काठमाडाैँ - पछिल्लो समय इन्फरमेसन टेक्नोलोजी (आईटी) शिक्षा नेपालमा मात्र नभइ विश्वभर नै लोकप्रिय बन्दै गएको छ। सूचना प्रविधिको विकाससँगै यस विषय अध्ययन गर्ने विद्यार्थीको संख्या पनि बढ्दो नै छ। आईटी व्यावहारिक र प्राविधिक विषय हो। विश्वको जुनसुकै ठाउँमा पनि कम्प्युटर प्रोग्रामर, वेब डेभलपर, डाटा एनालिस्ट, आईटी अफिसर तर्फ ठूलो जनशक्ति खपत भइरहेको छ।
नेपालमा पनि विश्वविद्यालयले स्नातक तहमा सूचना प्रविधि शिक्षा तर्फ ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी), ब्याचलर इन कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजी (बिएससी सिएसआइटी), ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम (बीसीआईएस), ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) लगायतका विषयलाई विशेष प्राथमिकतामा राख्न थालेका छन्। नेपालमा स्नातक तहमा आईटी तर्फ ६-६ महिनाका ८ वटा सेमेस्टरमा चार वर्षीय कोर्स अध्यापन हुन्छ।

हाल नेपालमा सञ्चालन रहेका १३ वटा विश्वविद्यालय मध्ये त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदुर पश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, राजश्री जनक विश्वविद्यालय र यी बाट सम्बन्धन प्राप्त कलेजमा आईटी विषय अध्यापन हुन्छ। यसका अलावा पछिल्लो समय विद्यार्थीले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजमा पनि आईटी तर्फका विषय अध्ययन गर्ने गरेका छन्। विदेशी विश्वविद्यालयहरूको सम्बन्धन लिएर नेपालमा ४० वटा भन्दा बढी कलेजले ७० वटा आईटीका कार्यक्रममा विद्यार्थी भर्ना लिइरहेका छन्। ती कलेजमा आईटी विषय पढ्ने विद्यार्थीको संख्या २० हजार भन्दा बढी रहेको छ।
- ब्याचलर्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी (बीएससी-सीएसआईटी )
बीएससी–सीएसआईटी कम्प्युटर विज्ञान र सूचना प्रविधि विज्ञानको मिश्रण कोर्स हो। कम्प्युटर सफ्टवेयर प्रणालीको आवश्यक ज्ञान र हार्डवेयर प्रणालीको कार्यात्मक ज्ञानका लागि यो कोर्स आवश्यक पर्छ। अपरेटिङ सिस्टम, कम्प्युटर सञ्जाल, सफ्टवेयर इन्जिनियरिङ, र मोडलिङ डेटाबेस प्रणाली, कम्प्युटर ग्राफिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, वेब टेक्नोलोजी जस्ता उच्च प्रविधि प्रयोगको लागि यस तर्फका जनशक्ती आवश्यक पर्छन्।
त्रिभुवन विश्वविद्यालयबाट अनुमति प्राप्त बीएससी-सीएसआईटी ८ सेमेस्टर प्रणालीमा अध्यापन हुने कोर्समा विद्यार्थीले कुल ४० वटा विषय पढ्नुपर्छ। जसमा पहिलो दुई वर्षमा हरेक सेमेस्टरमा ५ का दरले कुल २० वटा विषय पढ्नुपर्छ र पाँचौँ सेमेस्टरबाट विद्यार्थीले हरेक सेमेस्टरमा आफूलाई मनपर्ने विषय छनोट गर्न पाउँछन्।बीएससी-सीएसआईटी ६० प्रतिशत कम्प्युटर साइन्स र ४० प्रतिशत आईटीसँग सम्बन्धित कोर्स हो। जसले गर्दा विद्यार्थीले यस विषय पढिसकेपछि आफ्नो इच्छाअनुसार अगाडि पढ्ने मौका पाउँछन्। नेपालमा डिजिटल प्रविधिको तीव्र विकास र कम्प्युटर विज्ञानको बढ्दो मागले गर्दा बीएससी–सीएसआईटी विद्यार्थीहरूका लागि अत्यन्तै आकर्षक र भविष्यप्रदर्शक कोर्स बनेको छ।
पढाइ हुने विश्वविद्यालय ?
बीएससी-सीएसआईटी विषय वि.सं. २०६४ बाट त्रिभुवन विश्वविद्यालयले सञ्चालनमा ल्याएको हो। यो कोर्ष हाल नेपालमा त्रिवि अन्र्तगत ५७ कलेजमा सञ्चालनमा छ। यस कोर्षले विद्यार्थीहरूलाई कम्प्युटर विज्ञान, सफ्टवेयर इन्जिनियरिङ, नेटवर्किङ, डेटाबेस व्यवस्थापन, वेब प्रविधि, र सूचना सुरक्षा जस्ता क्षेत्रहरूको सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्छ।
लागत खर्च
बीएससी-सीएसआईटी विषय अध्ययनको लागि त्रिवि अन्र्तगतको सरकारी कलेजमा ४ वर्ष (आठ सेमेस्टर) को ३ देखि ४ लाखसम्म र निजी कलेजहरूमा ७ देखी १२ लाख सम्म खर्च हुन्छ। जुन शुल्कमा भर्ना शुल्क देखी सेमेस्टर शुल्क, प्रयोगशाला शुल्क, परीक्षा शुल्क, प्रोजेक्ट र इन्टरनेट शुल्क सहितको सम्पूर्ण खर्च समेटिएको हुन्छ।
आवश्यक योग्यता
यो विषय अध्ययनको लागि त्रिविद्धारा मान्यता प्राप्त शैक्षिक संस्थाबाट विद्यार्थीले कक्षा १२ मा अनिवार्य रूपमा विज्ञान विषय लिएर पढेको वा इन्जिनियरिङमा डिप्लोमा गरेको हुनुपर्ने र न्युनतम सी ग्रेड ल्याएको हुनुपर्छ। साथै विद्यार्थीले त्रिविले लिने प्रवेश परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याई उत्तीर्ण गरेको हुनुपर्दछ।
- ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी)

बीआईटी नेपालमा धेरै विश्वविद्यालयले भिन्न–भिन्न ढंगले सञ्चालन गरिरहेको कोर्स हो। यो ४ वर्ष (आठ सेमेस्टर) को कोर्स हो। बीआईटी कोर्सले विद्यार्थीलाई कम्प्युटर, सफ्टवेयर, नेटवर्किङ, डेटाबेस, र सूचना प्रणालीका क्षेत्रमा दक्ष बनाउँछ।यो कोर्समा तथ्यांकको विश्लेषण, डिजाइन, सफ्टवेयर डेभलपमेन्ट, कम्प्युटर नेटवर्किङ तथा डेटा इन्फर्मेसन, वेबसाइट निर्माण, एप्लिकेसन निर्माण लगायतका विषयहरुको अध्यापन हुन्छ। यो विषय अध्ययन गरिसकेपछि विद्यार्थीले जागिर मात्रै नभएर आफ्नो ढंगले पनि विभिन्न प्रकारका प्रोजेक्टहरूको सञ्चालन गर्न सक्षम हुन्छन्।
बीआईटी कोर्सले विद्यार्थीहरूलाई आधुनिक प्रविधिको ज्ञान मात्र नभई व्यावहारिक सीप र समस्या समाधान गर्ने क्षमता पनि प्रदान गर्छ। त्यसैले, सूचना प्रविधिको क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीका लागि बीआईटी नेपालमा अध्ययन गर्न योग्य, आकर्षक र भविष्यमुखी विषय हो। नेपालमा पूर्वाञ्चल विश्वविद्यालयबाट सुरु भएको बीआइटी कोर्स त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र अन्य विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुमा पढाइ हुन्छ। तीमध्ये त्रिभुवन विश्वविद्यालयको बीआईटी कार्यक्रम सबैभन्दा बढी चर्चित र लोकप्रिय मानिन्छ।
लागत खर्च
बीआइटी अध्ययनको लागि चार वर्षमा सरकारी कलेजमा ३ देखि ६ लाख, निजी कलेजमा ४ देखि ८ लाख र विदेशी विश्वविद्यालयसँग सम्बन्धित कलेजमा १० देखी १५ लाख रूपैयाँसम्म शुल्क लाग्छ। बीआईटी अध्ययनको लागि कलेज र विश्वविद्यालयले फरकफरक शुल्क निर्धारण गरेको हुन्छ।
आवश्यक योग्यता
बीआईटीमा भर्ना हुन विद्यार्थीले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन वा मानविकि संकायबाट पढेको हुनुपर्छ। यो विषय अध्ययन गर्न कक्षा १२ मा डी प्लस वा १ Þ८ जीपीए प्राप्त गरेको हुनुपर्छ। साथै बीआइटी अध्ययनको लागि विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्दछ।
- ब्याचलर इन कम्प्युटर एन्ड इन्फरमेसन सिस्टम (बीसीआईएस)
बीसीआईएस स्नातक तहमा पोखरा विश्वविद्यालयले तयार गरेको ४ वर्षे कोर्स हो। आईटी र म्यानेजमेन्टका विषयहरु मिश्रण गरेर तयार पारिएको यो कोर्समा विद्यार्थीको आकर्षण बढ्दो छ। बीसीआईएसको कोर्षमा विद्यार्थीले व्यवस्थापन अन्तर्गत पर्ने सबै विषय र आइटी अन्तर्गत पर्ने कार्यक्रम, प्रविधि, डेटाबेस, एप्लिकेसन, सफ्टवेयर लगायतका विषयहरु अध्ययन गर्नुपर्दछ। यो कोर्स अध्ययन पश्चात् विद्यार्थीले आइटी वा म्यानेजमेन्ट दुबैतर्फको रोजगार र अवसर छनोट गर्न सक्छन्।
लागत खर्च
बीसीआईएस अध्ययनको लागि पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजहरूमा चार वर्षको ५ देखि १० लाख रूपैयाँसम्म शुल्क लाग्छ। यो कोर्स अध्ययनको लागि कलेज र विश्वविद्यालयले फरकफरक शुल्क निर्धारण गरेको हुन्छ। यस विषयमा खर्च अनुसारको करियर अवसर पनि सशक्त भएकाले पढ्ने विद्यार्थीको संख्या हरेक वर्ष बढ्दै गएको छ।
आवश्यक योग्यता
बीसीआईएस अध्ययनका लागि विद्यार्थीले कक्षा १२ मा विज्ञान, व्यवस्थापन वा मानविकि विषय अध्ययन गरेको र न्युनतम सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्दछ।
- ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए)
बीसीए आईटी सम्बन्धी कोर्स भएकोले कम्प्युटर एप्लिकेसन डिजाइन गर्न सिकाइन्छ। कम्प्युटर(हार्डवेयर)लाई सरल र सहज रूपमा सञ्चालन गर्न आवश्यक पर्ने हुदाँ बीसीएमा विद्यार्थीलाई एप्लिकेसन निर्माण गर्न सिकाइन्छ। बीसीए त्रिभुवन विश्वविद्यालय अन्तर्गत अध्यापन हुने चार वर्षे ८ सेमेस्टरको कोर्स हो। बीसीए अध्ययन पश्चात् विद्यार्थीहरुले सरकारी र गैरसरकारी आईटी उद्योग, एप्लिकेसन डेप्लपमेन्ट सेन्टर, मोबाइल एप्लिकेसन, ईकमर्स, आईटी रिसर्च, वेब डिजाइन, बैँक, टेलिकम लगायतका सूचना प्रविधि तर्फका जनशक्ति आवश्यक पर्ने जुनसुकै संस्थामा पनि रोजगारीको अवसर प्राप्त गर्न सक्छन्।
बीसीए कोर्सले विद्यार्थीलाई आधुनिक प्रविधिसँग अपडेट रहन, नयाँ सफ्टवेयर विकास गर्न र आईटी उद्योगमा सफल करियर बनाउन सक्षम बनाउँछ। नेपालमा बीसीए कोर्ष त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायतका विदेशी विश्वविद्यालयसँग सम्बन्धित कलेजले सञ्चालन गर्दै आएका छन्। बीसीए कार्यक्रम हाल देशभर १ सय २४ वटा कलेजले सञ्चालन गरिरहेका छन्।
लागत खर्च
कलेजले दिने छुटको आधारमा शुल्क फरक भएता पनि यो कोर्स पूरा गर्न चारवर्षमा सरकारी कलेजमा २ देखी ३ लाख, निजी कलेजहरुमा ४ देखि ८ लाख र विदेशी विश्वविद्यालयसँग सम्बन्धित कलेजमा ८ देखी १५ लाख रुपैयाँसम्म शूल्क लाग्छ।
आवश्यक योग्यता
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीसीए कार्यक्रम अध्ययनको लागि कक्षा १२ मा २.० जीपीए वा दोस्रो श्रेणीमा उत्तीर्ण भएको र हरेक विषयमा ‘डी प्लस’ ग्रेड र विश्वविद्यलायले लिने प्रवेश परीक्षामा ४० प्रतिशत अंक ल्याएको हुनुपर्छ।