसूचीअनुसार त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयका लागि समान १०–१० जना उम्मेदवार छनोट भएका छन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि भने ७ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।समितिले सर्टलिस्टमा समावेश उम्मेदवारहरूको योग्यता, क्षमता तथा कार्यसम्पादनबारे सम्बन्धित पक्षबाट राय–सुझाव मागेको छ। इच्छुक व्यक्तिले २०८३ जेठ २५ गतेभित्र आफ्नो सुझाव पेश गर्न सक्नेछन्। प्राप्त सुझाव र थप मूल्याङ्कनका आधारमा अन्तिम सिफारिस प्रक्रिया अघि बढाइने बताइएको छ।
उपकुलपति पदका लागि कुल २१८ वटा आवेदन परेका थिए। प्रारम्भिक परीक्षणपछि विज्ञ टोलीले गरेको मूल्याङ्कनका आधारमा अल्पसूची तयार गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। सरकारले गत वैशाख २४ गते आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि खुला दरखास्त आह्वान गरेको थियो।
जेठ १३ गते बसेको छनोट तथा सिफारिस समितिको बैठकले योग्य आवेदकहरूको दरखास्त स्वीकृत गर्दै छनोट प्रक्रिया अघि बढाएको थियो।शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठन भएको सिफारिस समितिले विज्ञहरूको सहभागितामा उपसमिति गठन गरी मूल्याङ्कन प्रक्रिया सञ्चालन गरेको थियो। विज्ञ समितिबाट प्राप्त अङ्कका आधारमा उम्मेदवारहरूको सर्टलिस्ट तयार गरिएको मन्त्रालयले जनाएको छ।