काठमाडौँ - स्मार्टफोन निर्माता सामसुङले आफ्नो एस सिरिजको नयाँ प्रिमियम स्मार्टफोन सार्वजनिक गरेको छ। सामसुङ ग्यालेक्सी एस २५ एज मोडेलको उक्त स्मार्टफोन पातलो र हलुका छ। यसको मोटाइ जम्मा ५.८ एमएम तथा वजन १६३ ग्राम रहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार ग्यालेक्सी एस२५ एज सामसुङको ग्यालेक्सी एस सिरिजको सबैभन्दा पातलो अर्थात् स्लीम स्मार्टफोन हो। कम्पनीले यो फोनलाई विश्व बजारभरका लागि लञ्च गरेको छ।
यो मोडेलका लागि कम्पनीले २०० मेगापिक्सेलको शक्तिशाली क्यामेरा स्लिम साइजमा तयार गरेको छ। फोनमा टाइटेनियमको फ्रेम प्रयोग गरिएको छ, जसले यो ह्याण्डसेटलाई टिकाउ बनाउन मद्दत गर्नेछ। यसमा प्रयोगकर्तालाई प्रिमियम लुक्स, शक्तिशाली क्यामेरा तथा अत्याधुनिक फिचर्स उपलब्ध छन्।
विशेषता :
यो फोनको सुरुवाती मूल्य १०९९ डलर तोकिएको छ। फोनको प्रि अर्डर सुरु भैसकेको छ। यो मोडेलमा कम्पनीले दुईवटा भेरिएन्ट उपलब्ध गराउनेछ, जसमा १२ जिबी र्याम र ५१२ जिबी स्टोरेज भएको एउटा र अर्को चाहिँ समान र्याममा २५६ जिबी स्टोरेज अप्सन उपलब्ध छ।
सामसुङ ग्यालेक्सी एस२५ एजमा ६.७ इन्चको क्यूएचडी डाइनामिक एमोलेड टु एक्सको डिस्प्ले रहेको छ । जसमा १२० हर्ज, एचडिआर १० प्लस तथा २६०० निट्सको पिक ब्राइटनेस उपलब्ध छ। स्क्रिनको सुरक्षाका लागि कोर्निंग गोरिल्ला आर्मर टु राखिएको छ। यो फोनमा क्वालकोम स्नापड्रागन ८ एलिट चिपसेटको प्रयोग गरिएको छ।
क्यामेराको कुरा गर्दा यसमा डुअल रियर क्यामेरा सेटअप छ। जसमा २०० मेगापिक्सेलको प्राइमरी क्यामेरा र १२ मेगापिक्सेलको दोश्रो क्यामेरा रहेको छ। मुख्य क्यामेरामा रात्रीकालीन फोटोग्राफी तथा सामसुङ लग भिडियो फिचर उपलब्ध छ। यसका अतिरिक्त यो फोनमा एउटा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि रहेको छ।
यो फोनमा प्रयोगकर्ताले फोटोग्राफी गर्दा पृष्ठभूमिमा रहेको अनावश्यक दृश्यहरुलाई हटाउने फिचर प्राप्त गर्नेछन्। यो फिचर केवल फोटोमा मात्र नभएर भिडियोमा पनि उपलब्ध हुनेछ। फोनमा इमेल आदि लेख्नका लागि ग्यालेक्सी एआईको सहयोग लिन सकिनेछ भने फोनको सुरक्षाका लागि कम्पनीले Knox दिएको छ।
यो फोनमा ३९०० मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ, जसले २५ वाट फास्ट चार्जर सपोर्ट गर्दछ। ग्यालेक्सी एस२५ एजमा एन्ड्रोइड १५ मा आधारित OneUI 7 अपरेटिङ्ग सिस्टम रहेको छ।