काठमाडौँ - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्नो स्थापना भएको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा २२औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको सभापतित्व नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्षले गरेका थिए भने प्रमुख अतिथिका रूपमा गृहमन्त्री ओम प्रकाश अर्याल तथा विशेष अतिथिका रूपमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष सहभागी थिए।
समारोहमा कम्पनीका सञ्चालक समिति सदस्य, पूर्व सञ्चालक तथा पूर्व प्रवन्ध निर्देशक, कर्मचारी, सञ्चारकर्मी र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल टेलिकमका प्रवन्ध निर्देशकले कम्पनीले हालसम्म गरेको सेवा विस्तार, पूर्वाधार विकास, प्रविधि स्तरोन्नति तथा भावी योजनाबारे जानकारी गराउँदै फोरजी/एलटीई सेवाको पहुँच सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा विस्तार भइसकेको बताए। हाल देशभर ४,७८८ स्थानमा टुजी, थ्रीजी र फोरजी मोबाइल सेवा उपलब्ध रहेको र बाँकी केही स्थानीय तहमा चाँडै फोरजी सेवा सञ्चालनमा ल्याइने जानकारी दिइयो।
कम्पनीले फाइभजी सेवा सुरुवातका लागि हाल सञ्चालनमा रहेको फोरजी कोर सिस्टम स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइसकेको छ। त्यसैगरी, एफटीटीएच नेटवर्क क्षमता २२ लाख ६५ हजार पुगेको र यसबाट ८ लाख ४९ हजारभन्दा बढी ग्राहकलाई डाटा, भ्वाइस र एनटीटीभी सेवा प्रदान भइरहेको जनाइएको छ।
दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तारलाई प्राथमिकता दिँदै चालु आर्थिक वर्षमा दोलखा, सोलुखुम्बु, बझाङ, दार्चुला, संखुवासभा, जुम्ला लगायतका स्थानमा टुजी तथा फोरजी सेवा सञ्चालनमा ल्याइएको छ। साथै, डाटा सेन्टर निर्माण, नयाँ बिलिङ सिस्टम, एनटी क्लाउड, ब्याकबोन पूर्वाधार तथा अप्टिकल फाइबर नेटवर्क विस्तारका कार्यहरू पनि अघि बढिरहेका छन्।
राजस्वतर्फ गत आर्थिक वर्षमा कम्पनीले ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दै ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको र कर तथा शुल्कमार्फत १८ अर्ब ४६ करोड रुपैयाँ नेपाल सरकारको कोषमा योगदान गरेको जानकारी दिइयो।
२०८२ मंसिर मसान्तसम्म नेपाल टेलिकमको ग्राहक आधार २ करोड १९ लाख ७९ हजार नाघेको छ। भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५४ प्रतिशत रहेको छ भने डाटा सेवाका प्रयोगकर्ता २ करोड १८ लाखभन्दा बढी पुगेका छन्।
वार्षिकोत्सवको अवसरमा कम्पनीले विशेष अफरहरू पनि सार्वजनिक गरेको छ। माघ २२ देखि २८ सम्म २२ रुपैयाँमा २ जीबी डाटा (१ दिन), २२२ रुपैयाँमा २२ जीबी डाटा (२२ दिन) सहितका प्याकेज, सस्तो दरमा प्रिपेड सिमकार्ड, एफटीटीएच जडान शुल्क छुट, तथा विभिन्न बोनस डाटा योजना लागू गरिएको छ।
समारोहमा उत्कृष्ट कर्मचारी, विक्रेता तथा साझेदारलाई सम्मान गर्नुका साथै कर्मचारी सहभागितामा विविध अतिरिक्त क्रियाकलापसमेत आयोजना गरिएको थियो। नेपाल टेलिकमले आगामी दिनमा सेवा गुणस्तर सुधार, नयाँ प्रविधि भित्र्याउने र डिजिटल नेपाल अभियानमा थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।