काठमाडाैँ- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पाेखरेलले आगामी आर्थिक वर्षको बजेटमार्फत शिक्षा क्षेत्रमा गुणस्तरीय र प्रविधिमैत्री रूपान्तरण गर्न खाेजिएकाे बताएका छन्। बजेट पछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिदैँ मन्त्री पाेखरेलले सरकारले शिक्षा क्षेत्रमा विद्यालयको राष्ट्रिय नक्साङ्कन, शैक्षिक पूर्वाधारको अडिट, शिक्षक क्षमता परीक्षण तथा कृत्रिम बुद्धिमत्ता (एआई) र ‘एड टेक’ तत्परता मूल्याङ्कनमार्फत प्रमाणमा आधारित शिक्षा सुधारको आधार तयार गर्न खोजिएको बताएका हुन्।
बजेटमा विद्यालय केन्द्रित शिक्षा प्रणालीलाई प्रवर्द्धन गर्दै छात्रवृत्तिका लागि रु. ८ अर्ब ६० करोड विनियोजन गरिएको छ भने सामुदायिक विद्यालय पूर्वाधार म्यापिङका लागि रु. १ अर्ब छुट्याइएको छ। अनुसन्धान र नवप्रवर्तनमुखी उच्च शिक्षालाई विशेष प्राथमिकता दिइएको उनले प्रतिक्रिया दिए।
चिकित्सा, नर्सिङ र सूचना प्रविधि शिक्षामा कोटा वृद्धि, अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई नेपालमा आकर्षित गर्ने नीति, सीपमूलक शिक्षा तथा पारिश्रमिकसहितको इन्टर्नसिप कार्यक्रममार्फत युवालाई विश्वस्तरीय प्रतिस्पर्धाका लागि तयार पार्ने लक्ष्य लिइएको छ। साथै एआई र गणितलाई नयाँ शैक्षिक आधारका रूपमा विकास गर्ने नीति अघि सारिएको छ। शिक्षा क्षेत्रका लागि कुल रु. २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको छ।
खेलकुद क्षेत्रमा आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी प्रमुख ८ शहरमा आधुनिक क्रिकेट रङ्गशाला तथा ७ शहरमा इनडोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने भएको छ।
सरकारले विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान गरी आवासीय प्रशिक्षणको व्यवस्था गर्ने, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउने तथा राष्ट्रिय खेलकुद पूर्वाधार विस्तारमार्फत खेललाई युवा विकास, राष्ट्रिय गौरव र अर्थतन्त्रसँग जोड्ने नीति लिएको उनले जानकारी दिए।
सरकारले सीमित स्रोत र समयको चापका बीच ल्याइएको यो बजेट सुधारको आधार भएको उल्लेख गर्दै ज्ञान, सीप, नवप्रवर्तन र युवा शक्तिमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने सङ्कल्प मन्त्री पाेखरेलले व्यक्त गरेका छन्।