कास्की - “शिक्षा नपाए कि जानु काशी, कि जानु कास्की।” याे कुनै समयकाे प्रचलित भनाइ हाे। प्राचीनकालदेखि नै शिक्षा र ज्ञानको केन्द्रका रूपमा परिचित कास्कीमा गुरुकुल परम्परादेखि औपचारिक विद्यालयसम्मको समृद्ध इतिहास रहेको पाइन्छ। यही ऐतिहासिक परम्पराको निरन्तरता बोकेको विद्यालय हो पोखरा महानगरपालिका–१ भीमकाली पाटनस्थित संस्कृत माध्यमिक विद्यालय, जुन कास्की जिल्लामात्र होइन, गण्डकी प्रदेशकै सबैभन्दा जेठो विद्यालय मानिन्छ।
गुरुकुल परम्पराबाट औपचारिक विद्यालयसम्म
१८–१९औँ शताब्दीतिर अन्नपूर्ण गाउँपालिकाको पाउँदुर क्षेत्रमा सञ्चालन भएको पिँढी पाठशाला तथा विन्ध्यवासिनी क्षेत्रमा सञ्चालित गुरु–शिष्य परम्पराको पठनपाठनका कारण कास्की शिक्षा केन्द्रका रूपमा परिचित थियो। पाउँदुरमा पौडेल थरका व्यक्तिले पिँढीमा राखेर पढाउने भएकाले त्यसबेला यसलाई पिँढी पाठशाला भनिन्थ्यो। त्यस्तै विन्ध्यवासिनी आसपासमा पराजुली र रेग्मी थरका विद्वानले गुरु–शिष्य परम्पराअनुसार शिक्षा प्रदान गर्दै आएका थिए।
यसै गुरुकुल परम्पराको जगमा विसं १९५८ मा तत्कालीन प्रधानमन्त्री देवशमशेर जंगबहादुर राणाको शासनकालमा देशभर प्राथमिक विद्यालय खोल्ने नीतिअनुसार विन्ध्यवासिनी क्षेत्रमा औपचारिक विद्यालय स्थापना गरिएको हो। विद्यालय स्थापना गर्न रुद्रनाथ पौडेल र पण्डित गुणानिधि पराजुलीले महत्वपूर्ण भूमिका खेलेका थिए।
सुरुआती चरणमा संस्कृत तथा नेपाली श्रेस्ता विषयमा दुई जना गुरुबाट पठनपाठन सञ्चालन गरिएको थियो। त्यसबेला संस्कृत शिक्षाको परीक्षा दिन विद्यार्थीलाई बनारस जानुपर्ने र श्रेस्ता शिक्षाको परीक्षा दिन काठमाडौँ जानुपर्ने व्यवस्था थियो।
विद्यालय व्यवस्थापन र शैक्षिक नेतृत्व
२०२८ सालमा लागू भएको राष्ट्रिय शिक्षा पद्धति योजनापछि विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया सुरु भयो। सोही समयमा भोलानाथ पराजुली विद्यालय व्यवस्थापन समितिका पहिलो अध्यक्ष बनेका थिए। त्यसपछि विभिन्न चरणमा मुकुन्दशरण उपाध्याय, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, मोतीमान शाक्य, केशवराज पराजुली, चक्रपाणी सुवेदी, चिजमान गुरुङ, राजेन्द्ररमण पराजुली, गोविन्द नेपाली र ईश्वरीलाल श्रेष्ठले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। हाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विष्णुप्रसाद अधिकारी छन्।
विद्यालयको शैक्षिक प्रशासनतर्फ पहिलो प्रधानाध्यापक रुद्रनाथ पौडेल थिए। त्यसपछि गुणानिधि पराजुली, देवीरमण पराजुली, शिवकुमार रेग्मी, सोमनाथ रेग्मी, टङ्कनाथ पराजुली, बालमुकुन्द रेग्मी, बद्री पहारी, शुकदेव बराल, इन्द्रप्रसाद पराजुली, आत्माराम बाँस्तोला, जनार्दन त्रिपाठी, तोयनाथ पौडेल, तारा पाखे, दामोदर बाँस्तोला, कृष्णप्रसाद देवकोटा र गोविन्दप्रसाद सिग्देल हुँदै हाल श्रीकृष्ण सिग्देल प्रधानाध्यापकको रूपमा कार्यरत छन्।
गुरुकुल शिक्षा र आधुनिक कार्यक्रम
विद्यालयमा २०२८ सालअघि संस्कृत, नेपाली र व्याकरण विषयमात्र पढाइ हुने गर्थ्यो। नयाँ शिक्षा पद्धति लागू भएपछि अनिवार्य शिक्षा समावेश गर्दै विद्यालयलाई “संस्कृत माध्यमिक विद्यालय” नामकरण गरिएको थियो।
संस्कृत शिक्षाप्रतिको आकर्षण बढाउन विसं २०७४ सालदेखि देशका दुर्गम क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क आवास तथा भोजनसहित गुरुकुल प्रणाली सञ्चालन गरिएको छ। हाल विद्यालयमा करिब २२० विद्यार्थी अध्ययनरत छन् भने गुरुकुलतर्फ ७० जना आवासीय बटुक रहेका छन्।
विद्यार्थीहरूद्वारा नियमित रूपमा ध्यान, रुद्राभिषेक, विष्णु सहस्रनाम पाठ लगायतका आध्यात्मिक गतिविधि सञ्चालन हुने गरेका छन्। कर्मकाण्ड तथा धार्मिक शिक्षाको प्रयोगात्मक अभ्यासका लागि विद्यालय परिसरमा मन्दिर तथा हवन कुण्ड समेत निर्माण गरिएको छ।
भौतिक पूर्वाधारमा उल्लेख्य सुधार
२०७८ साउनमा नयाँ व्यवस्थापन समिति गठन भएपछि विद्यालयको भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा करिब ९२ लाख रुपैयाँ लागतमा चार कोठे पक्की भवन, पानीट्यांकी र शौचालय निर्माण गरिएको छ।
त्यसैगरी रोटरी क्लबको सहयोगमा करिब ३६ लाख रुपैयाँ लागतमा थप चार कोठे भवन निर्माण गरिएको छ। पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा अडिटोरियम हल निर्माण, विज्ञान प्रयोगशालाको स्तरवृद्धि तथा गुरुकुल आवास व्यवस्थापन गरिएको छ।
विद्यालय परिसरमा शिव पाञ्चायन मन्दिर निर्माण गरी विभिन्न देवीदेवताका प्रतिमाहरू स्थापना गरिएको छ। साथै परिसरमा पुष्पबाटिका, चौतारी निर्माण तथा धार्मिक महत्वका बिरुवा रोपण गरिएको छ।
शैक्षिक गुणस्तर सुधारतर्फ पहल
विद्यालयले भौतिक विकाससँगै शैक्षिक गुणस्तर सुधारमा पनि ध्यान दिएको छ। विद्यार्थीका लागि वेद, कर्मकाण्ड तथा अन्य व्यावहारिक सीपसम्बन्धी अतिरिक्त कक्षा सञ्चालन गरिएका छन्।
संस्कृत विषयतर्फ ‘प्लस टु’ कार्यक्रम सञ्चालनमा ल्याइएको छ भने नेपाल संस्कृत विश्वविद्यालयसँग समन्वय गरी दश जोड दुई तहमा निःशुल्क अध्ययनको व्यवस्था गरिएको विद्यालयले जनाएको छ।
एक शताब्दीभन्दा बढी इतिहास बोकेको यो विद्यालयले गुरुकुल परम्परा र आधुनिक शिक्षा प्रणालीलाई समेट्दै शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ।