काठमाडौँ- नेपालका आठ जिल्लामा १४ वटा विद्यालय भवन निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र विभिन्न निर्माण व्यवसायी कम्पनीबीच सम्झौता भएको छ। भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोग अन्तर्गत करिब ५६ करोड २ लाख नेपाली रुपैयाँ अनुदानमा विद्यालय निर्माण गर्न लागिएको हो।
सम्झौताअनुसार गोरखा, नुवाकोट,धादिङ,दोलखा, काठमाडौँ, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा शैक्षिक पूर्वाधार निर्माण गरिनेछ। विद्यालय भवनहरू नेपाल सरकारले तोकेको भूकम्प प्रतिरोधी मापदण्डअनुसार निर्माण हुने जनाइएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा दूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक,सम्बन्धित सरकारी अधिकारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरू सहभागी थिए।
नवनिर्मित विद्यालयहरूमा आधुनिक शैक्षिक भवन, फर्निचरसहितका कक्षाकोठा तथा छात्र–छात्राका लागि छुट्टाछुट्टै शौचालय र सरसफाइ संरचना निर्माण गरिनेछ।
भारत सरकारको पुनर्निर्माण सहयोग अन्तर्गत यसअघि पनि आठ जिल्लाका ७० वटा विद्यालय तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण सम्पन्न भइसकेको छ। ती संरचनाहरू सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।
भारतीय राजदूतावासले भूकम्पपछिको पुनर्निर्माणसँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा नेपाल सरकारसँग सहकार्य जारी रहने जनाएको छ।