काठमाडौँ - मेटाले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरका लागि कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। कम्पनीले ईमेलमार्फत प्रयोगकर्तालाई यो सेवा आधिकारिक रूपमा नेपालमा सुरु भएको जानकारी दिएको हो।
यसले नेपाली कन्टेन्ट क्रियटरका लागि आम्दानीको नयाँ ढोका खोलेको छ। मेटा कम्पनीले नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु भएको पुष्टि गरेको हो।
यससँगै अब फेसबुकको मनिटाइजेसनका लागि योग्य भएका नेपाली प्रयोगकर्ताले आफ्नो कमाइ सिधै नेपालको बैंक खातामा प्राप्त गर्न सक्नेछन्। यसका लागि प्रयोगकर्ताले आफ्नो पेआउट अकाउन्ट सेटअप गर्दा देशमा ‘नेपाल’ छनोट गरी आफ्नो बैंक खाताको विवरण भर्नुपर्नेछ।
यस अघि फेसबुकले सीमित क्षेत्रका क्रियटरलाई तीन ओटा कार्यक्रम अन्तर्गत भुक्तानी दिने गरेको थियो। पहिलो- ‘इनस्ट्रिम एड्स’। यो भनेको लामो भिडिओमा देखिने विज्ञापन हो। दोस्रो- ‘एड्स अन रिल्स’। अर्थात् रिल्समा विज्ञापन देखाए वाफत भुक्तानी दिने। र, तेस्रो हो - ‘पर्फमेन्स बोनस। यो भनेको भिडिओ, फोटो र टेक्स्ट पोस्टका आधारमा फेसबुकले बोनस मार्फत पठाउने रकम हाे।
३१ अगस्टदेखि मेटाले इनस्ट्रिम एड्स र एड्स अन रिल्सलाई सधाका लागि विस्थापित गरेको छ। अर्थात् यसअघि सुरु भएका तीन ओटै मनिटाइजेसन कार्यक्रम अब ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’ अन्तर्गत पर्नेछन्।
कन्टेन्ट मनिटाइजेसनका लागि के छ मापदण्ड ?
मेटाले प्रत्यक्ष रूपमा यो मापदण्ड पूरा गर्ने प्रयोगकर्तालाई कन्टेन्ट मनिटाइजेसनमा राख्ने भन्ने निर्णय गरिसकेको छैन। अहिलेलाई मेटाले योग्य क्रियटरलाई आफैँ छनोट गरिरहेको छ, जसलाई ‘इन्भाइट वन्ली’ भनिएको छ।
मेटाबाट यस्तो इन्भिटेसन पाउने क्रियटरले मेटा बिजनेस सुइट र प्रोफेसनल ड्याशबोर्डबाट पेआउट सेटअप गर्न सक्नेछन्। यतिबेलासम्म पनि इन्भिटेसन नपाएका प्रयोगकर्ताले भने यहाँ क्लिक गरेर अनुरोध गर्न सक्नेछन्।
यसरी कन्टेन्ट मनिटाइजेसनका लागि योग्य क्रियटरले पेआउट सेटअप गर्न सक्छन्। त्यस्तै क्रियटरले पार्नर मनिटाइजेसन पोलिसी र कन्टेन्ट मनिटाइजेसन पोलिसी पूर्ण रूपमा पालना गरेको हुनुपर्छ। यसरी कुनै पनि नीति उलङ्घन नगरी निरन्तर सञ्चालन गर्दै आइरहेका क्रियटरलाई मेटाले रकम उपलब्ध गराउँछ। क्रियटरले राख्ने भिडिओ, रिल्स, स्टोरी र टेक्स्ट फोटोका आधारमा मेटाले कति रकम दिने भन्ने निर्धारण गर्छ। भिडिओबाट आम्दानी गर्नका लागि भने उक्त भिडिओ कम्तिमा पनि १५ सेकेन्डको हुनुपर्छ।
कपिराइट लाग्यो, ब्रान्डेड कन्टेन्टमा पर्यो, अयोग्य भाषामा पर्यो, कन्टेन्ट डिलिट भयो, क्रियटरले एड्स डिसेबल गरेको छ, अनाधिकृत तरिकाले इङ्गेजमेन्ट बढाएको छ भने त्यस्ता पेजले रकम कमाउन्ट नसक्ने फेसबुकले स्पष्ट पारेको छ। अरुको कन्टेन्ट राखिएको छ र त्यसमा तेस्रो पक्षले दाबी गरेको छ भने पनि त्यस्तोमा पोस्टबाट हुने आम्दानी तेस्रो पक्षले दाबी गर्न पाउँछ।
कन्टेन्ट मनिटाइजेसनका लागि पेज योग्य छ कि छैन भन्ने थाहा पाउन मोबाइलमा फेसबुक पेज खोल्नुहोस्। अनि प्रोफेस्नल ड्याशबोर्डमा जानुहोस्। र, मनिटाइजेसनमा गएर कन्टेन्ट मनिटाइजेसन अप्सन छान्नुहोस्।
त्यसपछि टर्म्स एन्ड कन्डिसन एसेप्ट गरेर भुक्तानीको विवरण भरी ‘कम्प्लिट’ सेटअप गर्न सक्नुहुन्छ। कम्प्युटरमा मेटा बिजनेस सुइटमा गएर यही प्रक्रिया अपनाउन सक्नुहुन्छ।
मनिटाइजेसनका लागि कसरी योग्य हुने ?
फेसबुकबाट आम्दानी गर्नका लागि क्रियटरले केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
१) प्रोफेसनल मोड (Professional Mode): सबैभन्दा पहिले आफ्नो फेसबुक प्रोफाइल वा पेजलाई ‘प्रोफेसनल मोड’मा बदल्नुपर्छ। यसका लागि आफ्नो प्रोफाइलको सेटिङमा गएर ‘Turn On Professional Mode’ विकल्प छनोट गर्नुपर्छ । त्यहाँ आफू कस्तो प्रकारको सर्जक (जस्तै: Digital Creator, Singer, Actor) हो, सो छनोट गर्नुपर्छ। (पेजका सन्दर्भमा भने केही गर्नु पर्दैन)
२) मनिटाइजेसनका लागि आवेदन: प्रोफाइल प्रोफेसनल मोडमा गएपछि ‘प्रोफेसनल ड्यासबोर्ड’ भित्र रहेको ‘Monetization’ अप्सनमा जानुपर्छ । यदि तपाईं योग्य भइसक्नुभएको छ भने त्यहाँ विभिन्न टुल (जस्तै: Stars, Ads on Reels) देखिन्छन्। यदि योग्य हुनुभएको छैन भने ‘Not Yet Eligible’ मा गएर आवेदन दिन सकिन्छ । फेसबुकले तपाईंको प्रोफाइलको सक्रियता र मापदण्डका आधारमा आवेदन स्वीकृत गर्छ।
३) भुक्तानी र कर विवरण सेटअप (Payout and Tax Setup): आवेदन स्वीकृत भएपछि आम्दानी जम्मा गर्नका लागि भुक्तानी विवरण (Payout Setup) मिलाउनुपर्छ।
* कर विवरण (Tax Info): यसका लागि आफ्नो नागरिकता अनुसारको पूरा नाम, जन्ममिति, स्थायी ठेगाना, र स्थायी लेखा नम्बर (PAN) अनिवार्य रूपमा भर्नुपर्छ।
* बैंक खाता (Bank Account): भुक्तानी प्राप्त गर्न आफ्नो बैंक खाताको विवरण भर्नुपर्छ। यसका लागि बैंकको ‘स्विफ्ट कोड’ (SWIFT Code) र आफ्नो खाता नम्बर आवश्यक पर्छ।
सूचीकरणमा नआउने सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय पार्ने नेपाल सरकारको तयारीबिच मेटाले नेपाली प्रयोगकर्तालाई यस्तो सुविधा दिन थालेको हो।