काठमाडाैँ - गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनको नेतृत्वकर्ताहरू मध्येमा पर्ने विद्यार्थी नेता शरिफ उस्मान हादीको मृत्यु पछि राजधानी ढाकासहित कैयौं क्षेत्रमा हिंसा भड्किएको छ। गोली प्रहारबाट गम्भीर घाइते भएका शरिफको सिंगापुरमा उपचारका क्रममा मृत्यु भएपछि राजधानी ढाकाका धानमन्डी, शाहबाग सहित कैयौं स्थानमा बिहीबार विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटना भएका छन्।
प्रदर्शनकारीले बिहीबार रातभर ढाकाका कैयौं स्थानमा आक्रमण गरेका छन्। बंगलादेशका दुई प्रमुख अखबारका कार्यालयहरू पनि आक्रमणकारीको निसानामा परेको बीबीसीले जनाएको छ।
बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले बिहीबार राति ११:२० बजे राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकलाई धैर्य धारण गर्न अपिल गरेका छन्। उनले कुनै पनि प्रकारका ‘प्रचार र अफवाह’मा ध्यान नदिन र हतारमा निर्णय नलिन आग्रह गरेका छन्।बीबीसीका अनुसार मोहम्मद युनुसले शनिबार राजकीय शोकको पनि घोषणा गरेका छन्। उता, इन्कलाब मञ्चले सामाजिक सञ्जाल फेसबुकमा शरिफ उस्मान हादीका आफन्तले शुक्रबार शव बंगलादेश ल्याउन लागेको जनाएको छ।
गत शुक्रबार शरिफलाई ढाकाको एक मस्जिदबाट बाहिरिने क्रममा गोली हानिएको थियो। टाउकोमा गोली लागेका कारण उनी गम्भीर रूपले घाइते भएका थिए। शरिफलाई १५ डिसेम्बरमा थप उपचारका लागि सिंगापुर लगिएको थियो। सिंगापुरमा बिहीबार उपचारका क्रममा उनको मृत्यु भएको थियो।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का कार्यवाहक अध्यक्ष तारिक रहमान, जमात-ए-इस्लामी र एनसीपी (नेशनल सिटिजन्स पार्टी) समेत विभिन्न पार्टीहरूका नेताहरूले हरिफको निधनप्रति शोक व्यक्त गरेका छन्।शरिफको मृत्युको खबर फैलिएसँगै प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। प्रदर्शनकारीले ढाकामा प्रोथोम आलो र डेली स्टार अखबार, धानमन्डी ३२ स्थित शेख मुजीबको घर र छायानाट संस्कृति भवनमा आक्रमण गरेर तोडफोड र भवनमा आगो लगाएको बीबीसी समाचारमा जनाइएको छ।
आगजनीको समयमा कैयौं पत्रकारहरू दुवै सञ्चारमाध्यमका भवनभित्र फसेका थिए। पछि सेना, प्रहरीले आक्रमणकारीलाई तितरवितर गराएको थियो। दमकलको सहायतमा भवनमा लागेको आगो नियन्त्रणमा लिएर भवनमा फसेका पत्रकारलाई सुरक्षित बाहिर निकालिएको थियो। आगजनीपछि शुक्रबार दुवै पत्रिकाको शुक्रबारको अंक बजारमा आएको छैन। दुवै सञ्चारमाध्यमका अनलाइन सेवाहरू पनि लगभग ठप्प रहेको बीबीसीले जनाएको छ।
उनी गत वर्ष अगस्तमा पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध शुरू भएको विद्यार्थी आन्दोलनका प्रमुख अनुहारमध्ये एक थिए। शरिफ हादी उस्मान शेख हसिनाविरोधी इन्कलाब मञ्चका सदस्य थिए। आगामी फेब्रुअरीमा हुने भनिएको निर्वाचनका लागि सम्भावित उम्मेदवार मानिएका थिए। आक्रमणअघि उनी ढाका-८ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रचार गर्दै आएका थिए।
इन्कलाब मञ्च गत वर्षको जुलाईमा भएको विद्यार्थी आन्दोलनका क्रममा चर्चामा आएको थियो। यो समूहमाथि कट्टरपन्थी संगठन र अवामी लिगलाई कमजोर बनाउने प्रयासमा अघि बढेको आरोप लागेको थियो। विद्यार्थी आन्दोलनमा भूमिका निर्वाह गरे पनि युनुस सरकारले यो संगठन भंग गरिदिएका थिए। संगठनमाथि राष्ट्रिय निर्वाचन लड्न पनि रोक लगाएका थिए।