काठमाडाैँ - फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो वार्षिक डेभलपर सम्मेलन 'मेटा कनेक्ट' मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ स्मार्ट ग्लास (चस्मा) सार्वजनिक गरेको छ। कम्पनीका प्रमुख मार्क जुकरबर्गले सनग्लास ब्राण्ड रे-बान र ओक्लेसँगको साझेदारीमा बनेका डिभाइस घोषणा गरेका हुन्।
यसमा मेटा रे-बान डिस्प्लेलाई सबैभन्दा आकर्षणको रूपमा प्रस्तुत गरिएको छ। जसको मूल्य ७९९ अमेरिकि डलर तोकिएको छ। यो चस्माको मुख्य विशेषता यसको दाहिने लेन्सभित्र रहेको पूर्ण रंगको उच्च-रिजोलुसन युक्त स्क्रिन हो। यो स्क्रिनमा प्रयोगकर्ताले भिडिओ कल गर्न, मेसेज हेर्न, दिशाहरू प्राप्त गर्न र अनुवाद हेर्न सक्छन्।
यसमा १२ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ। चस्माको डिजाइन क्लासिक वेफेरर जस्तै छ, ताकि यो धेरै प्राविधिक नदेखियोस्। यो चस्मासँगै मेटा न्युरल ब्यान्ड नामक एक रिस्टब्यान्ड पनि आउँछ। यो ब्यान्डले हातका ससाना इसाराहरूलाई पहिचान गरेर चस्माको डिस्प्ले नियन्त्रण गर्न मद्दत गर्दछ। यसले इलेक्ट्रोमायोग्राफी (EMG) प्रविधि प्रयोग गरेर मस्तिष्क र हातबिच पठाइएका सङ्केतहरू पढ्ने दाबी समेत गरिएको छ।
मेटाले ओक्ले मेटा भ्यानगार्ड र रे बान मेटा (सेकेन्ड जेनेरेसन) गरी अन्य दुई मोडलहरू पनि सार्वजनिक गरेको छ। ओक्ले मेटा भ्यानगार्ड खेलकुदमा रुचि राख्नेहरूका लागि डिजाइन गरिएको हो, जसको मूल्य ४९९ अमेरिकी डलर राखिएको छ। यसले गार्मिन (Garmin) का उपकरणहरूसँग जोडिएर दौड वा अन्य गतिविधिका क्रममा दौडको गति, मुटुको धड्कन र दूरी जस्ता डेटाहरू देखाउन सक्छ।
त्यस्तै अर्को दोस्रो पुस्ताको रे-बान मेटा भने पुरानो मोडेलकै परिष्कृत संस्करण हो । जसको मूल्य ३७९ अमेरिकी डलर छ । यसमा राम्रो ब्याट्री र उच्च रिजोलुसनको क्यामेरा रहेको छ ।
मेटा रे-बान डिस्प्ले ३० सेप्टेम्बरदेखि अमेरिकामा उपलब्ध हुनेछ। कम्पनीले सन् २०२६ को सुरुमा क्यानडा, फ्रान्स, इटाली र बेलायतमा पनि बिक्री विस्तार गर्ने योजना बनाएको छ। मेटाले डेभलपरहरूका लागि 'वेयरएबल डिभाइस एक्सेस टुलकिट' पनि ल्याउँदैछ। जसले उनीहरूलाई चस्माका सेन्सरहरू प्रयोग गरेर नयाँ एप बनाउने अवसर पनि दिनेछ।