काठमाडौँ – सरकारको निर्णयअनुसार शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट औपचारिक रूपमा सुरु भइसकेको छ। २६ चैतको मन्त्रिपरिषद् बैठकले पठनपाठन वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो। तर धेरै स्थानीय तहले यसअघि नै विद्यालय सञ्चालन गरिसकेका थिए, किनकि संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ।
सोमबारदेखि भने देशभर नियमित पठनपाठन सुरु भएको छ। तर, सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानका कारण विस्थापित भएका सयौँ बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन्।
पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकाका जोखिमयुक्त क्षेत्रका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ। डोजर प्रयोग गरेर बस्ती खाली गराइएपछि प्रभावित परिवारहरू विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिन बाध्य भएका छन्। यसको प्रत्यक्ष असर बालबालिका, वृद्धवृद्धा र बिरामीमा परेको छ।

कीर्तिपुरस्थित राधास्वामी सत्संगमा सञ्चालन गरिएको होल्डिङ सेन्टरमा रहेका बालबालिकामा विद्यालय, किताब र भविष्यप्रति अन्योल स्पष्ट देखिन्छ। कक्षा ६ मा अध्ययनरत एक बालक भन्छन्, 'रिजल्ट आएको छ कि छैन थाहा छैन, पास भएँ कि भएन पनि थाहा छैन। अब पढ्ने कि नपढ्ने अन्योल छ।'
उनका साथीहरू पनि नयाँ पुस्तक पाउने आशामा छन्, तर अनिश्चितताले उनीहरूलाई चिन्तित बनाएको छ। वैशाख १२ गते थापाथलीबाट सारिएका ती परिवारमध्ये केही होटलमा बसेका छन् भने केहीलाई सत्संगमा राखिएको छ।
ललितपुरको प्रगति शिक्षा सदनमा अध्ययनरत ती बालक र उनका दाजुलाई विद्यालय कहिले र कसरी जाने भन्नेबारे जानकारी छैन। 'स्कूल जान मन छ, तर कसैले केही भनेको छैन,' उनी भन्छन्। बस्ती हटाइएपछि उनका बाबु पनि रोजगारीमा फर्कन सकेका छैनन्।
त्यस्तै, सोनु तामाङको कथा झनै मार्मिक छ। पारिवारिक समस्याका कारण पढाइमा निरन्तरता दिन नसकेका उनी अहिले कक्षा ५ मा छन्, जबकि उमेरअनुसार कक्षा ८ मा हुनुपर्ने हो। 'स्कूल फेरिरहँदा ढिला भयो, लकडाउनले झनै असर गर्यो,' उनी भन्छन्। अहिले फेरि पढाइ छुट्ने डरले उनी चिन्तित छन्।

अर्का एक बालक भने थापाथली बस्तीको सम्झनामा डुब्छन्। 'यहाँ खाना राम्रो छ, खेल्न पनि पाइन्छ, तर आफ्नै ठाउँ रमाइलो लाग्थ्यो,'उनी भन्छन्। विद्यालयबारे सोध्दा उनको प्रश्न छ-'घर नै छैन, कसरी जाने?'
अनामनगरमा भेटिएका आदित्य श्रेष्ठले भने विस्थापनप्रति आक्रोश व्यक्त गर्दै प्रधानमन्त्रीलाई नै प्रश्न गरेका छन्। 'अब त खुसी हुनुभयो होला?' उनी भन्छन्। आठ वर्षदेखि धोबीखोला किनारमा बस्दै आएको उनको परिवार अहिले डेरा सरेको छ। उनी मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्।
थापाथली, मनोहरा र बल्खु क्षेत्रका खोला किनारमा सञ्चालित केही विद्यालयहरू समेत हटाइएका छन्। यसले ती बस्तीका मात्र होइन, आसपासका विद्यार्थीहरूको पढाइमा समेत असर परेको छ।

यसैबीच, विस्थापित बालबालिकाको शिक्षालाई निरन्तरता दिन पहल सुरु भएको छ। आइतबार राधास्वामी सत्संग व्यास आश्रमस्थित होल्डिङ सेन्टरका बालबालिकालाई संस्थागत विद्यालयमा आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था गर्ने विषयमा छलफल गरिएको छ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा राष्ट्रियसभा गृहमा भएको उक्त छलफलमा प्याब्सन र एनप्यासनका विभिन्न तहका प्रतिनिधिहरू सहभागी थिए।