गोरखा- गोरखाको चुमनुब्री गाउँपालिका–३, फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी नदीको अवरोध खुलेपछि आएको आकस्मिक बाढीले नदी तटीय क्षेत्रमा क्षति पुर्याएको छ। लेदो र गेग्रानसहित आएको बाढीका कारण प्रभावित क्षेत्रमा जोखिम बढेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार बिहान करिब ४:३० बजे पहिरोले थुनिएको नदी खुल्दा आकस्मिक बाढी आएको हो। बाढीले नदी तटीय तथा आसपासका क्षेत्रमा क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको निर्देशनालयले जनाएको छ।
घटनापछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाको टोली परिचालन गरिएको छ। सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुगेर उद्धार र अवस्थाको निरीक्षणमा जुटेको छ।
यस क्रममा पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट ६ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
त्यसैगरी, उद्धार तथा प्रतिकार्य कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको छ।
बाढीपछि नदी तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सतर्क रहन नेपाली सेनाले आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा जान र उच्च भूभागमा आश्रय लिनसमेत अनुरोध गरिएको छ।
पहिरोका कारण नदी थुनिएर बनेको अवरोध एक्कासि खुल्दा पुनः बाढी आउन सक्ने जोखिम रहने भएकाले स्थानीय बासिन्दालाई नदी किनारबाट टाढा रहन र सुरक्षा निकायको निर्देशन पालना गर्न आवश्यक देखिएको छ।
प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण तथा थप उद्धार आवश्यकताबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको जनाइएको छ।