काठमाडाैँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा निर्मित आइफोन अमेरिकी बजारमा नबेच्न एप्पललाई चेतावनी दिएका छन्। चीनमाथि भारी भन्सार महसुल पछि आइफोन उत्पादनलाई भारत केन्द्रित गर्ने प्रयास गरिरहेको एप्पलका लागि ट्रम्पले अर्को झट्का दिएका हुन्।
यस चेतावनी लागू नगरेमा एप्पलमाथि २५ प्रतिशत भन्सार महसुल लगाउने उनको भनाइ छ। ट्रम्पको दोस्रो सत्तारोहणसँगै बढाएको भन्सार महसुलले विभिन्न बहुराष्ट्रिय अमेरिकी कम्पनीहरुलाई नै समस्यामा पारिरहेको छ।ट्रम्प ट्यारिफबाट सबैभन्दा धेरै समस्या भोग्ने मध्येमा आइफोन निर्माता कम्पनी एप्पल पनि हो।
यस अनुसार यदि एप्पलले अमेरिकामै आइफोन उत्पादन नगरेमा ऊमाथि भन्सार महसुल लाग्न सक्नेछ। यद्यपि एप्पलमाथि ट्रम्पको निसाना यो पहिलोपटक भने होइन।यसअघि पनि ट्रम्पले भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई आग्रह गरेका थिए। जबकि एप्पलले पहिलेदेखि नै चीनबाट आफ्नो आइफोन उत्पादन कारखानाहरुलाई भारत लगायतका अन्य देशमा स्थानान्तरण गरिरहेको छ। तर, ट्रम्पको महसुलदरको खेलले एप्पलको योजनामा आघात पुग्ने देखिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्- मैले एप्पल सीईओ टिम कुकलाई धेरै पहिले नै बताइदिएको थिएँ कि अमेरिकामा बिक्री हुने आइफोन अमेरिकामै बन्नु पर्दछ नकि भारत वा अन्य देशमा। यदि त्यसो भएन भने अमेरिकामा एप्पलले कम्तिमा पनि २५ प्रतिशत भन्सार महसुल तिर्नुपर्ने हुन्छ।
एप्पल, ट्रम्प र ट्यारिफको मामिला पछिल्ला कैयन् दिनदेखि चर्चामा छ। डोनाल्ड ट्रम्पले जब चीनमाथि ट्यारिफ लगाउने घोषणा गरे, तब एप्पलका अगाडि एउटा ठूलो चुनौती खडा भयो। त्यसबाट बँच्नका लागि कम्पनीले आफ्नो उत्पानलाई भारत लगायतका अन्य देशमा स्थानान्तरण गर्न योजना बनायो। तर, ट्रम्पको चाहना चाहिं अमेरिकामा बिक्री हुने फोन अमेरिकाभित्रै उत्पादन होउन् भन्ने छ।
यसैबीच ट्रम्पको उक्त निर्णयपश्चात् अमेरिकी बजारमा आइफोनको मूल्यमा वृद्धि हुनसक्ने अनुमान गरिएको छ। केवल मूल्यमा मात्र वृद्धि नभई एप्पलका प्रडक्टको बिक्री तथा कम्पनीको समग्र आम्दानी नै यसबाट प्रभावित हुनेछ। एप्पल प्रमुख अमेरिकी प्रविधि कम्पनी हो र राष्ट्रपति ट्रम्पको घोषणाले कम्पनीलई भारी नोक्सान हुनसक्छ।