काठमाडौँ- एउटा ठूलो हल (संसद) छ। त्यही हलमा सभामुख र उपसभामुखको प्रवेश हुन्छ। सांसदहरु आ–आफ्नो ठाउँबाट उठ्छन्। सभामुखले राष्ट्रिय गानसँगै बैठक प्रारम्भ गर्छन। त्यसपछि क्रमैसँग सांसदले आ–आफ्नो क्षेत्रका विशेष मुद्दालाई संसद्को ध्यानाकर्षण गराउँछन्। सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर सवाल–जवाफ चल्छ।
संसद्मा बाँदरका कारण बसाईसराई बढेकोदेखि सिँचाइ अभाव हुँदै सडक, पुल नहुँदा ग्रामीण क्षेत्रका नागरिकले पाएका सास्तीका विषयले प्राथमिकता पाउँछ। सत्ता पक्षका प्रधानमन्त्रीदेखि मन्त्री र सांसदले सरकारका कामको रक्षात्मक जवाफ पेस गरे भने प्रतिपक्षका सांसदहरूले सरकारको कामकारबाहीको कडा आलोचना गरे। यसलाई हेर्दा लाग्थ्यो साँच्चीकै संसद् चलिरहेको छ। तर, यो दृश्य पाल्पाको तानसेनस्थित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका विद्यार्थीहरुले सञ्चालन गरेको नमुना युवा संसद् कार्यक्रमअन्तर्गतको संसदीय अभ्यास हो।
सामाजिक सञ्जाल, मोवाइल, इन्टरनेटको माध्यमबाट संसद्को गतिविधि हेर्दै आएका यहाँका विद्यार्थीले नमूना युवा संसद् कार्यक्रम सञ्चालन गरी संसदीय अभ्यास गरेका हुन्। विद्यालयको आयोजना र टोनी हेगन फाउण्डेसन नेपालको प्राविधिक सहयोगमा भएको नमुना युवा संसद् अभ्यास कार्यक्रमले बालबालिकाको क्षमता विकासमा सहयोग पुगेको छ।
नमूना संसदीय अभ्यासमा विद्यालयका कक्षा ६ देखि ११ कक्षासम्म अध्ययन गर्ने बालबालिकाले सङ्घीय संसद्मा हुने सबै किसिमका नियम, प्रक्रिया पालना गर्दै कार्यक्रम सञ्चालन गरेका थिए। विद्यार्थीहरुले सभामुख, उप–सभामुख, संसद् सचिवालयका कर्मचारी, प्रधानमन्त्री, मन्त्री, संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, सत्तापक्ष सांसद, प्रतिपक्ष सांसद, मर्यादापालक, दर्शक र पत्रकारको भूमिका निर्वाह गरे।
सभामुखको भूमिकामा रहेकी स्वस्तिका पाण्डे संसद् भवनमा प्रवेश गर्ने बित्तिकै राष्ट्रिय गान बज्यो । संसद् भवनमा राष्ट्रिय गानपछि सभामुखको भूमिकामा रहेकी पाण्डेले शून्य समय शुरु गरिन्। शून्य समयमा सांसदको भूमिकामा बालबालिकाहरुले सार्वजनिक महत्वका विषयमा एक÷एक मिनेट आ–आफ्ना धारणा राख्दै सरकारको ध्यानार्कषण गराए । संसद्मा उठेका विषयवस्तु तत्काल कार्यान्वयन गरी जनतालाई राहत दिन युवा सांसदहरुले माग गरे ।
सभामुख बनेकी पाण्डेले शून्य समयमा उठेका प्रश्नहरुको जवाफ दिन सम्बन्धित मन्त्री नभएको बताउँदै शून्य समय सकिएको घोषणा गरिन्। सभाहलमा भएको यस्ता गतिविधिले बालबालिकादेखि शिक्षक शिक्षिकाहरुलाई संसद भवनभित्रै रहेको महसुस गराएको थियो। नमुना युवा संसद्मा बालबालिकाले सङ्कल्प प्रस्ताव पेस गरे। संसदमा सत्ता पक्षका सांसदले शिक्षामा सबै नागरिकहरुको समान पहँुच र अवसर सुनिश्चत गर्न शिक्षा नीति र कानुन संशोधन गर्ने विषयमा सङ्कल्प प्रस्ताव पेस गरेका थिए।
शिक्षासम्बन्धी सङ्कल्प प्रस्तावमा बालबालिकाहरुले सक्षापक्ष र प्रतिपक्षी सांसदको रुपमा पक्ष र विपक्षमा कुराहरु राखे । सत्तापक्ष र प्रतिपक्ष संसद्ले राखेका प्रश्न तथा जिज्ञासाको शिक्षा मन्त्रीले जवाफ दिए।
शिक्षा मन्त्रीले शिक्षामा समान अवसर र पहुँचको लागि सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने आवश्यताका रहेको बताउँदै सभामुखलाई टेबल गर्न अनुरोध गरे। नमूना संसद्मा सभामुखले शिक्षा नीतिको सङ्कल्प प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे।
सङ्कल्प प्रस्तावको पक्षमा बहुमत भएपछि सभामुखले सङ्कल्प प्रस्ताव पारित भएको घोषणा गर्दै अर्को सूचना नभएसम्मका लागि संसद्को बैठक स्थगित भएको घोषणा गरे र नमूना युवा संसद्को एकदिने कार्यक्रम सकियो। यस्तै अभ्यास तानसेन नगरपालिका–९ स्थित दमकडा नमूना माध्यमिक विद्यालयका विद्यार्थीले पनि गरे। दमकडा मावि र टोनी हेगन फाउन्डेसनको आयोजनामा नमूना संसद्को अभ्यास गरिएको थियो। विद्यार्थीलाई संसद्को बैठक प्रक्रियाबारे जानकारी दिन, उनीहरूको तर्क गर्ने क्षमताको विकास गर्न र लोकतन्त्रमा अभ्यस्त बनाउन कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताए।
बालबालिकाको चौतर्फी क्षमता विकास गर्न, किताबी ज्ञानलाई व्यवहारिक ज्ञानमा परिणत गर्न, साथै वर्तमान अवस्थामा नेपालको शिक्षाको अवस्थाबारे बालबालिकालाई जानकारी गराउन विद्यालयमा नमूना युवा संसद् कार्यक्रममा बालबालिकालाई सहभागी गराइएको टोनी हेगन फाउण्डेसन नेपालका सचिव एव पूर्वसंसद् फटिक थापाले बताए।
जिल्लाका अन्य विद्यालयहरुमा पनि यस्तो अभ्यास सञ्चालन भइरहेका छन्। आजका युवा नै भविष्यमा देश, प्रदेश र स्थानीय तहको नेतृत्व गर्ने छन् उनीहरूलाई अहिलेदेखि नै संसदीय अभ्यासबारे ज्ञान दिन सकियो भने भोलि दक्ष जनप्रतिनिधि उत्पादन गर्न सकिन्छ भन्ने सोचका साथ विद्यालयहरुले यस्तो अभ्यास चलाएका हुन् ।
रासस