काठमाडाैँ - पछिल्लो समय विद्यार्थीहरुले सहि परामर्शदाता छनोट गर्न नसक्दा समस्या भाेग्ने गरेका छन्। विद्यार्थीहरुले सहजताको लागि भविष्य नै जोखिममा पारेर छोटो बाटो-नक्कली कागजात प्रयोग गर्ने गर्दछन्। यस सन्दर्भमा विद्यार्थी र अभिभावकले परामर्शदाता कसरी छनोट गर्ने, बैदेशिक अध्ययन जानुपूर्व ध्यान दिनुपर्ने कुरा, विद्यार्थीको बद्लिदो गन्तव्य लगायतको विषयमा अल्टिमेट कन्सल्टेन्सी एण्ड एड्भाइजरी नेटवर्क (युक्यान) का प्रमुख कार्यकारी अधिकृत निरञ्जन पन्तसँग गरिएको कुराकानीको मुख्य अंश :
नेपाली विद्यार्थी किन विदेश जान चाहन्छन्?
विद्यार्थी नयाँ ज्ञान, सीप र अवसर खोज्दै विदेश जान्छन्। नेपालले विद्यार्थीको क्षमताअनुसार अवसर उपलब्ध गराउन सकेको छैन। केही विद्यार्थी साथीभाइको दबाबले जान चाहन्छन्, भने कतिले अन्तर्राष्ट्रिय डिग्री लिएर नेपाल फर्केर व्यवसाय गर्न चाहन्छन्।धेरै विद्यार्थी राज्यप्रति निराश भएर पनि विदेश जाने सोच राख्छन्। हालैको जेन्जी आन्दोलनले युवाहरुमा कति आक्रोस छ भन्ने स्पष्ट देखायो।
सरकारले विद्यार्थीप्रति जिम्मेवारीपूर्ण व्यवहार देखाएको छैन। पढाइ मात्रै पर्याप्त हुँदैन, त्यसपछि रोजगारीको अवसर पनि हुनुपर्छ। नेपालको शिक्षा प्रणालीमा गम्भीर सुधार आवश्यक छ। कक्षा १२ सकेका धेरै विद्यार्थी २०-३० जनासामु बोल्न डराउँछन् भने त्यो नै सुधारको खाँचो देखाउन पर्याप्त छ।
विदेश जानुअघि विद्यार्थीले के-कस्ता कुरा सोच्नुपर्छ?
कुन देशमा पढ्ने भन्ने निर्णय गर्नु अघि विद्यार्थीले विभिन्न देशको शिक्षा प्रणाली बुझ्नुपर्छ। धेरै कन्सल्टेन्सी भेटेर कुन देश, कलेज वा विश्वविद्यालय आफूलाई उपयुक्त छ भनेर तुलना गर्नुपर्छ। विदेश पुगेपछि के-कस्तो हुनेछ भनेर ठोस योजना बनाउनु जरुरी छ। विमानस्थलबाट निस्केपछि कहाँ जाने? कहाँ बस्ने? काम कसरी खोज्ने? समस्या आए के गर्ने? यी आधारभूत कुरामा स्पष्ट हुनैपर्छ।
धेरैलाई भिसा पाइनु नै सबैभन्दा ठूलो उपलब्धि जस्तो लाग्छ, तर वास्तविक उपलब्धि भनेको पढाइ अवधिभर सिकेको कुरा हो। हाल बिना आईईएलटीएस वा पीटीइ विदेश जान सजिलो छ भन्ने भ्रम फैलिएको छ। असम्भव होइन, तर विद्यार्थी सक्षम, आत्मविश्वासी र आवश्यक परीक्षाका लागि तयार हुनुपर्छ। अंग्रेजी नआउँदा 'बिना IELTS जान्छु' भन्ने सोच गलत हो। विद्यार्थी मानसिक रूपमा पनि तयार हुनुपर्छ। पहिलो दिनदेखि घर सम्झेर पढाइमा विचलित हुने विद्यार्थी योजनाअनुसार अघि बढ्न सक्दैनन्।
नेपाली विद्यार्थीले गन्तव्य बदलिरहनुको कारण के हो?
यसमा कन्सल्टेन्सीको प्रभाव ठूलो छ। नेपाली बजार कन्सल्टेन्सीहरूद्वारा नै संचालित जस्तै छ। कुनै देशको भिसा नियम कडा भयो भने केही कन्सल्टेन्सीले आफ्नै फाइदाका लागि विद्यार्थीलाई अर्को मुलुक तर्फ धकेल्छन्। कन्सल्टेन्सीले आफूले वास्तवमा काम गर्ने देशमै परामर्श दिनुपर्छ। विद्यार्थीले पनि अनुसन्धान गरेर कुन देश र कन्सल्टेन्सी आफूलाई उपयुक्त हुन्छ भन्ने बुझ्नुपर्छ। यसरी मात्र उनीहरूले शिक्षा प्रणाली, भिसा प्रक्रिया र लागतबारे वास्तविक जानकारी पाउँछन्।
विदेशमा विद्यार्थीलाई के-कस्ता अवसर मिल्छन्?
विद्यार्थीले डिग्री सकेपछि धेरै अवसर पाउँछन्। पढ्दै गर्दा गर्ने काम प्राय साधारण हुन्छन्, त्यसैले पढाइमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ। राम्रोसँग सिक्ने विद्यार्थीले पछि आफ्नो सीपअनुसारको जागिर पाउँछन्। दीक्षान्त समारोह ठूलो खुसी हो तर अन्तिम उपलब्धि होइन। धेरै देशमा स्थायी बसाइ (PR) को अवसर पनि हुन्छ। आफूले पढेको विषयमै आधारित भएर पीआर पाउन सके अझ राम्रो हुन्छ।
विद्यार्थी र अभिभावकले कन्सल्टेन्सीबाट के कुरामा अपेक्षा गर्नुपर्छ?
विदेश जाने निर्णय गर्नु अघि विद्यार्थीले आफैंसँग सोध्नुपर्छके यो मेरो लागि सही निर्णय हो? अभिभावक पनि मानसिक र आर्थिक रूपमा तयार हुनुपर्छ। उनीहरू काउन्सेलिङ प्रक्रियामा सक्रिय रूपमा सहभागी हुनुपर्छ।कन्सल्टेन्सीले केवल एड्मिशन होइन, करियर काउन्सेलिङ दिनुपर्छ। धेरै कन्सल्टेन्सीले विदेश पुगेर हुने वास्तविकता, अवसर, र नेपाल फर्केर सीप प्रयोग गर्दा पाइन सक्ने सम्भावनाबारे बताउँदैनन्।
धेरैले यसलाई केवल व्यवसायको रूपमा हेरेका छन्। कन्सल्टेन्सीको परामर्शले नै विद्यार्थीको भविष्य निर्धारण गर्छ।कन्सल्टेन्सीले जागिर वा बसाइको व्यवस्था गरिदिन नसक्ला, तर आफ्नो नेटवर्क र पुराना विद्यार्थीमार्फत नयाँ विद्यार्थीलाई मार्गदर्शन गर्न सक्छ।
कन्सल्टेन्सी छनोट गर्दा विद्यार्थी र अभिभावकले के ध्यान दिनुपर्छ?
कन्सल्टेन्सीको नैतिकता विद्यार्थीले बुझ्नुपर्छ समग्रमा कन्सल्टेन्सीले गलत गरिरहेको छ वा छैन भन्ने कुरा सेवा लिने विद्यार्थीले नै बुझ्नुपर्छ।, तर अझ ठूलो जिम्मेवारी राज्यको हो। सरकारले यो क्षेत्र नियमित रूपले अनुगमन गर्नुपर्छ। कन्सल्टेन्सी मूल्यांकन, अनुगमन र पारदर्शिता सुनिश्चित गर्ने प्रणाली आवश्यक छ। शिक्षा मन्त्रालयसँग नियम छन्, तर लागू गर्नेतर्फ कमी छ। ग्रेडिङ, नवीकरण, अनुगमन र तालिममा प्राथमिकता नदिँदा समस्या बढ्दै गएको हो। सबै निकायले आफ्नो जिम्मेवारी इमानदार भएर पूरा गरे धेरै समस्या आफै समाधान हुन्छन्।