काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न नयाँ कार्यक्रम घोषणा गरेको छ। बजेटमार्फत युवा उद्यमी, वैज्ञानिक अनुसन्धान र प्रविधिमैत्री उद्यम विकासका लागि विशेष योजना अघि सारिएको हो।
सरकारले स्टार्टअप, साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने उद्देश्यले नेपाल इन्टरप्राइज फ्यासिलिटी स्थापना गर्ने घोषणा गरेको छ। यो प्लेटफर्मले उद्यमसम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहुँच, इन्क्युबेशन सेवा तथा स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य राखेको छ।
यस्तै, कृषि तथा पशुजन्य उद्यम सञ्चालन गर्न चाहने एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराइने भएको छ। सरकारले युवालाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्दै स्वरोजगार र उद्यमशीलता विस्तार गर्ने नीति लिएको जनाएको छ।
बजेटमा युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धान गर्ने अवसर प्रदान गर्न अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यसका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको सरकारले जनाएको छ।
खगोलीय पर्यटन प्रवर्द्धनका लागि सगरमाथा आधार शिविर क्षेत्रमा अब्जर्भेटरी केन्द्र स्थापना गर्न पनि बजेट छुट्याइएको छ। यस कदमले नेपालको पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।
सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ भने नेपाल इन्टरप्राइज फ्यासिलिटी सञ्चालनका लागि ५० करोड रुपैयाँ छुट्याएको जनाएको छ।