काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०), सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फाराम भर्ने तथा भराउने म्याद १५ दिन थप गरेको छ।
कार्यालयले दोस्रोपटक सूचना जारी गर्दै शैक्षिक सत्र २०८३ मा कक्षा १० मा अध्ययनरत परीक्षार्थीका लागि एसईई आवेदन फाराम भर्ने समयावधि थप गरेको जनाएको हो।
यसअघि कार्यालयले २०८३ कात्तिक ९ गते सूचना प्रकाशित गरी आवेदन फाराम भर्ने तथा भराउने अन्तिम मिति २०८३ मंसिर ८ गतेसम्म तोकेको थियो। तर, दसैँ, तिहार तथा छठलगायतका महत्वपूर्ण चाडपर्वका कारण कतिपय विद्यालय बन्द रहेकाले निर्धारित समयभित्र आवेदन प्रक्रिया पूरा गर्न नसकिएको भन्दै विद्यालयहरूले म्याद थप गर्न माग गरेका थिए।
विद्यालयहरूबाट प्राप्त मागलाई सम्बोधन गर्दै परीक्षा नियन्त्रण कार्यालयले आवेदन फाराम भर्ने तथा भराउने समयावधि १५ दिन थप गर्ने निर्णय गरेको हो।
कार्यालयले जारी गरेको सूचनाअनुसार थप गरिएको अवधिमा आवेदनसम्बन्धी प्रक्रिया पूरा गर्न सकिनेछ। त्यस्तै, राजस्व बुझाउने अन्तिम मिति २०८३ मंसिर २५ गतेसम्म कायम गरिएको छ।
परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित सबै विद्यालय, परीक्षार्थी तथा सरोकारवालालाई थप गरिएको समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।
म्याद थप भएपछि निर्धारित समयमा आवेदन फाराम भर्न नसकेका विद्यार्थीलाई एसईई परीक्षामा सहभागी हुने प्रक्रिया पूरा गर्न थप अवसर मिलेको छ।
