काठमाडाैँ - एक समय थियो, बजारमा ब्लाकबेरी ब्राण्डका मोबाइल फोनलाई उच्चस्तरीय अर्थात् बिजनेस क्लासका फोन मानिन्थ्यो। कम्पनीका एकपछि अर्को मोडेलका फोनले बजारमा तहल्का मच्चाइरहेका थिए। आम मानिसहरूको चाहना तथा सपना नै हुन्थ्यो कि भविष्यमा कुनैदिन ब्लाकबेरीको फोन किनेर चलाउन पाइयोस्। तर मोबाइल फोन बजारमा एन्ड्रोइड र आइफोन जस्ता स्मार्टफोनको आगमनसँगै ब्लाकबेरीले आफ्नो अस्तित्व रक्षा गर्न सकेन।
अन्ततः बजारबाट लोप भएर गयो। एकपटक फेरि त्यही क्लासिक ब्लाकबेरी जस्तै एउटा स्मार्टफोन सार्वजनिक भएको छ। बेलायतको एउटा कम्पनीले कम्युनिकेटर नामक हाइब्रिड स्मार्टफोन बजारमा ल्याएको छ, जसको डिजाइन ब्लाकबेरीजस्तै छ भने फिचरहरू आइफोन जत्तिकै गज्जब छन्। स्मार्टफोन हार्डवेयर तथा किबोर्डको खोल लगायतका विभिन्न सामानहरू उत्पादन गर्ने बेलायती कम्पनी क्लिक्सले आफ्नो पहिलो स्मार्टफोन लञ्च गरेको हो। क्लिक्स कम्पनीको उक्त स्मार्टफोन किबोर्ड भएको फोन हो। कुनै समय यस्तो डिजाइनको फोनको लोकप्रियता बजारमा उच्च थियो।
कम्युनिकेटर नामबाट आफ्नो किबोर्ड स्मार्टफोन सार्वजनिक गर्दै क्लिक्स कम्पनीले एकपटक पुनः ब्लाकबेरी युग फिर्ता ल्याउन चाहन्छ। तथापि यो फोन केवल पूरानो ब्लाकबेरी जस्तो फिचर फोन भने होइन। यसमा अत्याधुनिक स्मार्टफोनका सम्पूर्ण फिचर्स उपलब्ध छन्।
यद्यपी कम्पनीले यसलाई आम प्रयोगका स्मार्टफोनको प्रतिस्थापनका रूपमा नभई नियमित प्रयोगका फोनको सहायक फोनका रुपमा पेश गरेको छ र केही अत्यावश्यकीय फिचरमा केन्द्रित भएको छ। यसमा ब्लाकबेरी जस्तो डिजाइन हुनुका साथै आइफोनको एक्सन बटन जस्तै फिचर उपलब्ध छ।
क्लिक्स कम्युनिकेटर फोनको मूल्य ४९९ डलर तोकिएको छ। यो फोनमा QWERTY किबोर्ड रहेको छ, जुन टस सेन्सिटिभ हुनुका साथै पछाडिपट्टि जडित प्रकाशले प्रयोगलाई सहज बनाउँछ। साथै यो किबोर्डले स्क्रोलिङ पनि सपोर्ट गर्छ। फोनमा युएसबी सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक, माइक्रो एसडी कर्ड स्लट पनि रहेको छ। यो फोनमा एयरप्लेन मोडका लागि एउटा विशेष बटन पनि दिइएको छ। साथै एउटा अर्को साइड बटन पनि यसमा रहेको छ, जुन आइफोनको एक्सन बटनजस्तै छ।
४.०३ इन्चको एमोलेड स्क्रिन रहेको यो फोनले डुअल सिम (इ सिम र भौतिक सिमकार्ड) सपोर्ट गर्दछ। यसमा ४ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री छ भने ५० मेगापिक्सेलको मुख्य क्यामेरा तथा २४ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेका छन्। मिडियाटेक फाइभजी प्रोसेसर रहेको यो फोनमा एन्ड्रोइड १६ अपरेटिङ सिस्टम रहेको छ। - एजेन्सी