काठमाडौँ- विद्यालय भर्नाको समय सुरु हुँदैछ। अभिभावकहरू आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा दिन राम्रो स्कुलको खोजिमा हुनुहुन्छ। सहरी क्षेत्रमा विद्यार्थीहरू भिडभाड भन्दा टाढा-टाढा पनि पढ्न जाने गरेका छन्। सरकारले पनि शिक्षाको गुणस्तर सुधार गर्न भन्दै विभिन्न योजनाहरू अघि सारेको छ। यीनै परिवेशमा अभिभावकले विद्यालय छनोट गर्दा कस्तो विद्यालय छनोट गर्ने, कस्तो विद्यालल राम्रो विद्यालय, विद्यालय शिक्षाको संरचना, विद्यालय शिक्षाको वर्तमान अवस्था लगायतका विषयमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय विज्ञ विद्यालय सञ्चालक केएमसी स्कुलका संस्थापक डा.धुव्र भट्टराईसँग गरिएको कुराकानीको मुख्य अंश।
अहिलेको विद्यालय शिक्षाको अवस्थालाई यहाँले कसरी हेर्नुभएको छ ?
शिक्षाको मुख्य आधार भनेको विद्यार्थी हुन्। त्यसैले सुसंस्कृत सीपयुक्त शिक्षा नै अहिलेको आवश्यकता हो। विद्यार्थीबाटनै ज्ञानको समुचित बाटो निर्दिष्ट हुने भएकाले सबैभन्दा पहिले विद्यार्थीमा संस्कारको आवश्यकता देखिएको हो। जब हाम्रो संस्कृतिमा विद्यार्थी बाधिन्छन् तब मात्र एउटा विद्यार्थी अनुशासित र जिम्मेवार बन्न सक्दछ। मैले भविष्यका लागि के गर्नुपर्छ, भनी जव विद्यार्थीले सोच्न थाल्छ तब सुरु गरिएको पढाइले मात्र सकारात्मक परिवर्तन ल्याउन सक्छ।
उसको यहि क्षमतालेनै एउटा विद्यार्थी उत्पादन मुलुक क्षेत्रमा लाग्ने अवस्था आउँछ। त्यसैले सुसंस्कृत, अनुशासित, भविष्य प्रति सचेत विद्यार्थीले मात्र आफू र यो समाजलाई समेत सकारात्मक परिवर्तत ल्याउने भएकाले यस्तो परिवर्तन अर्थात् समयको माग अनुकुलको हुने गरि विद्यार्थी तयार गर्ने शिक्षा आजको आवश्यकता हो।
शिक्षालाई सीप सँग जोड्दै दक्ष जनशक्ति तयार पार्ने दिशामा नेपालको समग्र शिक्षा प्रणाली अघि बढ्न सकेको अवस्था छैन। तथापि पछिल्लो समय भइरहेका प्रयासहरु यस तर्फ उन्मुख भने देखिएका छन्।
विद्यार्थी र अभिभावकको मन जित्न विद्यालयले के गर्नुपर्छ?
सामान्यत एउटा विद्यालय बन्नको लागि ठूला भवन, कक्षाकोठा, शिक्षक र विद्यार्थी मात्रैले पुग्दैन। यिनिहरूको समुचित संयोजन भएमा मात्र विद्यालयको स्वरुप लिन सक्नेछ। माथि उल्लेख गरिएका साधन स्रोतहरु न्युनतम आवश्यकताहरु हुन्। यसको उपयोग कसरी भएको छ यो बढी महत्वपूर्ण देखिन्छ।
विद्यार्थीको क्षमता पहिचान गरि अध्ययन गराउन सक्नु शिक्षक र राम्रो विद्यालयको सबैभन्दा राम्रो गुण हो। त्योसँगै नतिजा पनि मुख्य सवाल देखिन्छ। राम्रो नतिजा ल्याउने विद्यालयहरुमा विद्यार्थी र अभिभावकको आर्कषण देखिनुलाई स्वभाविक मान्न सकिन्छ। भएका साधन र स्रोतहरुको समुचित प्रयोग आजको आवश्यकता हो। लाखौ पुस्तकसहितको ठूलो पुस्तकालय छ तर त्यहाँ पढ्न जाने विद्यार्थी छैन। सानो पुस्तकालय छ तर विद्यार्थीको संख्या धेरै भएमा यसको उपयोगिता बढि देखियो।
त्यसैले कक्षा कोठा, प्रयोगात्मक ल्याबहरु, पुस्कालय आदिको समुचित प्रयोग गर्दै विद्यार्थीहरुलाई समय परिस्थिती अनुसारको प्रतिस्पर्धी बनाउने खालको शिक्षा प्रदान गर्ने विद्यालयनै अभिभावक र विद्यार्थीहरुको रोजाइमा पर्ने भएकाले यस तर्फ अघि बढ्ने विद्यालयहरुलाईनै सफल र राम्रो विद्यालयका रुपमा लिन सकिन्छ।
नजिकैको विद्यालय भन्दा टाढाको विद्यालयमा विद्यार्थी पढाउने चलन छ, यो ठिक हो?
सामन्यतया घर नजिकै हुदाँ विद्यार्थीको समय वचत हुने हो। तर घर नजिकै आफूले खोजेको जस्तो विद्यालय नहुन पनि सक्छ। विगतमा राम्रो पढाइकै लागि भारतको दार्जिलिङसम्म पनि नेपाली विद्यार्थीहरु विद्यालय शिक्षाकै लागि जाने गरेका थिए। यसबाट गुणस्तरीय शिक्षाका लागि दुरी र भुगोलले छेक्न सक्दैन भन्ने देखिन्छ। अर्को तर्फ काठमाडाैँलाई विगतदेखि व्यस्थित शहरका रुपमा अघि नबढाउँदा विद्यालयहरु पनि छरिएर विभिन्न ठाँउमा रहेको अवस्थामा हामीले अभिभावक र विद्यार्थीले खोजैकै स्थानमा विद्यालय हुने सम्भावना पनि नरहेको अवस्था हो।
काठमाडौँ भित्र एक घण्टाको यातायातको दुरीमा सबै जसो विद्यालयमा पुग्न सक्ने अवस्था रहेकाले गुणस्तरीय शिक्षासँगै पठनपाठनका लागि उपयुक्त वातावरण, विद्यार्थीको स्वास्थ्य, विद्यार्थीमैत्री वातावरण आदि हेरेर विद्यार्थी तथा अभिभावकहरुले विद्यालय छनोट गर्न सक्ने अवस्था रहेको छ।
विद्यालय शिक्षा सुधारका लागि सरकारले चालेका कदमहरुलाई यहाँले कसरी लिनुभएको छ?
सरकारले कक्षा ५ सम्म परीक्षा नलिने सन्दर्भमा यो अभ्यास हँुदै आएको पनि छ। बालबालिकालाई पुस्तक नबोकाउने, परीक्षा नलिने जस्ता प्रावधानहरुको अभ्यास भैरहेकै हो। सबै ठाँउमा गराउन खोज्नु राम्रै प्रावधान हो। हामीले नियमितरुपमा विद्यार्थीहरुको मुल्यांकन गरिरहेका छाैँ।
अर्को जब सरकारी विद्यालयहरु गुणस्तरीय हुन्छन्,तब निजी विद्यालयहरुको सान्र्दभिकता आफै सकिने अवस्था हो।
अहिले जसरी निजी विद्यालयहरु प्रतिका दृष्टिकोण आएका छन्। यो ठीक ढंगबाट आएको देखिदैन। सामान्यतया शिक्षा राज्यकै दायित्वमा पर्दछ। तर, राज्यले शिक्षामा विद्यार्थी र अभिभावकले खोजेको जस्तो शिक्षा दिन नसक्दा अहिलेको खुल्ला बजारमा निजी तथा संस्थागत विद्यालयहरुको भूमिका त सार्दभिक छ। राज्यले अवलम्बन गरेका नीति नियमहरुको पालना गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु निजी विद्यालयको दायित्व पनि हो।