जनकपुर - नेपालको विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षा ऐन, प्रभावकारी शैक्षिक नेतृत्व र सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको शिक्षा क्षेत्रका अगुवाहरूले बताएका छन्।
प्रधानाध्यापक संघ नेपाल (पान) को आयोजनामा २०८३ मंसिर ४ देखि ६ गतेसम्म जनकपुरधाममा सम्पन्न तेस्रो राष्ट्रिय प्रधानाध्यापक शिखर सम्मेलनमा सहभागी वक्ताहरूले विद्यालय शिक्षाको सुधार र रूपान्तरणका लागि नीतिगत स्पष्टता तथा साझा प्रतिबद्धता आवश्यक रहेको औँल्याएका हुन्।
सम्मेलनका क्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले शिक्षा ऐन निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन्। ‘सबै जना मिलेर शिक्षा ऐन ल्याउनुको विकल्प छैन’ भन्दै उनले विद्यालय शिक्षाको सुधारका लागि सामूहिक पहल आवश्यक रहेको बताएका छन्।
त्यस्तै, काठमाडौंस्थित विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले राम्रो विद्यालय निर्माण सहज काम नभएको बताएका छन्। उनका अनुसार विद्यालयलाई उत्कृष्ट बनाउन प्रधानाध्यापक वा शिक्षकको प्रयास मात्र पर्याप्त हुँदैन, यसका लागि सबै सरोकारवाला पक्षको साथ र सहकार्य आवश्यक हुन्छ।
कार्यक्रममा बोल्दै प्याब्सनका महासचिव आरबी कुटुवालले निजी विद्यालयले शिक्षण सिकाइ योजना अनुरुप शिक्षकलाई काम गर्न निर्देशन दिने गरेका कारण नै शैक्षिक गुणस्तर राम्रो भएको बताएका छन्। उनले कक्षा कोठा भित्रै कर्नर लाइब्रेरी राख्ने गरेको र कमजोर विद्यार्थीलाई प्राथमिकता दिएर पढाएका कारण शैक्षिक गुणस्तर राम्रो भएको बताए।
करिब एक हजार प्रधानाध्यापक, शिक्षाविद्, शिक्षक, विद्यालय कर्मचारी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको सम्मेलनले विद्यालय शिक्षाको गुणस्तर सुधार, शैक्षिक नेतृत्व विकास र विद्यालय रूपान्तरणका लागि १२ बुँदे राष्ट्रिय प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ।
‘सँगै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ’ भन्ने नारासहित सार्वजनिक प्रतिबद्धतामा शिक्षा नीति तथा कानुनी सुधार, प्रधानाध्यापकको नेतृत्व क्षमता विकास, शिक्षक तथा कर्मचारीको मनोबल अभिवृद्धि र निरन्तर व्यावसायिक विकासलाई प्राथमिकता दिइएको छ।