काठमाडौँ- सरकारले विद्यालयमा हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीको पढाइमा पर्न सक्ने सिकाइ उपलब्धिमा कमी हुन नदिन् दुई प्रस्ताव अघि सारेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीलाई पढाइसँगै परियोजना कार्यमा पनि अभ्यस्त गराउने पहिलो प्रस्ताव गरेकाे छ। जस अनुसार विद्यार्थीले सोमबारदेखि शुक्रबारसम्म कक्षामा सिकेको विषयलाई आइतबार बिदाको दिन व्यवहारमा उतार्न लगाइने छ।
अर्को प्रस्तावमा अहिले विद्यालयले दिँदै आएको हिउँदे र बर्से बिदा कटौती गर्ने रहेको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिए। उनका अनुसार विद्यार्थीलाई पाठ्यक्रमले तोके अनुसार अनुसन्धानमा लगाउने, सामाजिक गतिविधिबारे अध्ययन गर्न लगाउने तथा घरमै पनि केही सिप सिक्न लगाउनेलगायतका विकल्प दिइने छ।
अहिले पनि विद्यार्थीलाई परियोजना कार्यमा लगाउने विषय पाठ्यक्रममा समावेश गरिएको छ। अबदेखि भने यसको दायरालाई अझ फराकिलो बनाइने र विद्यार्थीको अभ्यासमूलक व्रियाकलापलाई सिकाइ उपलब्धिसँगैअनिवार्य रूपमा जोडिने गरि तयार पारिएको प्रस्ताव मन्त्रालयमा पठाएको पौडेलले जानकारी दिए।
अहिले विद्यालयले हिउँदे र बर्सातको समयमा गरेरआवश्यकता अनुसार वर्षमा ४५ दिन विद्यार्थीले बिदा पाउने गरेका छन्। त्यसबाहेक विद्यालयले पाँच दिन थप स्थानीय बिदा दिन पाउने कानुनी व्यवस्था छ। दसैँतिहारलगायतका अन्य सार्वजनिक बिदा यसमा गणना हुँदैन। केन्द्रले मन्त्रालयमा पठाएको प्रस्तावमा ४५ दिनको बिदालाई १५ दिन कटौती गरेर ३० दिनमा झार्न सकिने उल्लेख छ तर यसोगर्दा हालको शिक्षा नियमावलीलाई संशोधन गर्नुपर्ने देखिन्छ। शिक्षा नियमावलीको दफा ८५ मा एक शैक्षिक सत्रमा हिउँदे वा बर्खे वा दुवै गरी ४५ दिन स्कुल बन्द गर्न पाइने उल्लेख गरिएको छ।
पाठ्यक्रम विकास केन्द्रको प्रस्ताव अनुसार यस्तो बिदालाई ३० दिनमा झार्नुपरेमा नियमावलीको यस दफामा परिमार्जन गर्नुपर्नेछ। शिक्षा नियमावलीमा एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खोलेर काम गर्नुपर्ने उल्लेख छ। यसको अर्थ २२० दिन नै विद्यार्थीलाई पढाउनुपर्छ भन्ने होइन। परीक्षा,नतिजा तयारीलगायतलाई पनि यसैमा समावेश गरिएको छ तर विद्यालय खुलेका दिनमध्ये र १८४ दिन पढाइ सञ्चालन गर्नु पर्छ,महानिर्देशक पौडेलले बताए। सरकारले आइतबारसमेत बिदा दिने निर्णय गरेपछि विद्यालय खुल्ने समय ३८ दिन घटेर १५४ दिन हुने छ। यसअवस्थामा पाठ्यक्रम सकिँदैन कि भन्ने आम चासो रहेको छ। तर सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा आइसकेको र यस वर्ष शैक्षिक सत्रसमेत दुई साता ढिला सुरु भएकाले विद्यालयहरु दबाबमा परेका छन्।
दुईदिने बिदा कार्यान्वयनमा आइसक्दा पनि सरकारबाट स्पष्ट निर्देशन आउन ढिलो हुँदा विद्यालय दोधारमा परेका छन् । तर केन्द्रले तयार पारेको योजना शिक्षा, विज्ञान तथा प्रविधि अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले पारित गरेपछि मात्रै कार्यान्वयनमा जाने छ। वैशाख १५ देखि विद्यालय भर्ना अभियान सुरु गरी यस वर्षको शैक्षिक सत्र औपचारिक रूपमा सुरु भैसकेको छ।