काठमाडाैँ - यदि आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर छ। अब चाँडै नै तपाईंले तपाइँको आइफोनमा मोबाइल नेटवर्क नभए पनि मेसेज पठाउन र एप्पल म्याप्सचलाउन सक्नुहुनेछ। एप्पलले स्याटेलाइटमा आधारित सञ्चारको नयाँ कनेक्टिभिटी फिचर विकास गर्दैछ, जसले प्रयोगकर्तालाई दुर्गम वा नेटवर्क नपुग्ने ठाउँहरूमा पनि फोन सम्पर्कमा रहन सहयोग पुर्याउनेछ।
किन ल्याइँदैछ नयाँ फिचर ?
यो नयाँ सुविधा एप्पलले मुख्यतया आपतकालीन अवस्थाका लागि तयार पारेको हो। यद्यपि एप्पलले सन् २०२२ मा सार्वजनिक आइफोन १४ सिरिजबाटै स्याटेलाइटमार्फत ‘Emergency SOS’ सेवा सुरु गरेको थियो। यसले प्रयोगकर्तालाई मोबाइल नेटवर्क नभएका ठाउँहरूबाट पनि आपतकालीन सेवाहरू वा आफ्ना सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सहयोग पुर्याउँछ।
पछि एप्पलले यसमा ‘Roadside Assistance’ फिचर पनि थपेको थियो । यो फिचरले सडकमा गाडी बिग्रिएर अलपत्र पर्दा सहयोग माग्नका लागि प्रयोगकर्तालाई सहज बनाएको थियो।अब एप्पलले यही प्रविधिलाई थप उन्नत बनाउँदै मेसेज र एप्पल म्याप्स जस्ता एपहरूमा पनि स्याटेलाइट कनेक्टिभिटीको सुविधा दिने तयारी गर्दैछ।
कसरी काम गर्नेछ नयाँ स्याटेलाइट फिचरले ?
समाचार अनुसार एप्पलले यसका लागि ग्लोबलस्टार नामक स्याटेलाइट अपरेटर कम्पनीसँग साझेदारी गरेको छ। यो कम्पनी एप्पलको विद्यमान Emergency SOS सेवामा पनि संलग्न छ।
अब दुवै कम्पनी मिलेर यस्तो प्रविधि विकास गर्दैछन्, जसमा प्रयोगकर्ताले फोनलाई स्याटेलाइटको दिशामा मोड्नुपर्ने आवश्यकता हुने छैन। यसको अर्थ, तपाईंको आइफोन झोलामा, कारभित्र वा ज्याकेटको खल्तीमा भए पनि त्यो स्वचालित रूपमा स्याटेलाइटसँग कनेक्ट हुन सक्नेछ।
स्रोतहरूका अनुसार, आगामी आइफोन मोडेलहरूमा फाइभ जी एनटिएन (Non-Terrestrial Network) प्रविधि पनि समावेश गरिनेछ। यो प्रविधिले मोबाइल टावर र स्याटेलाइट नेटवर्कलाई संयोजन गरेर अझ स्थिर र व्यापक कभरेज उपलब्ध गराउँछ।यसको अर्थ, भविष्यमा आइफोन प्रयोगकर्ताहरूले सहरमा मात्र होइन, पहाड, जंगल वा समुद्रमा पनि सजिलै फोन कल र मेसेज सेवा प्रयोग गर्न सक्नेछन्।