काठमाडौं- रसुवामा आएको भीषण बाढीपहिरोका कारण पुरिएका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार तत्काल सम्भव नदेखिएको नेपाली सेनाले जनाएको छ।
बाढीप्रभावित क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका नेपाली सेनाका अधिकारीहरूले सुरुङभित्रको अवस्था अत्यन्तै कठिन रहेकाले उद्धारमा लामो समय लाग्न सक्ने बताएका हुन्।
नेपाली सेनाको ६ नम्बर बाहिनीका सहायकरथी उज्ज्वल राणाले सुरुङमा फसेकाहरूको उद्धारका लागि दुई–तीन दिन मात्र नभई तीनदेखि चार महिनासम्म लाग्न सक्ने अवस्था देखिएको बताए।
सञ्चारकर्मीसँग कुरा गर्दै राणाले भने, ‘सुरुङमा फसेकाहरूको उद्धारका लागि २–३ दिन होइन, ३–४ महिनासम्म लाग्ने देखिएको छ।’
राणाको कमान्डमा रसुवाका चारवटा जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तथा खोजी कार्य भइरहेको छ। बाढीका कारण सुरुङमा ठूलो मात्रामा माटो, ढुंगा तथा अन्य सामग्री थुप्रिएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको सेनाले जनाएको छ।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा भने हिजोदेखि उद्धार कार्य रोकिएको छ। सुरुङभित्रको अवस्थाका कारण थप काम अघि बढाउन नसकेपछि सेनाले तत्कालका लागि उद्धार कार्य रोकेको हो।
हाल चिलिमे, अपर त्रिशूली–१ र लाङटाङ हाइड्रो आयोजनाका सुरुङमा भने खोज तथा उद्धार कार्य जारी छ। यद्यपि, ती आयोजनाका सुरुङबाट पनि हालसम्म फसेकाहरूको उद्धार हुन सकेको छैन।
सेनाले सुरुङभित्रको अवस्था, सुरक्षा चुनौती र अवरोध हटाउन लाग्ने समयलाई मध्यनजर गर्दै उद्धार कार्य अघि बढाइरहेको जनाएको छ।