काठमाडौँ- नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आर्कषण बढदै गएको छ। उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीकाे राेजाइमा सूचना प्रविधि विषय पर्ने गरेकाे छ। सूचना प्रविधि शिक्षा, नेपालमा राेजगारीकाे अवसर, अध्ययनका क्रममा विद्यार्थीले ध्यान दिनुपर्ने कुरा र अवसरसँगै आइपर्ने चुनाैतीका विषयमा लर्ड बुद्ध एजुकेशन फाउन्डेसनका अध्यक्ष पंकज जलानसँग गरिएको कुराकानी:
नेपालमा सूचना प्रविधि अध्ययनको अवस्था कस्तो छ?
नेपालमा मात्र होइन विश्वभरीनै सूचना प्रविधि(आईटी)को तर्फका जनशक्तिकाे माग बढ्दाे छ। यससँगै यस क्षेत्रमा विद्यार्थीकाे आर्कषण पनि बढदै गएको छ। नेपालमा पनि सूचना प्रविधि अध्ययनका लागि प्रशस्त अवसरहरु रहेका छन्। विद्यार्थीहरुलाई स्वदेशको डिग्री मात्र होइन विदेशका विश्वविद्यालयका डिग्रीहरु लिन सक्ने अवस्था आएकाे छ।
हामीले पनि सूचना प्रविधिलाई प्राथामिकता दिँदै अध्यापन गराउँदै आएका छौँ। हामीले सम्बन्धन लिएको विश्वविद्यालय पनि यसै विषयमा केन्द्रित भएर सञ्चालित रहेको छ। पढाइ मार्फत विद्यार्थीलाई दक्ष बढाउने हाम्रो प्रथामिकता रहदै आएको छ।
त्यसैले पनि हाम्रो कलेजमा अध्ययन गरेका विद्यार्थीहरु एक जना पनि खाली बस्न परेको छैन। यसबाट नेपालमा यस क्षेत्रमा प्रशस्तै अवसर भएको देखाएको छ। तर यसलाई अझ वृहत्त बनाउन आवश्यक छ। नेपाल सरकारले पनि सूचना प्रविधिको क्षेत्रवाट ठूलो जनशक्ति उत्पादन गर्ने र रोजगारी मुलक बनाउने हो भने सरकारले सूचना प्रविधि क्षेत्रका लागि नेश्नल फ्रेमवर्क बनाउन आवश्यक छ। जसमा अध्ययन अध्यापन गराउने विषयहरुको आधारभुत संरचनाहरु सरकारलेनै स्पष्ट खुलाएर रोड म्याप बनाइदिन आवश्यक हुन्छ।
यसलाई सबैसबै विश्वविद्यालय र सूचना प्रविधि कलेजहरुले आधार मान्ने हो भने सूचना प्रविधिको क्षेत्रले बढि प्रतिफल दिने देखिन्छ। यस मार्फत विद्यार्थीहरुमा आर्कषण पनि यस क्षेत्रमा बढ्ने र रोजगारीका थप अवसरहरु पनि सिर्जना हुने देखिन्छ।
सूचना प्रविधिको क्षेत्रलाई सरकार लगायत सबैले प्राथामिकता दिएका छन्, सरकारले अघि सार्ने योजनामा यसको कुन - कुन पक्षमा ध्यान दिनुपर्ला?
सबैभन्दा पहिले त कोर्स परिवर्तन गर्न जरुरी छ। पुरानो पाठ्यक्रमले नयाँ चुनौतीहरुको सामना गर्न सक्दैन। अहिले जति पनि विश्वविद्यालयहरू छन् तिनिहरुले कोर्स र पाठ्यक्रम बनाउन फरक - फरक मेहेनेत गर्नु परेको छ।तर, सरकारले एउटै छुट्टै बास्केट बनाइदिएर टास्कफोर्स मार्फत कोर्स निर्माण गरि वितरण गर्न सकेमा एकरुपता पनि हुन्छ। समय अनुसारको कोर्स पनि बन्ने अवस्था आउन सक्छ।
अहिलेको आवश्यकता भनेको ‘आउट कम बेस लर्निङ’हो। यसबाट कस्तो जनशक्ति अहिलेको आवश्यकता हो भन्ने विषय पहिचान गर्न सकिन्छ। पहिलेको जस्तो कक्षामा पढाउने र मुल्यांङ्कन गर्ने परिपाटीमा पनि परिवर्तन गर्न जरुरी छ।
अहिले धेरै आईटी कलेजहरुमा विद्यार्थीकाे संख्या काेटा भन्दा न्युन देखिन्छ,यसको कारण के होला?
देशमा कस्तो जनशक्ति आवश्यक छ, सरकारले म्यापिङ गरिदिन आवश्यक छ। बजारमा आगामी १०-२० वर्ष कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ, यसको पहिचानका लागि गृहकार्य गर्नुपर्छ। यसैका आधारमा विश्वविद्यालय अनुसार फरक - फरक विषयमा अध्यापनका लागि निर्दिष्ट गर्न जरुरी छ।
अहिले सबै विश्वविद्यालयले एउटै कोर्स पढाइरहेको अवस्था छ। विषयका आधारमा स्पेसलाईज्ड विश्वविद्यालय बनाउन सके कुनै विश्वविद्यालय वा कलेजमा विद्यार्थी संख्या थामिनसक्नु हुने कतै कलेज खाली हुने अवस्थाको अन्त्य हुनेछ।
आईटी अध्ययन गर्न चाहाने विद्यार्थीहरुले के - के विषयमा ध्यान दिन आवश्यक हुन्छ?
नेपालमा आईटीको सम्भावना छ, तर सम्भावना छ भन्दैमा नाम मात्र हेरेर पढ्न जाने विद्यार्थीको मानसिकता ठिक देखिदैन। कुनै विश्वविद्यालय वा कलेजले आईटीका के–के विषय कसरी पढाउँछन्, पाठयक्रम कस्ता छन्,शैक्षिक पूर्वाधारहरुको अवस्था कस्तो छ?, शिक्षकहरुको अनुभव कस्तो छ, पहिले अध्ययन गरेका विद्यार्थीहरुका प्रतिक्रिया लगायत सबै बुझेर मात्र विद्यार्थीहरुले निर्णय लिन आवश्यक हुन्छ। घरमा बसेर सिधै यो कलेज पढछु भन्ने भन्दा पनि विश्वविद्यालय र कलेजबारे प्रशस्तै बुझेर मात्र कलेज छनौट गर्नु उपयुक्त हुने देखिन्छ। त्यसपछि सबैभन्दा महत्वपूर्ण अध्ययन पछिको अवसरहरु बुझन जरुरी छ। इन्टरनेटको समय छ सबैकुरा बुझ्न पनि सजिलो छ। यसका लागि विद्यार्थी आफै सक्रिय हुनुपर्छ।
स्नातक तहमा आईटी अध्ययन गर्दे गर्दा कामको अवसर कस्तो हुन्छ?
अन्य कोर्समा भन्दा आईटी क्षेत्रमा अवसरहरु बढि देखिन्छ। आईटी अध्ययन गरेका विद्यार्थीहरुले पढाइसँगै पार्टटाईम जब पाईरहेको देखिन्छ। विद्यार्थीको क्षमताले पनि यि विषयहरुमा निर्भर गर्छ। हामीले विद्यार्थीहरुका लागि दोस्रो सेमेष्टर पछि इन्टरसिपको व्यवस्था पनि गरेका छौँ। यसैका लागि जब पोर्टल समेत बनाईदिएका छाैँ। त्यसैले अवसर खोज्ने भनेको स्वंयम विद्यार्थीले हो अवसर घरमा बसेर आउने होइन, अवसर प्राप्त गर्नका लागि विद्यार्थी खोज्नै जान पर्ने हुन्छ।
नेपालको विश्वविद्यालय र विदेशी विश्वविद्यालयको अध्ययनमा के फरक पाउन सकिन्छ ?
विदेशी विश्वविद्यालय भन्दैमा सबै राम्रो हुन्छ भन्ने छैन। अधिकांश विदेशी विश्वविद्यालयको अध्ययन अवधी ३ वर्षको छ। नेपालका विश्वविद्यालयको स्नातक ४ वर्षको छ। जसबाट एक वर्ष त कम हुनेनै भयो। अर्को विदेशी विश्वविद्यालयका पाठयक्रम परिमार्जित छन्। नेपालको पाठयक्रम समयअनुसार परिमार्जित हुनसकेको छैन। सबै विदेशी विश्वविद्यालयका पाठयक्रम राम्रै छ भन्ने त होइन। नेपालकै विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरुले पनि पाठ्यक्रम बाहेकका कोर्सहरु थप गरि पढाउने गरेका छन्। त्यसैले विद्यार्थीहरुले कलेज छान्ने समयमा यि सबैपक्षमा ध्यान दिन जरुरी छ।
लर्ड बुद्ध एजुकेशन फाउन्डेसनले कस्तो खालको शिक्षालाई केन्द्रमा राखेको छ?
हामीले मुख्यत, बजारको माग अनुसारको शिक्षालाई प्राथामिकतामा राखेका छौँ। जसलाई 'आउटकम वेस लर्निङ' पनि भनिन्छ। बजारको आवश्यकता अनुसारको कोर्स विश्वविद्यालयले तयार पार्ने गरेको छ। आईटीका कोर्सहरु प्रत्येक वर्ष परिमार्जित हुने गर्दछन्। नयाँ - नयाँ विकास भएका प्रविधिहरुलाई कोर्समा समावेश गर्ने र इनर्टनसीपको समेत व्यवस्थाले विद्यार्थीहरुले रियल टाईम जव प्राप्त गर्न अवसर पाउँछन्।
त्यसैले हामीले स्कीलवेस जनशक्तिमा ध्यान दिएका छौँ। हाल यस कलेजमा १,५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १४,००० भन्दा बढी विद्यार्थीहरू स्नातक भइसकेका छन्। समग्रमा भन्दा विद्यार्थीहरु बढि भन्दा बढि एक्सपोज हुने गरि हामीले काम गरिरहेको छौँ।