काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संस्थागत विद्यालय, विद्यालय सञ्चालक तथा निजी विद्यालयको छाता संगठन प्याब्सनलाई लक्षित गरी भइरहेका तथ्यहीन, अपमानजनक र मर्यादाविहीन अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्याब्सन केन्द्रीय कार्यसमितिले विज्ञप्ति जारी गर्दै आलोचना लोकतन्त्रको आधारभूत अधिकार भए पनि अपुष्ट आरोप, व्यक्तिगत लाञ्छना र संस्थागत मानमर्दनलाई अभिव्यक्ति स्वतन्त्रताको आवरणमा उचित ठहर गर्न नसकिने स्पष्ट पारेको छ।
विज्ञप्तिमा नेपालको शिक्षा विकास, गुणस्तरीय शिक्षाको विस्तार, रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनमा संस्थागत विद्यालयहरूले दशकौँदेखि महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरिएको छ। राज्यको सीमित स्रोतसाधनका बीच निजी क्षेत्रले आफ्नै पुँजी, श्रम, जोखिम र जिम्मेवारी वहन गर्दै शिक्षा क्षेत्रमा लगानी गरेको भन्दै उक्त योगदानलाई पूर्वाग्रही टिप्पणी वा व्यक्तिगत घटनाका आधारमा अवमूल्यन गर्नु न्यायोचित नहुने प्याब्सनको भनाइ छ।
प्याब्सनले विद्यालय सञ्चालकहरू आफ्नो जिम्मेवारीबाट विमुख हुन नहुने पनि स्पष्ट पारेको छ। शिक्षक तथा कर्मचारीको पारिश्रमिक, सेवासुविधा, पेसागत अधिकार, सामाजिक सुरक्षा, शैक्षिक गुणस्तर र संस्थागत सुशासनका विषयमा विद्यालयहरू जिम्मेवार, पारदर्शी र जवाफदेही हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, जायज गुनासाहरूको निष्पक्ष सम्बोधन, कानुनको पालना र आवश्यक सुधार गर्नु सबैको साझा दायित्व भएको प्याब्सनले जनाएको छ। तर सुधारका विषयलाई तथ्य र प्रमाणका आधारमा सम्बन्धित नियामक निकाय तथा संस्थागत प्रक्रियामार्फत उठाउनुपर्नेमा सार्वजनिक अपमान र आरोप–प्रत्यारोपको माध्यम बनाउनु समस्याको समाधान नभएको उसको धारणा छ।
विशेषगरी शैक्षिक संस्था सञ्चालन गरिरहेका तथा शिक्षा क्षेत्रमा सार्वजनिक प्रभाव राख्ने व्यक्तिहरूले अभिव्यक्ति दिँदा तथ्य, विवेक र व्यावसायिक मर्यादाको पालना गर्नुपर्ने प्याब्सनले जनाएको छ। असहमति राख्ने अधिकार सबैलाई भए पनि अरूको प्रतिष्ठा र संस्थागत सम्मानमाथि प्रहार गर्ने अधिकार कसैलाई नभएको विज्ञप्तिमा उल्लेख छ।
कुनै विषयमा समस्या वा अनियमितता भए सम्बन्धित राज्य निकायमा निष्पक्ष छानबिन तथा कानुनी प्रक्रिया अघि बढाउनुपर्ने प्याब्सनको आग्रह छ। तथ्यहीन आरोप, अपमानजनक अभिव्यक्ति तथा संस्थाको प्रतिष्ठामा आँच पुर्याउने गतिविधि निरन्तर भए कानुनी उपचार अवलम्बन गर्न दृढ रहने चेतावनीसमेत दिएको छ।
प्याब्सनले निजी विद्यालयको योगदानको सम्मान र विद्यालय सञ्चालकको जवाफदेहिता, शिक्षक तथा कर्मचारीको पेसागत न्याय र गुणस्तरीय शिक्षा एकअर्काका विरोधी नभई परिपूरक विषय भएको स्पष्ट पारेको छ।
विज्ञप्तिको अन्त्यमा प्याब्सनले आलोचना तथ्यमा आधारित, अभिव्यक्ति मर्यादित र संस्थागत सम्मान सबैका लागि समान रूपमा सुरक्षित हुनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र महासचिव आरबी कटवालले हस्ताक्षर गरेका छन्।