काठमाडाैँ- कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले परीक्षाको नतिजा र विश्वविद्यालयको प्रवेश परीक्षाकाे तयारी गरिरहेका छन्। कक्षा १२ को परीक्षापछि विद्यार्थीहरु कुन विषय कहाँ पढ्ने? स्वदेशीे वा विदेशी कुन विश्वविद्यालयमा पढ्ने? विश्वविद्यालयले लिने प्रवेश परीक्षामा कसरी नाम निकाल्ने भन्ने विषयमा चिन्तित छन्।
कक्षा १२ को परीक्षा सकिएसँगै विद्यार्थीले आ-आफ्नो योजना बनाएका हुन्छन्। काठमाडौँ नैकापमा अवस्थित कंकाली मावीमा अध्ययनरत भावना भट्टराईले कक्षा १२ को परीक्षा पछि कोरियन भाषा पढेर कोरिया अध्ययनमा जाने तयारी रहेको बताइन्। उनले नेपाल बस्न मन भएपनि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षासँगै काम पनि पाइने भएकाले कोरिया जाने योजना सुनाइन्।
उनले भनिन्, ‘मलाई नेपाल बस्न मन छ तर सधै यहाँ बसेर भविष्य अन्धकार हुन्छ जस्तो लाग्छ। कोरिया जाने रहर हो भन्दा पनि फरक त पर्देन तर आफ्नो देश, घर, परिवार छोड्न चै मन छैन।’
उनी जस्तै कक्षा १२ को परीक्षा दिदैँ गरेका कुलेश्वर माविका दिपक सामरीले भविष्यमा सरकारी जागिर खाने योजना रहेको बताए। उनले पछि आफूले लोकसेवा आयोगको तयारी गरेर परिवारका अग्रज सदस्यहरूले जस्तै सरकारी सेवामा लाग्ने योजना सुनाए।
उनले भने,‘घरमा सबै पढ्नमा रुचि राख्नुहुन्छ। सानै देखी त्यहि माहोलमा हुर्किएर होला मलाई पनि किताब पढ्न मन लाग्छ। सानो कक्षा देखि नै नेपाली र सामाजिक विषय मन पर्छ। कक्षा १० मा पढ्दा चै विदेश जाने सोच आउथ्यो तर अहिले त लोकसेवाको तयारी गर्ने योजनामा छु।’
खालि समयमा के गर्ने ?
कक्षा १२ परीक्षा सेकेपछि के गर्ने भनेर विद्यार्थी अन्योलमा पर्ने गरेका छन्। पछिल्लो समय रोजगारी र अवसरका हिसाबले तुलनात्मक हिसाबमा विद्यार्थीहरुले इन्जिनियरिङ, आईटी, मेडिकल, व्यवस्थापन संकाय अन्तर्गतका विषयमा विद्यार्थीको रुचि रहेको पाइन्छ। यसका लागि विद्यार्थीले विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षाको तयारी गर्नुपर्ने हुन्छ। चिकित्सा शिक्षाका विषय अध्ययन गर्न विद्यार्थीले चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने ‘एकीकृत प्रवेश परीक्षा’ उत्तीर्ण गर्नुपर्ने हुन्छ। त्रिभुवन विश्वविद्यालयमा इन्जिनियरिङ विषय अध्ययन गर्न चाहने विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले सञ्चालन गर्ने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ।
प्रवेश परीक्षा उत्तीर्ण गरी मेरिटको आधारमा उच्च अंक ल्याउने विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्न सक्छन्। विश्वविद्यालय र क्याम्पसले लिने छात्रवृत्ति परीक्षा, प्रवेश परीक्षाको तयारी गरेर विद्यार्थीले कक्षा १२ पछिको खालि समय सदुपयोग गर्न सक्छन्।
त्यो बाहेक पनि विद्यार्थीहरु विभिन्न देशमा अध्ययनका जानका लागि भाषा तयारी कक्षामा सहभागी हुन सक्छन्। यसका अलावा विद्यार्थीले आफ्नो रुचि अनुसारको छोटो समयका तालिम लिन सक्छन्। कम्प्युटर कक्षा, मेकअप क्लास, बारिष्टा, कुकरी, डिजिटल मार्केटिङ लगायतका थुप्रै सीपहरु सिकेर विद्यार्थीले समयको सदुपयोग गर्न सक्छन्।
सबै विषयमा कुसलतापूर्वक दक्षता हासिल गरेका विद्यार्थीका लागि अवसरको खाँचो नभएको विज्ञहरु बताउँछन्। ‘सबै विषयमा उत्तिकै राम्रो अवसर छ। तर विद्यार्थीहरुले जुनसुकै सीप सिकेर भएतापनि खाली समयको चै सदुपयोग गनुपर्दछ। यो समय विद्यार्थीहरुको लागि गोल्डेन समय हो। यो समयमा सिकेर पोख्त भएको सीप जिवनभर काम लाग्छ। आफु जुन विषयमा पोख्त छु जस्तो लाग्छ त्यहि चिजको लागि समय खर्चिनुहोस्।’ पिइए एसोसिएसनका सीईओ लक्ष्मण पोखरेल भन्छन्, ‘सबै विषयमा उत्तिकै स्कोप छ तर आफूले पढेको विषयमा दक्ष चाहीँ हुनुपर्छ।’
इन्जिनियर बन्ने हो ?
प्रत्येक वर्ष करिब १८ हजार नेपाली विद्यार्थी इन्जिनियरिङ शिक्षा अध्ययन गर्न स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालय÷शिक्षण संस्थामा भर्ना हुने गरेका छन्। नेपालका ८ वटा विश्वविद्यालयले इन्जिनियरिङ शिक्षा अध्यापन गराइरहेका छन्।
नेपालमा विशेष गरेर कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इलेक्टिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्डस्ट्रियल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, केमिकल इन्जिनियरिङ, बायोमेडिकल इन्जिनियरिङ लगायतका इन्जिनियरिङ विषय अध्ययन गर्न विद्यार्थीले इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गर्न सक्छन्। स्नातक तहमा इन्जिनियरिङ अध्ययन गर्न ८ सेमेस्टर (४ वर्ष) का लागि ८ लाखदेखि १२ लाख रुपैयाँसम्म खर्च हुन्छ।
चिकित्सा शिक्षा पढ्न के गर्ने ?
चिकित्सा शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दो छ। चिकित्सा शिक्षाको नियामक निकाय चिकित्सा शिक्षा आयोगले स्नातक तहमा १४ वटा विषय अध्ययन गर्ने विद्यार्थीलाई ७ हजार ६५२ सिट निर्धारण गरेको छ।
आयोगले प्रत्येक वर्ष स्नातक तहमा एकीकृत प्रवेश परीक्षा लिने गरेको छ। प्रवेश परीक्षामा उत्तीर्ण भएपछि मात्र चिकित्सा शिक्षातर्फका विषय अध्ययन गर्न पाइन्छ। त्यसैले छात्रवृत्ति कोटामा नाम निकाल्न विद्यार्थीले प्रवेश परीक्षाको तयारी गर्नुपर्ने हुन्छ। नेपालमा एक दर्जनभन्दा बढी चिकित्सा शिक्षाका अध्ययन संस्था छन्। चिकित्सा शिक्षाको अध्ययको लागि विदेश अध्ययनमा जानुपूर्व आयोगको अनुमतिपत्र लिनुपर्ने व्यवस्था रहेको छ।चिकित्साशास्त्र अध्ययन गर्न मुख्य विषय बायालोजी लिएर कक्षा १२ मा उत्तीर्ण हुनुपर्छ। त्यसपछि चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षा दिन पाइन्छ। उत्तीर्ण विद्यार्थीले मेरिटका आधारमा कलेजमा भर्ना हुन फाराम भर्नुपर्छ। सरकारले चिकित्सा शिक्षातर्फ छात्रवृत्ति उपलब्ध गराउने गरेको छ। छात्रवृत्तिको मेरिटबाहेक पूर्ण शुल्क तिरेर विद्यार्थीले कलेजको बाँकी सिटमा मेरिटकै आधारमा भर्ना हुन पाउँछन्। गरिब, दलित, जनजाति वर्गले पनि मेरिटका आधारमा पूर्ण छात्रवृत्ति पाउने व्यवस्था छ।
सूचना प्रविधि र व्यवस्थापनका विषय पढ्न के गर्ने ?
अहिलेको युग सूचना प्रविधिको युग हो। सूचना प्रविधिको विकाससँगै प्रविधिमा विभिन्न खालका परिवर्तन आएका छन्। सरकारी कार्यालय तथा निजी क्षेत्रमा सूचना प्रविधिको प्रयोग अनिवार्य भएसँगै दक्ष आइटीको खाँचो त्यतिकै छ। सूचना प्रविधि सम्बन्धि ज्ञान भएका मानिसले हरेक क्षेत्रमा सेवा प्रवेशको अवसर पाउने गरेका छन्। एनिमेसन, नेटवर्किङ, वेबपेज डिजाइनिङ, भीएमएक्स, ग्राफिक्स डिजाइनिङ लगायतका क्षेत्रमा यो विषय पढेका विद्यार्थीका लागि अवसर देखिएको छ। यसका लागि विभिन्न विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षा उत्तीर्ण गरेर विद्यार्थीले भर्ना पाउँछन्। त्यसका लागि कक्षा १२ पछिको समयमा विद्यार्थी तयारी कक्षामा सहभागी हुन सक्छन् वा घरमै बसेर पनि आवश्यक तयारी गर्न सक्छन्।
सूचना प्रविधि शिक्षा तर्फ ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी), ब्याचलर इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (बिएससी सिएसआइटी), ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम (बीसीआईएस), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) लगायतका थुप्रै अन्य विषयहरू अध्ययन हुन्छ। यस्तै व्यवस्थापन तर्फका बीबीए, बीएचएम अध्ययन गर्न पनि विद्यार्थीले विश्वविद्यालयले सञ्चालन गर्ने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। विद्यार्थीले व्यवस्थापन संकायका विषय अध्ययन पश्चात बैंक तथा वित्तीय क्षेत्र, होटल व्यवस्थापन, ट्राभल एन्ड टुरिजम लगायत क्षेत्रमा रोजगारीको अवसर प्राप्त गर्छन्।
नेपालमा व्यवस्थापन संकाय अन्तरर्गत ब्याचलर इन बिजनेस स्टडिज(बीबीएस), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर इन होटल व्यवस्थापन (बीएचएम), ब्याचलर इन ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन बैंकिङ एन्ड इन्स्योरेन्स(बीबीएबीआई), ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन ट्राभल एन्ड टुरिजम(बीबीएटीटी), ब्याचलर इन पब्लिक एडमिनिस्ट्रेसन (बीपीए) लगायतका विषय अध्यापन हुन्छ।
भाषा तयारी कक्षा
विदेशमा उच्च शिक्षा आर्जन गर्ने योजना भएका विद्यार्थीले उक्त देशलाई आवश्यक पर्ने तयारी कक्षामा सहभागी हुन सक्छन्। विदेशी मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुले भाषागत दक्षता हासिल गरेर मात्र जानु उपयुक्त हुन्छ। विद्यार्थीहरुलाई विश्वविद्यालयमा भर्ना पाउनकै लागि भाषागत योग्यता पनि तोकिएको हुन्छ। नेपालबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा, युके, भारत, कोरिया, जापान लगाएतका मुलुकहरुमा विद्यार्थी अध्ययनको लागि जाने गरेका छन्। यसका लागि विद्यार्थीले अंग्रेजी भषा तयारी कक्षा आईईएलटिएस, पीटीई, टोफल लगायत जापानीज, कोरियन भाषा परीक्षाको तयारी गर्न सक्छन्।