काठमाडौँ - नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्र ‘डिजिटल हब’ बनाउने लक्ष्यसहित सूचना प्रविधि विकाससम्बन्धी योजना सार्वजनिक गरेका छन्।
थापाले सोमबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सूचना प्रविधि क्षेत्रमा सीमित सुधारले पनि ठूलो उपलब्धि हासिल गर्न सकिने बताएका हुन्।
केही समयअघि कीर्तिपुरमा आयोजित एक कार्यक्रममा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचनाको विषय बनेको उल्लेख गर्दै उनले उक्त भनाइ योजनाबद्ध सोचमा आधारित रहेको स्पष्ट पारे।
अघिल्लो सरकारको कार्यकालमा अध्यादेशमार्फत गरिएका साना नीतिगत सुधारले सकारात्मक परिणाम दिएको उदाहरण दिँदै उनले अब थप व्यवस्थित नीति सुधार आवश्यक रहेको बताएका छन्।
थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने प्रस्ताव गर्दै पाँच वर्षभित्र करिब चार खर्ब रुपैयाँ बराबरको सूचना प्रविधि सेवा निर्यात गर्ने लक्ष्य राखेका छन्। योजनाअनुसार दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने तथा तीनदेखि पाँचवटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य राखिएको छ।
यसका लागि स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्न ‘ट्यालेन्ट हब’ स्थापना र सार्वजनिक–निजी साझेदारीको मोडल कार्यान्वयनमा ल्याउनुपर्ने उनले बताएका छन्।
नेपाल अब फ्रिल्यान्सिङ र बीपीओ सेवामा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन विकास र निर्याततर्फ केन्द्रित हुनुपर्ने उनको धारणा छ। स्वदेशी प्रविधि र उत्पादनलाई सरकारी निकायले प्राथमिकताका साथ प्रयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
थापाले बनेपास्थित आईटी पार्क बनेपाको उदाहरण दिँदै भौतिक पूर्वाधार निर्माण मात्र पर्याप्त नभई पूर्ण डिजिटल इकोसिस्टम विकास गर्नुपर्ने बताए।