वासिङ्टन डीसी- अमेरिकाले पृथ्वीको कक्षमा आक्रामक क्षमता भएको अन्तरिक्ष हतियार तैनाथ गरेको पहिलोपटक सार्वजनिक रूपमा स्वीकार गरेको छ।
अमेरिकी वायुसेनाका सचिव ट्रोय मेइन्कले अमेरिकी सेनालाई सम्भावित शत्रु आक्रमणबाट सुरक्षित राख्न अन्तरिक्षको कक्षमा सैन्य हतियार तैनाथ गर्नु आवश्यक भएको बताएका छन्। एयर, स्पेस एन्ड साइबर सम्मेलनमा बोल्दै उनले अन्तरिक्षमा बदलिँदै गएको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर यस्तो क्षमता विकास तथा तैनाथ गरिएको स्पष्ट पारेका हुन्।
तर तैनाथ गरिएको हतियारको प्रकृति, क्षमता र कहिले अन्तरिक्षमा पठाइएको हो भन्नेबारे मेइन्कले कुनै विवरण सार्वजनिक गरेका छैनन्।
अमेरिकी सैन्य नेतृत्वले लामो समयदेखि अन्तरिक्षमा आफ्नो सैन्य क्षमता विस्तार गर्ने योजना अघि सार्दै आएको छ। अमेरिकी अधिकारीहरूले रुस र चीनले भविष्यमा हुने सम्भावित द्वन्द्वका क्रममा अमेरिकी भू–उपग्रहमा आक्रमण गर्न वा तिनको सञ्चालनमा अवरोध पुर्याउन सक्ने क्षमता विकास गरिरहेको दाबी गर्दै आएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्तरिक्षमा आधारित सैन्य क्षमता तथा इन्टरसेप्टर क्षेप्यास्त्रलाई प्रस्तावित ‘गोल्डेन डोम’ रक्षा प्रणालीको महत्वपूर्ण हिस्सा मान्दै आएको छ।
सन् १९६७ को अन्तर्राष्ट्रिय सन्धिले पृथ्वीको कक्षमा आम विनाशका हतियार तैनाथ गर्न प्रतिबन्ध लगाएको छ। यद्यपि, उक्त सन्धिले अन्य प्रकारका सैन्य क्षमतामाथि स्पष्ट प्रतिबन्ध नलगाएकाले प्रमुख शक्तिहरूले अन्तरिक्षमा विभिन्न सैन्य प्रविधि विकास गर्दै आएका छन्।
प्रतिद्वन्द्वीका भू–उपग्रहलाई लक्षित गर्ने क्षमता पनि यस्तै सैन्य प्रविधिको हिस्सा हो। आधुनिक सैन्य सञ्चार, निगरानी तथा दिशानिर्धारण प्रणालीका लागि भू–उपग्रह अत्यन्त महत्वपूर्ण मानिन्छन्।
राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा अमेरिकी स्पेस फोर्सको भूमिकालाई अन्तरिक्षमा रहेका अमेरिकी सम्पत्तिको रक्षा गर्नेसँगै आवश्यक परेको अवस्थामा आक्रमण गर्न सक्ने क्षमतासँग समेत जोडिएको छ। सन् २०१९ मा स्थापना भएको अमेरिकी स्पेस फोर्सले सञ्चार तथा निगरानीमा प्रयोग हुने सयौँ भू–उपग्रहसहित अमेरिकी अन्तरिक्ष सम्पत्तिको सुरक्षा गर्दै आएको छ।
स्पेस फोर्सका प्रवक्ताका अनुसार ‘स्पेस कन्ट्रोल’ भन्नाले अन्तरिक्षमा प्रतिद्वन्द्वीको क्षमतासँग प्रतिस्पर्धा गर्ने र आवश्यक परे त्यसलाई नियन्त्रण गर्ने सैन्य अभियानलाई जनाउँछ। उनका अनुसार प्रतिद्वन्द्वीको अन्तरिक्ष क्षमतालाई अवरोध गर्ने, कमजोर बनाउने वा नष्ट गर्नेसम्मका भौतिक तथा गैरभौतिक उपाय प्रयोग गर्न सकिन्छ।
रुस–युक्रेन युद्धपछि अन्तरिक्षमा सैन्य प्रतिस्पर्धा थप तीव्र भएको अमेरिकी अधिकारीहरूको दाबी छ। सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुसी भू–उपग्रहहरूले युरोपेली भू–उपग्रहको सञ्चारमा अवरोध पुर्याएको हुन सक्ने आशंका गरिएको थियो।
यस्ता गतिविधिका कारण संवेदनशील सैन्य सूचना प्राप्त गर्ने वा भू–उपग्रहको नियन्त्रण प्रभावित पार्ने जोखिम बढेको बताइएको छ। सन् २०२४ मा अमेरिकाले रुसले अन्य भू–उपग्रहमा आक्रमण गर्न सक्ने क्षमतायुक्त भू–उपग्रह प्रक्षेपण गरेको आरोप लगाएको थियो। रुसले भने यस विषयमा प्रतिक्रिया दिएको छैन।
अमेरिकाले अन्तरिक्षमा आक्रामक क्षमता भएको हतियार तैनाथ गरेको स्वीकार गरेसँगै अन्तरिक्षलाई लिएर प्रमुख शक्तिबीच बढिरहेको सैन्य प्रतिस्पर्धा थप चर्चामा आएको छ।