काठमाडौँ - आईआईएमएस ग्रुपले बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। आईआईएमएस कलेज, अरन्या बुटिक होटल र टेलर्स क्याफे आबद्ध आईआईएमएस ग्रुपको संयुक्त संस्थागत पहलअन्तर्गत उक्त रकम सहयोग गरिएको हो।
ग्रुपका अनुसार कुल योगदानमध्ये टेलर्स क्याफेले ५५ हजार ५५५ रुपैयाँ, अरन्या बुटिक होटलले २ लाख २२ हजार २२२ रुपैयाँ र आईआईएमएस कलेजले ८ लाख ३३ हजार ३३४ रुपैयाँ प्रदान गरेका छन्।
शिक्षा, आतिथ्य तथा सेवा क्षेत्रमा क्रियाशील आईआईएमएस ग्रुपले व्यावसायिक तथा शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि संस्थागत दायित्वको महत्वपूर्ण हिस्सा बनाउँदै आएको जनाएको छ।
कर्मचारीबाट थप ५५ हजार सहयोग
आईआईएमएस कलेजका कर्मचारीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी बाढी प्रभावित परिवारका लागि थप ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन्। कर्मचारीहरूको स्वेच्छिक सहभागितामा संकलन गरिएको उक्त रकममार्फत विपद्का समयमा संस्थागत सहयोगसँगै व्यक्तिगत तहबाट पनि मानवीय सहकार्य गर्न सकिने सन्देश दिएको कलेजले जनाएको छ।
विद्यार्थीले जुटाए ५४ हजार बराबरको राहत सामग्री
आईआईएमएसका विद्यार्थीहरूले ‘आईआईएमएस सौल क्लब’मार्फत छुट्टै राहत अभियान सञ्चालन गरेका छन्। विद्यार्थीको नेतृत्वमा सञ्चालित अभियानबाट ५४ हजार रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ।
संकलित सामग्री बाढीबाट प्रभावित परिवार तथा समुदायसम्म पुर्याउने उद्देश्यले इको साथी संस्थालाई हस्तान्तरण गरिएको कलेजले जनाएको छ। विद्यार्थीहरूले स्वयं योजना बनाएर सहयोग संकलनदेखि राहत सामग्री व्यवस्थापनसम्मको प्रक्रियामा सक्रिय सहभागिता जनाएका थिए। यसले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, स्वयंसेवा, नेतृत्व, सहकार्य तथा समुदायप्रतिको संवेदनशीलता विकास गर्न सहयोग पुग्ने कलेजको विश्वास छ।
ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सबिन्द्र महर्जनले विपद्का समयमा संस्थाको जिम्मेवारी शैक्षिक तथा व्यावसायिक गतिविधिमा मात्र सीमित नहुने बताएका छन्। उनले बाढी प्रभावित परिवार तथा समुदायप्रतिको ऐक्यबद्धतालाई व्यवहारिक सहयोगमा रूपान्तरण गर्ने उद्देश्यले संस्थागत योगदान गरिएको बताए। कर्मचारी र विद्यार्थीहरूले समेत आफ्नै तहबाट राहत अभियानमा सक्रिय सहभागिता जनाउनु रकमभन्दा महत्वपूर्ण पक्ष भएको उनको भनाइ छ।
महर्जनले विद्यार्थीहरूले सौल क्लबमार्फत देखाएको सक्रियताले शिक्षा कक्षाकोठा र डिग्रीमा मात्र सीमित नभई समाजप्रति संवेदनशील र जिम्मेवार नागरिक निर्माण गर्नु पनि शिक्षाको महत्वपूर्ण उद्देश्य भएको सन्देश दिएको बताए।
बाढीको व्यापक क्षतिको तुलनामा सहयोग सानो प्रयास भए पनि विभिन्न व्यक्ति तथा संस्थाका प्रयास एकीकृत हुँदा प्रभावित समुदायमा महत्वपूर्ण प्रभाव पार्न सकिने उनको भनाइ छ। आईआईएमएस ग्रुपले आफ्नो सहयोग बाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सञ्चालन भइरहेका राष्ट्रिय प्रयासमा उपयोग हुने अपेक्षा गरेको छ। साथै, ग्रुपले बाढी प्रभावितहरूको शीघ्र पुनःस्थापना, सुरक्षित जीवनयापन र जनजीवन सामान्य अवस्थामा फर्किने कामना गरेको जनाएको छ।