काठमाडाैँ - चिसो बढेसँगै दिल्ली र नोएडाको आकाश विषाक्त धुवाँले ढाकिएको छ। यस प्रतिकूल परिस्थितिमा सबै विद्यालयहरू बन्द गर्नुकाे साथै विद्यालय प्रमुखलाई अनलाइन माध्यमबाट कक्षा सञ्चालन सुनिश्चित गर्न निर्देशन दिइएको छ। कक्षा-५ देखि ९ र ११ सम्मका विद्यार्थीका निम्ति ‘हाइब्रिड मोड’मा कक्षा सञ्चालन गरिने भएकाे छ।
वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि पुगेपछि ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी)को सबैभन्दा कडा चरण ४ लागु गरिएको छ। भारतको राजधानीको औसत एक्यूआई ४९३ पुगेपछि वायु गुणस्तर व्यवस्थापन आयोगले यही डिसेम्बर १४ मा यो कदम चालेको हो।
कार्यालयमा ‘वर्क फ्रम होम’ लागु गरिएको छ। ग्रेडेड रेस्पोन्स एक्सन प्लान ४ अन्तर्गत विभिन्न कडा प्रतिबन्ध लगाइएको छ। धेरै प्रतिबन्ध लागु गरिँदा समेत दिल्ली-एनसीआरको हावा प्रदूषित नै छ। प्रदूषणका कारण लगातार तेस्रो दिन पनि भारतको राजधानी ग्यास चेम्बरजस्तै बनेको छ। सोमबार दिल्लीका ११ स्थानमा प्रदूषणको स्तर ‘सिभियर प्लस’ (अत्यन्त गम्भीर) श्रेणीमा रह्यो। त्यहाँ एक्यूआई ४५० भन्दा माथि मापन गरिएको थियो।
ग्रेडेड रेस्पोन्स एक्सन प्लान ४ अन्तर्गत निर्माण र भत्काउने कार्यमा सबैभन्दा कडा प्रतिबन्ध लागु गरिएको छ। सबै प्रकारका निर्माण, भत्काउने, माटोको काम, खन्ने, पाइलिङ तथा स्ट्रक्चरल कार्य पूर्ण रूपमा बन्द गरिएको छ। मेट्रो, रेलवे, एयरपोर्ट र राजमार्गजस्ता सार्वजनिक पूर्वाधारसम्बन्धी आपत्कालीन कामबाहेक अरू सबै कार्यमा रोक लगाइएको छ।
यस्तै, स्टोन क्रसर, इँटाभट्टा, हट मिक्स प्लान्ट र खानी बन्द गरिएको छ। कोइला, फर्नेस तेल वा अरू अप्रमाणित इन्धनबाट चल्ने कारखाना पनि पूर्ण रूपमा ठप्प पारिएको छ।खुला रूपमा फोहोर वा बायोमास जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ। डिजेल जेनेरेटर सेटको प्रयोग अस्पताल, डेटा केन्द्र र दूरसञ्चारजस्ता आपत्कालीन सेवामा मात्र सीमित गरिएको छ। धुलो वा उत्सर्जन बढाउने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ।
सवारीसाधनमा पनि कडा प्रतिबन्ध लागु गरिएको छ। दिल्ली र एनसीआरका जिल्लाहरू - गुरुग्राम, फरिदाबाद, गाजियाबाद, नोएडा र ग्रेटर नोएडामा पेट्रोल र डिजेल चारपांग्रे सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ। अन्तरराज्य डिजेल बसहरूलाई दिल्ली प्रवेशमा रोक लगाइएको छ। इलेक्ट्रिक र सीएनजी बसहरूलाई भने अनुमति दिइएको छ।अत्यावश्यक वस्तु -दूध, तरकारी र फलफूल बोक्ने सवारीसाधनबाहेक अरू ट्रकको प्रवेशमा पनि कडाइ गरिएको छ। पुराना डिजेल माध्यम मालवाहक गाडीहरू दिल्लीमा प्रतिबन्धित छन्।
केही क्षेत्र भने खुला राखिएको छ। अस्पताल, दमकल सेवा, पावरप्लान्ट, पानी सरसफाइ, विपद् व्यवस्थापन र वायु प्रदूषण नियन्त्रण टोलीजस्ता सबै जरुरी सेवालाई छुट दिइएको छ। मेट्रो, डीटीसी बसहरूलगायत सार्वजनिक यातायात सञ्चालनमा रहनेछन्। अतिरिक्त सीएनजी तथा इलेक्ट्रिक बसहरू थपिने र मेट्रोको फ्रिक्वेन्सी बढाइनेछ। स्वच्छ इन्धन प्रयोग गर्ने उद्योग खुला रहनेछन्। बैँक तथा वित्तीय संस्था, बजार र पसलहरू पनि सामान्य रूपमा खुला रहनेछन्।
प्रदूषणका कारण विद्यालयमा पनि कडा प्रतिबन्ध लागु गरिएको छ। दिल्लीमा शिक्षा विभागले नर्सरीदेखि कक्षा-५ सम्मका विद्यार्थीका निम्ति विद्यालय बन्द गर्ने आदेश दिएको छ। भौतिक रूपमा सञ्चालन हुने कक्षा अर्को सूचना नगरिँदासम्म बन्द रहनेछन्।
सबै विद्यालय प्रमुखलाई अनलाइन माध्यमबाट कक्षा सञ्चालन सुनिश्चित गर्न निर्देशन दिइएको छ। कक्षा-५ देखि ९ र ११ सम्मका विद्यार्थीका निम्ति ‘हाइब्रिड मोड’मा कक्षा सञ्चालन गरिनेछ।दिल्लीबाहेक नोएडा र गाजियाबादका जिल्ला मजिस्ट्रेटले पनि कक्षा-५ सम्मका विद्यालय बन्द गर्ने आदेश जारी गरेका छन्। कक्षाहरू अनलाइन सञ्चालन गर्न निर्देशन दिएका छन्। नोएडामा कक्षा-६ देखि १२ सम्मका कक्षा हाइब्रिड मोडमा सञ्चालन गरिनेछ।
दिल्ली सरकारले सरकारी र निजी दुवै क्षेत्रका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिएको छ। सरकारी कार्यालयमा आधा कर्मचारी मात्र भौतिक रूपमा उपस्थित हुनेछन्। निजी कार्यालयमा पनि अधिकतम ५० प्रतिशत कर्मचारीलाई मात्र कार्यालय आउन अनुमति दिइएको छ।ट्राफिक जाम कम गर्न ‘स्ट्यागर्ड टाइमिङ’ अपनाउन भनिएको छ। केन्द्रीय सरकारका कार्यालयमा पनि ५० प्रतिशत वर्क फ्रम होम नियम लागु गरिएको छ।
प्रदूषणसँगै बाक्लो कुहिरोले भिजिबिलिटी घटाएको छ। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सञ्चालन प्रभावित भएको छ। बाक्लो कुहिरो र प्रदूषणको धुवाँका कारण केही रेल पनि ढिलो चलिरहेका छन्।