काठमाडौँ - टेकस्किल्स इन्स्टिच्युट अस्ट्रेलिया र नेपाल ट्युबको सहकार्यमाआयोजना गरिएको 'आईटी छात्रवृत्ति कार्यक्रम नेपाल, २०२५' सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अन्तिम चरणबाट उत्कृष्ट प्रदर्शन गरेका आठ विद्यार्थी छात्रवृत्तिका निम्ति छानिएका छन्।
यो अस्ट्रेलियाको रोजगारीमैत्री तालिम कार्यक्रमका रूपमा परिचित छ। जेहेनदार, मिहिनेती, प्रतिबद्ध एवं आर्थिक सहयोगको आवश्यकता भएका सूचना प्रविधि (आईटी) विषयका विद्यार्थी तथा स्नातकलाई प्रविधि क्षेत्रमा अवसर प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा देशभरबाट उत्साहजनक सहभागिता थियो।
दुई चरणको प्रतिस्पर्धापछि सोफिया तामाङ, विवेक अधिकारी, प्रार्थना मिश्र, पुष्पा सुक्ला, रशम शाही, शिशम श्रेष्ठ, सोनिका रिजाल र सुरेश शाही शीर्ष आठमा छनोट भई आईटी छात्रवृत्ति कार्यक्रम, २०२५ का विजेता बनेका हुन्।
छानिएका आठ विद्यार्थीले अब टेकस्किल्स इन्स्टिच्युट अस्ट्रेलियाको अस्ट्रेलियन मापदण्डअनुसारको १६ हप्ते रोजगारीमैत्री तालिम प्राप्त गर्नेछन्। उक्त तालिममा व्यावहारिक अभ्यास, विज्ञ मार्गदर्शन, वास्तविक उद्योगसम्बन्धी परियोजना, रोजगारीका निम्ति आवश्यक तयारी सहयोग समावेश रहनेछ।
साथै, कार्यक्रम अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई विद्यार्थीले अस्ट्रेलियन मापदण्डअनुसारको सूचना प्रविधि रोजगारीका निम्ति विशेष सहयोग समेत प्राप्त गर्ने आयोजकले जनाएको छ।