काठमाडौँ- नेपालमा हाल पाँचवटा विश्वविद्यालय अन्तर्गतका २८ वटा सरकारी, निजी र सामुदायिक कलेजहरूले कृषि विषयमा स्नातक तहको अध्ययन/अध्यापन गराउँदै आएका छन्। नेपाल सरकारको संघीय नीति अनुरूप हाल सातवटै प्रदेशमा कृषि क्याम्पसहरू स्थापना भएका छन्। केही वर्षयता विभिन्न विश्वविद्यालय अन्तर्गत धेरै वटा सरकारी, निजी र सम्बन्धन प्राप्त क्याम्पसहरूको स्थापना भएसँगै नेपालमा कृषि स्नातक तहको अध्ययन गर्ने विद्यार्थीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। नेपालमा कृषिको अध्ययनको अवस्था, अवसर र चुनौतीका सन्दर्भमा कृषिविज्ञ डा.विष्णु भट्टराईसँग गरिएको कुराकानीको मुख्य अंश :
नेपालमा कृषिको शिक्षाको अवस्था र अवसर कस्तो छ?
नेपालको शिक्षा प्रणालीलाई विभाजन गरेर हेर्दा प्राविधिक र अप्राविधिक गरि दुई भागमा हेर्न सकिन्छ। प्राविधिक अर्न्तगत मेडिकल साईन्स, ईन्जिनियरिङ, कृषि, वन लगायतका विषय र अप्रावधिक तर्फ धेरै विषयहरु रहेका छन्। प्राविधिक शिक्षा अध्ययनको मुख्य उद्देश्य भनेको छिटो रोजगार र अवसर प्राप्त होस् भन्ने रहेको छ। त्यसै अर्न्तगत कृषि अध्ययन गर्नेहरु पनि आर्कषित भएका हुन्।
अभिभावक र विद्यार्थीहरुको उद्देश्य र चासो भनेको अध्ययन सकेपछि रोजगारीको सुनिश्चतता होस् भन्ने अवस्थामा कृषि अध्ययनमा आर्कषण बढेको हो।
विशेष गरि मध्यमस्तरका विद्यार्थीहरुको आर्कषण यस क्षेत्रमा देखिएको पाइन्छ। बिगतमा हेर्ने हो भने सरकार, विकास साझेदार, गैरसरकारी संस्थाहरुले कृषि क्षेत्रमा लगानी र प्राथामिकता दिएको पाइन्छ। यसले कृषि क्षेत्रमा ठूलो अवसर सृजना गरेको थियो।
यसरी अवसरहरु सिर्जना हुँदा कृषि पढ्नेको संख्या बढ्दै गएको पाइन्छ। अभिभावक र विद्यार्थीहरुको उद्देश्य र चासो भनेको अध्ययन सकेपछि रोजगारीको सुनिश्चतता होस् भन्ने अवस्थामा कृषि अध्ययनमा आर्कषण बढेको हो।
अर्को तर्फ आज भन्दा १० वर्ष अघि हेर्ने हो भने पनि जम्मा ५/६ वटा क्याम्पसले मात्र कृषि पढाउने गर्थे, अहिले विद्यार्थीका लागि नेपलमै कृषि शिक्षा लिने अवसर धेरै छ।
अहिले ३० भन्दा बढि अध्ययन संस्थानहरुमा कृषि विषय अध्ययन हुँदै आएको छ।
कृषि कलेजमा विद्यार्थीको सिटसंख्या नै पुरा हुन नसकेको भन्ने सुनिन्छ नि ?
आवश्यकता भन्दा वढि कलेजलाई सम्बन्धन दिँदा कलेजहरुको कोटा खाली हुने अवस्था पनि आएको छ। सरकारले कृषि पेशालाई बलियो बानाउन यस तर्फ दक्ष जनशक्ती उत्पादनमा ध्यान दिनुपर्छ।
नेपाल कृषि प्रधान देश हो। नारा कृषि क्रान्तिको तर कृषि कलेज खाली हुने अवस्था छ। तर, नेपालमा कृषि क्षेत्रमा अवसर घटेको छैन, कृषि अध्ययन गर्नेको कुल संख्या हेर्दा घटेको अवस्था देखिदैन।
विद्यार्थीलाई यस विषय अध्ययन तर्फ आकर्षण गर्नुपर्छ। यति धेरै कलेज नेपालमा जरुरी छैन। कोटा नपुगेर कलेज खाली हुदाँ कृषि क्षेत्रमा अवसर घटेको जस्तो देखिएकोे छ। कृषिमा अवसर घटेको त होइन, तर सम्बन्धन धेरै कलेजहरुलाई दिँदा विद्यार्थीहरू कतै धेरै हुने त कतै कलेज खाली हुने अवस्था देखिएको छ।
नेपाल कृषि प्रधान देश हो। नारा कृषि क्रान्तिको तर कृषि कलेज खाली हुने अवस्था छ। तर, नेपालमा कृषि क्षेत्रमा अवसर घटेको छैन, कृषि अध्ययन गर्नेको कुल संख्या हेर्दा घटेको अवस्था देखिदैन।
कलेज खाली हुनुमा एउटा कारण नेपालमा बसाँई सराईको प्रवृत्ति पनि हो। नेपालमा ४ वर्ष पढ्न भन्दा वाहिर गएर सेटल हुन्छु भन्ने प्रवृति रहेको छ। तर, कृषिमा अहिले पनि अवसर घटेको छैन। नेपालका सबै स्थानीयतहमा एक – एक वटा बिएससीएजी र भेटेरनरी साइन्स पढेका जनशक्ती प्रदेश लोकसेवाबाट पदपूर्ति गर्ने भन्ने व्यवस्था रहेको छ। संघीय स्तरमा प्रत्येक वर्ष लोक सेवाले पदपूर्ति गर्दै पनि आएको छ। विभिन्न निकायहरुमा पनि कृषिका जनशक्तीको माग छ।
नेपालमा बिएससी एजी पढेर विदेश जाने प्रवृति देखिएको छ, किन होला?
कृषिमा डिप्लोमा र ब्याचलर गरिसकेपछि ठूलो संख्यामा विद्यार्थी थप अध्ययनका लागि विदेश जाने गरेका छन्। नेपालमा २० लाख भन्दा बढी खर्च गरेर अध्ययन सकेपछि प्रतिफल दिने बेलामा विद्यार्थी विदेशिने गरेको तितो यथार्थ छ।
यसलाई रोक्न सरकारले नयाँ नीति ल्याउन आवश्यक छ। सबै भन्दा ठूलो लगानी गरेर फल खाने वेलामा दक्ष जनशक्ती बाहिर जाने र अन्य मुलुकले उपयोग गर्ने अवस्था आएको छ। यसले देशमा कृषिमा दक्ष जनशक्तिको अभाव हुने देखिन्छ।
नेपालबाट पूर्ण छात्रवृत्तिमा जानेको संख्या पनि धेरै छ। जापान, यूरोप, अमेरिका, अष्टे्रलिया, क्यानडा, कोरियाजस्ता मुलुकमा मास्टर र पिएचडी अध्ययनका लागि जाने गरेका छन्। तर, फर्कनेको संख्या १० प्रतिशत पनि देखिदैन।
नेपालमा आईसकेपछि सहजरुपमा काम पाइन्छ कि पाइदैन, काम पाउँदा यसले आफू र परिवार पाल्न सक्ने अवस्था बन्छ कि बन्दैन भन्ने अन्योलकाबीच विद्यार्थी अध्ययन पश्चात पलायन हुने जोखिम रहन्छ।
परम्परागत खेतिले उत्पादन बढ्दैन। उत्पादन बढाउन कृषि पढेका दक्ष जनशक्ति नै चाहिने हो। हामी दक्ष हुने गरि पढाइदिन्छाैँ।
कृषि विषय अध्ययन गर्न लाग्ने लागत खर्च र छात्रावृत्तिको व्यवस्था के–कस्तो छ?
कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई नेपाल सरकारले छात्रावृत्ति उपलब्ध नगराउनु बिडम्बनाको विषय हो। हामीले त १० प्रतिशत सरकारले र कलेजहरुले १० प्रतिशत गरि २० प्रतिशत विद्यार्थीलाई छात्रावृत्ति दिनुपर्छ भनेर प्रस्ताव गरेका हौँ।
बिएससी एजीका लागि अहिले प्रवेश परीक्षा पास गरेर भर्ना भएकाहरू माध्यबाट १० प्रतिशत विद्यार्थीलाई कलेजहरुले छात्रावृत्ति दिँदै आएका छन्। यसमा आरक्षण र मेरिट कोटा समेत पर्दछ। यो सबै निजी कृषि कलेजहरुले अवलम्वन गरेको नीति हो।
कलेजहरुले दिँदै आएको छात्रावृत्तिमा अर्को १० प्रतिशत सरकारले थपिदिएमा २० प्रतिशतले निशुल्क कृषि अध्ययन गर्ने अवसर प्राप्त गर्ने थिए। प्राविधिक शिक्षा त्यसमा पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले कृषि शिक्षामा सरकार आफैले पनि अग्रसरता लिनु पर्ने देखिन्छ। एउटा विद्यार्थी जसले आफै खर्च गरेर पढाई सक्छ, त्यसपछि लगानी उठाउन विदेशिन परिरहेको अवस्था छ। यसबाट सवैभन्दा घाटा राज्यले लिनुपरिरहेको छ।
अध्ययन खर्चको हिसाव गर्ने हो भने हाल बिएससी एजी तर्फ ८ देखि १० लाख रुपैयाँसम्म शूल्क मात्र लाग्ने गरेको छ। त्यस्तै भेटेरनरी तर्फ २० देखि २२ लाख रुपैयाँसम्म शूल्क रहेको अवस्था छ। यसमा सरकारले सहुलियत वा छात्रवृत्ति दिएमा विद्यार्थीले सस्तोमा पढ्न पाउने अवस्था आउने थियो।
कृषि अध्ययन पछि अवसरका कुन – कुन क्षेत्रहरु रहेका छन्?
अहिलेको सन्दर्भमा कृषि विषय अध्ययन पश्चात सवैभन्दा ठूलो अवसर भनेको सरकारी सेवामा नै हो। सरकारी सेवा अर्न्तगत संघीय, प्रदेश र स्थानीय तहहरुले कृषि र भेटेरनरी अर्न्तगतका जनशक्तिहरुको माग गरिनै रहेका हुन्छन्। योसँगै नेपालमा रहेका विभिन्न अन्तराष्ट्रिय संगठनहरू, गैरसरकारी संस्था, बैकिङ, औद्योगिकलगायत निजी क्षेत्रहरूमा कृषि प्राविधिकहरूको माग आउने गरेको छ।
सबैभन्दा राम्रो पक्षमा कृषि अध्ययन पश्चात आफै केहि गर्ने चाहना राख्नेहरूका लागि पनि राम्रो अवस्था रहेको छ। आफ्नो व्यवसाय आँफै गर्ने अवस्था आउँछ। नेपालमा जागिरे प्रवृत्ति रहिआएको छ। हाम्रो मनासिकतानै अरुकोमा काम गर्ने भन्ने छ।
आँफै लगानी गरि आफ्नो व्यवसाय गर्ने खालको अभिप्रेरणा जगाउने र यसप्रति आर्कषण बढाउन सकिएको छैन। नेपाल सरकारले प्रमाणपत्र राखेर लोन वा सहुलियत दिने नीति अघि बढाएमा यो सम्भावना पनि देखिन्छ।
कृषि अध्ययन गरेकाहरूलाई नेपालमा टिकाउनका लागि के गर्नुपर्ला?
कलेज र विश्वविद्यालयले मागका आधारमा जनशक्ति उत्पादन गर्ने हो। तर, माग अनुसार भन्दा पनि एउटा कोर्स बनायो त्यसै अनुसार पढाउने परिपाटी रहिआएको छ।
सरकार, कलेज तथा विश्वविद्यालय र मागबीचको सहकार्य मार्फतनै अहिले देखिएका समस्यामा समाधान गर्न खोज्न सकिने अवस्था आँउछ।कृषिमा बिएससी, एमएससी अध्ययन गरेकाहरूलाई नेपालमै टिकाउनकालागि सरकारी तबरबाट हुने पदपूर्ति नियमित गरिनु आवश्यक छ।
अर्को बैंकिङ क्षेत्रले कृषि क्षेत्रमा १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यस्था भएपनि वित्तिय संंस्थाहरुले कृषि जनशक्ति अनिवार्य राख्नुपर्छ। त्यस्तै कृषिलाई उद्योगसँग जोडनसके धेरै जनशक्ती त्यसतर्फ खपत हुने देखिन्छ।