काठमाडौँ- नेपालमा विश्वप्रसिद्ध भारतीय प्राविधिक शैक्षिक संस्था इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को अफसोर क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको उपस्थिति विस्तार गर्ने सहमतिअन्तर्गत आईआईटीको क्याम्पस स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय भएको हो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनका क्रममा नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना गरिने घोषणा गरेका हुन्। उनले दुई देशबीचको शैक्षिक तथा प्राविधिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित यो पहल अघि बढाइएको बताए।
भारतीय प्रधानमन्त्री मोदीको घोषणापछि नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले पनि नेपाललाई प्राविधिक शिक्षाको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। नेपालमा स्थापना हुने आईआईटीमा भविष्यमा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण निर्माण गरिने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले नेपालमा अन्तर्राष्ट्रियस्तरको प्राविधिक शिक्षा उपलब्ध गराउँदै दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको संकेत गरेका छन्। यसले नेपालको उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।
नेपाल सरकारले बजेट तथा नीति कार्यक्रममार्फत विश्वका प्रतिष्ठित विश्वविद्यालय र शैक्षिक संस्थाहरूलाई नेपालमै क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति अघि सारेको थियो। भारत भ्रमणका क्रममा भएको यो सहमतिलाई उक्त नीतिगत योजनाको कार्यान्वयनतर्फको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आईआईटीसँगको सहकार्य महत्वपूर्ण हुने शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले बताएकी छन्। उनका अनुसार यस पहलको उद्देश्य विदेशी शैक्षिक संस्था नेपालमा भित्र्याउनुमा मात्र सीमित नभई स्वदेशमै उत्कृष्ट इन्जिनियर, अनुसन्धानकर्ता, नवप्रवर्तक र प्रविधि उद्यमी उत्पादन गर्न सक्ने शैक्षिक वातावरण निर्माण गर्नु हो।
मन्त्री पोखरेलले नेपालको उच्च शिक्षा र दक्ष प्राविधिक जनशक्ति विकासका लागि यो महत्वपूर्ण सुरुवात भएको उल्लेख गर्दै आगामी दिनमा विश्वका अन्य प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग पनि सहकार्य विस्तार गरिने बताएकी छन्।
छात्रवृत्तिमा एआई र प्रविधिसहित नयाँ विषय थपिने
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त दृष्टिकोण पत्रमा आईआईटी क्याम्पस स्थापनाबाहेक शिक्षा र सीप विकाससम्बन्धी अन्य महत्वपूर्ण सहमतिहरू पनि समेटिएका छन्।
संयुक्त दृष्टिकोण पत्रअनुसार भारतले नेपाली विद्यार्थीका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रम विस्तार गर्ने भएको छ। अब कानुन, प्रविधि र कृत्रिम बौद्धिकता (एआई) जस्ता आधुनिक तथा उदीयमान विषयमा थप छात्रवृत्ति र तालिमका अवसर उपलब्ध गराइनेछ।
त्यसैगरी, नेपाल र भारतका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूबीचको सहकार्य विस्तार गरिनेछ। दुवै देशका प्राध्यापक, विज्ञ तथा शैक्षिक जनशक्तिको आदानप्रदानलाई प्रोत्साहन गर्दै अनुसन्धान र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहकार्य गर्ने योजना अघि सारिएको छ।
नेपाली युवाका लागि व्यावसायिक तालिम केन्द्र स्थापना हुने
नेपालमा रोजगारी र उद्यमशीलताको अवसर विस्तार गर्ने उद्देश्यले भारतको सहयोगमा व्यावसायिक तालिम केन्द्र (भोकेसनल ट्रेनिङ इन्स्टिच्युट) स्थापना गरिने भएको छ।
उक्त केन्द्रमार्फत नेपाली युवालाई उत्पादन, सेवा तथा उद्यमशीलताका क्षेत्रमा आवश्यक व्यावहारिक सीप र तालिम प्रदान गरिनेछ। यसले सीपयुक्त जनशक्ति उत्पादन गर्नुका साथै युवालाई स्वदेशमै रोजगारी तथा स्वरोजगारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा नालन्दा केन्द्र स्थापना गरिने
शैक्षिक सहकार्यअन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा 'नालन्दा केन्द्र' स्थापना गर्ने सहमति पनि भएको छ। यस केन्द्रमार्फत भारतको नालन्दा विश्वविद्यालयसँग शैक्षिक तथा अनुसन्धानसम्बन्धी सहकार्य विस्तार गरिनेछ।
त्यस्तै, नेपालमा भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) सँग सम्बन्धित सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने तथा नेपाल र भारतका कृषि विश्वविद्यालयहरूबीच सम्बन्ध विस्तार गर्ने योजना पनि संयुक्त दृष्टिकोण पत्रमा समेटिएको छ।
यसका अतिरिक्त दुवै देशका प्रमुख चिकित्सा संस्थानहरूबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिने उल्लेख छ। यसले चिकित्सा शिक्षा, अनुसन्धान र स्वास्थ्य जनशक्ति विकासमा दुई देशबीचको सहकार्य थप बलियो बनाउने अपेक्षा गरिएको छ।
नेपालमा आईआईटी क्याम्पस स्थापनाको सहमतिलाई उच्च शिक्षा र प्राविधिक जनशक्ति विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ। तर, यसको प्रभावकारी कार्यान्वयनका लागि क्याम्पस स्थापना हुने स्थान, सञ्चालन मोडालिटी, शैक्षिक कार्यक्रम, लगानी, भर्ना प्रक्रिया र शैक्षिक मान्यतासम्बन्धी विषयमा स्पष्ट योजना आवश्यक हुनेछ।
सहमतिलाई व्यवहारमा उतार्न सके नेपालमै अन्तर्राष्ट्रियस्तरको प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर विस्तार हुनुका साथै अनुसन्धान, नवप्रवर्तन र प्रविधिमा आधारित उद्यमशीलताको विकासमा समेत योगदान पुग्न सक्छ।