काठमाडाैँ - प्रयोगकर्ताको मानसिक स्वास्थ्यलाई ध्यान दिँदै लोकप्रिय सामाजिक सञ्जाल टिकटकले नेपालमा नयाँ फिचर लन्च गरेको छ। प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले ‘गाइडेड मेडिटेसन’ फिचर ल्याएको हो।
यसका लागि टिकटक एपमा इन-एप टुल उपलब्ध गराइएको छ। यो टुल प्रयोग गरी प्रयोगकर्ताहरुले सजिलोसँग मेडिटेसन गर्न सकिने टिकटकले जानकारी दिएको छ। निद्रा र भावनात्मक स्वास्थ्य सुधार गर्न नयाँ इनएप टुलको सुरुवात गरेको दावी टिकटकको छ।
टिकटकका अनुसार पहिलेबाट सञ्चालनमा रहेको ‘स्लिप आवर’ फिचरलाई विस्तार गर्दै अब त्यसमा ‘मेडिटेसन’ सुविधा पनि समावेश गरिएको हो।
१८ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि यो सुविधा स्वतः सक्रिय हुन्छ । राति १० बजेपछि किशोर–किशोरीको फर यु फिडमा मेडिटेसन देखाइन्छ। उनीहरूले स्क्रोल गर्न जारी राखेको खण्डमा मेडिटेसनको दोस्रो स्क्रिन देखिन्छ जसलाई भने सजिलै हटाउन सकिँदैन।
मेडिटेसनले निद्राको गुणस्तर सुधार गर्ने अनुसन्धानले देखाएको टिकटकले जनाएको छ।
यो सुविधा सबै उमेरका प्रयोगकर्तालाई उपलब्ध गराइएको छ। वयस्क प्रयोगकर्ताले भने आफ्नो चाहना अनुसार ‘स्क्रिन टाइम’ सेटिङमा गई ‘स्लिप आवर्स’ एक्टिभ गराउन सक्छन्।
यसका साथै टिकटकले विश्वव्यापी मानसिक स्वास्थ्य शिक्षामा लगानी गर्ने घोषणा गरेको छ। यसका लागि २२ देशका ३१ मानसिक स्वास्थ्य सम्बन्धी संस्थाहरूसँग साझेदारी गर्दै २३ लाख अमेरिकी डलर बराबरको विज्ञापन क्रेडिट दिने घोषणा गरिएको छ।
आफ्नो यो पहल डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताको एक महत्वपूर्ण पाटो भएको दावी टिकटकको छ।