काठमाडौँ - पोर्चुगल सरकारले आम चुनावको ठीकअघि १८ हजार विदेशी नागरिकलाई देश निकाला गर्ने तयारी गरिरहेको छ। अधिकारीहरुका अनुसार अनियमित तरिकाले बसोबास गरिरहेका विदेशी नागरिकलाई पोर्चुगलले उनीहरुकै देश फर्काउन लागेको हो।
पोर्चुगलमा १८ मेमा मध्यावधि निर्वाचनका लागि मतदान हुँदैछ। चुनावी अभियानको क्रममा पोर्चुगलका एक मन्त्री एन्तोनियो लेइतो अमारोले सरकारले करिब १८ हजार विदेशी नागरिकलाई देश छोड्न आदेश दिने बताएको समाचार एजेन्सी एपीले जनाएको छ। यसका लागि सूचना जारी गर्ने ती मन्त्रीको भनाइ छ।
यो कारबाही आगामी हप्तादेखि सुरु गर्ने तयारी छ। सुरुवातमा ४ हजार ५०० जना विदेशी नागरिकहरुलाई स्वेच्छाले पोर्चुगल छाड्न आदेश दिइनेछ। त्यसरी देश छाड्नका लागि उनीहरूलाई २० दिनको मौका दिइने छ। त्यसपछिका चरणमा पनि यो अभियान जारी रहने छ।
राजनीतिक अस्थिरता
शेगा पार्टीले आप्रवासन नीतिलाई कडा बनाउनुपर्ने माग राख्दै आएको छ। आलोचकहरूले भने यो पार्टी आप्रवासी र एलजीबीटीक्युमाथि विरोध गर्ने पार्टी भएको आरोप लगाउँछन्। यसले रोमा समुदायलाई समेत निशाना बनाउने गरेको आरोप लागेको छ।
धेरै विश्लेषकहरूको भनाइमा, धुर-दक्षिणपन्थ प्रभाव बलियो बन्दै जानुको एक प्रमुख कारण भनेको राजनीतिक अस्थिरता हो। १८ मेमा हुने चुनाव तीन वर्षमा तेस्रो पटकको मध्यावधि चुनाव हो।
साथै,देशका दुई ठूला पार्टीहरू-सोसलिस्ट पार्टी (पीएस) र सोसल डेमोक्र्याटिक पार्टी (पीएसडी) दुवैमाथि भ्रष्टाचारका आरोप लाग्दै आएका छन्। यस्तो अवस्थामा, शेगा पार्टीको वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्ने वाचा धेरै मतदाताका लागि आकर्षक बन्दै गएको छ।