काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफूबाट सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूलाई एउटै परिसरमा अन्य विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको स्वघोषणापत्र पेस गर्न निर्देशन दिएको छ। त्रिवि योजना निर्देशनालयले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै कार्यक्रम, विषय, सेक्सन तथा कोटा थपका लागि न्यूनतम मापदण्ड पूरा गरी सूचीकृत भएका सम्बन्धनप्राप्त क्याम्पस तथा कलेजहरूलाई यस्तो निर्देशन दिएको हो।
त्रिवि कार्यकारी परिषद्को कात्तिक २१ गतेको निर्णयअनुसार सम्बन्धित क्याम्पस तथा कलेजहरूले आफ्नो व्यवस्थापनअन्तर्गत एउटै परिसरमा त्रिविबाहेक अन्य स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक कार्यक्रम सञ्चालन नगरेको आधिकारिक स्वघोषणापत्र बुझाउनुपर्नेछ।
निर्देशनालयले स्वघोषणापत्रमा उल्लेख गरिएका सम्पूर्ण विवरण सत्य र यथार्थ रहेको प्रतिबद्धता पनि जनाउनुपर्ने स्पष्ट पारेको छ। साथै, पेस गरिएको विवरण झुटो वा गलत प्रमाणित भएमा अथवा त्रिविको प्रचलित नियमविपरीत शैक्षिक कार्यक्रम सञ्चालन गरेको पाइएमा विश्वविद्यालयको नियमानुसार कारबाही भोग्न मञ्जुर रहेको व्यहोरा समेत उल्लेख गर्नुपर्नेछ।
त्रिविले स्वघोषणापत्र तयार गर्ने प्रक्रियाबारे पनि स्पष्ट व्यवस्था गरेको छ। सम्बन्धित क्याम्पस वा कलेजको आधिकारिक लेटरहेडमा तयार गरिएको पत्रमा क्याम्पस प्रमुखको हस्ताक्षर र संस्थाको छाप अनिवार्य गरिएको छ।
यसरी प्रमाणित गरिएको स्वघोषणापत्रको स्क्यान गरिएको पीडीएफ प्रति आगामी मङ्सिर १५ गतेभित्र विश्वविद्यालयले तोकेको इमेल ठेगाना [email protected] मा पठाउनुपर्ने निर्देशन दिइएको छ।
त्रिविले सम्बन्धनसम्बन्धी विनियम, २०७३ (संशोधनसहित) को परिच्छेद १३ मा रहेको व्यवस्थालाई समेत स्मरण गराएको छ। उक्त व्यवस्थाअनुसार त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूले त्रिविबाहेक अन्य विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्बाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउँदैनन्।
विश्वविद्यालयको यो निर्देशनले एउटै शैक्षिक परिसरमा विभिन्न विश्वविद्यालयका कार्यक्रम सञ्चालन गर्दै आएका संस्थाहरूलाई नियमन गर्ने तथा सम्बन्धनसम्बन्धी प्रावधानको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने संकेत गरेको छ।
