काठमाडाैँ- स्वतन्त्र उम्मेदवार महावीर पुनको विजयसँगै २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीमा भने फरक दृश्य देखिएकाे छ। नेपाली राजनीतिमा चुनाव जितेपछि शक्ति प्रदर्शन, र्याली, अबिर–मालासहितको तामझामपूर्ण विजय उत्सव हुने गरेकाेमा चुनावी शैलीमै परिवर्तन भएपछि नयाँ सन्देश पनि गएको छ।
झन्डै तेब्बर मतान्तरले विजयी भएर मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र बुझेपछि समर्थकहरू विजय उत्सव मनाउन उत्साहित थिए। तर नवनिर्वाचित सांसद पुनले समर्थकलाई नै सम्झाउँदै भने, 'म उत्सव मनाउन होइन, काम गर्न आएको हुँ। विजय उत्सवले प्रतिस्पर्धीहरूको मनमा चोट पुर्याउँछ र जनताको समय तथा पैसा खेर जान्छ।' उनको यस भनाइसँगै विजय र्यालीको तयारी रोकियो र समर्थकहरू मौन बस्न बाध्य भए।
सादगीपूर्ण चुनावी शैली
यसपटकको निर्वाचनमा पुनको प्रचार शैली निकै फरक र सादगीपूर्ण थियो। उनले ठूलो सभा, शक्ति प्रदर्शन र खर्चिलो प्रचारको बाटो छाडेर सीमित टोलीसहित मतदाताको घरदैलोमा पुग्ने अभियान चलाए। झण्डा, नारा र भड्किलो कार्यक्रमबिना गरिएको उनको प्रचार अभियानले अन्य उम्मेदवारहरूलाई समेत आफ्नो रणनीति बदल्न बाध्य बनायो। पुनले मतदातासँग कुनै आकर्षक योजना वा प्रतिबद्धताको बाचा पनि गरेनन्। बरु उनले मतदातालाई स्वतन्त्र रूपमा निर्णय गर्न आग्रह गर्दै भनेका थिए, 'भोट दबाबमा दिने कुरा होइन। मलाई मन परे मलाई भोट दिनुहोस्, नपरे आफूलाई मनपर्ने उम्मेदवारलाई दिनुहोस्।'
उनको यही शैलीले चुनावलाई वैचारिक र स्वेच्छिक बनाउन मद्दत गरेको विश्लेषण गरिएको छ। अन्य उम्मेदवारहरूले पनि ठूलो सभा र खर्चिलो कार्यक्रम छाडेर घरदैलो अभियान र साना टोल भेलामा सीमित हुन थाले।

झन्डै तेब्बर मतान्तरले विजय
म्याग्दी निर्वाचन क्षेत्रमा पुनको उम्मेदवारी अन्तिम समयमा आए पनि यसले जिल्लाको परम्परागत चुनावी अंकगणित नै खलबलायो। अन्तिम परिणाम अनुसार पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत मात्र पाए।
‘काम गर्न आएको हुँ’
निर्वाचन परिणामपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले सांसदको भूमिकालाई बजेट बाँड्ने होइन, स्थानीय आवश्यकताका योजनालाई केन्द्रसम्म पुर्याउने रूपमा प्रयोग गर्ने बताए। उनले भने,
'एक पटक काठमाडौं पुगेर फर्केपछि फेरि जनताको घरदैलोमा पुग्छु। योजनाहरू केन्द्रले होइन, स्थानीय सरकारले आवश्यक ठानेका योजनाहरू नै प्राथमिकता पाउनुपर्छ। मेरो भूमिका बजेट बाँड्नेभन्दा पनि ती योजनालाई केन्द्रसम्म पुर्याउने र बजेट व्यवस्थापनमा सहजीकरण गर्ने हुनेछ।'
शिक्षा मन्त्रीबाट संसदसम्म
सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पुनले आफूले अघि बढाउन खोजेका केही शिक्षासम्बन्धी ऐन र नियमावली पारित हुन नसकेपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि नीति निर्माणका लागि संसदमै पुग्नुपर्ने निष्कर्षसहित उनले स्वतन्त्र उम्मेदवारी दिएको बताएका थिए।
पदले नबदलिएको जीवनशैली
महावीर पुनको सादगीपूर्ण जीवनशैली पहिलेदेखि नै चर्चित छ। चप्पल लगाएर हिँड्ने उनको शैली उनको व्यक्तिगत पहिचानजस्तै बनेको छ। चुनाव जितेपछि पनि उनले भड्किलो कार्यक्रम नगरी साधारण ढंगले आफ्ना गतिविधि अघि बढाइरहेका छन्। निर्वाचनपछि पनि उनले पोखराका सडकमा बसेर आफ्नै आत्मकथात्मक पुस्तक बिक्री गर्दै आफूलाई पदले परिवर्तन नगर्ने संकेत दिएका छन्।
‘नलेज इकोनोमी’को एजेन्डा
संसदमा पुगेपछि पुनले ‘नलेज इकोनोमी’ र नवप्रवर्तन (इनोभेसन) को मुद्दा जोडदार रूपमा उठाउने तयारी गरेका छन्। उनले राष्ट्रिय बजेटको कम्तीमा १ प्रतिशत अनुसन्धान र नवप्रवर्तनमा खर्च गर्नुपर्ने पुरानो एजेन्डालाई पुनः उठाउने बताएका छन्।
उनका निकट सहयोगी चित्रबहादुर तिलिजाका अनुसार संसद बैठक सुरु हुनुअघि पुनले राष्ट्रिय आविष्कार केन्द्र र वीरगन्जस्थित कृषि औजार कारखानाको अवस्था बुझ्ने योजना बनाएका छन्। चन्दा र दानको भरमा सञ्चालन भइरहेका संस्थाहरूलाई सरकारी नीति र बजेटभित्र ल्याउने प्रयास हुने बताइएको छ।
संघर्षपूर्ण बाल्यकाल
२०११ सालमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मिएका पुनको बाल्यकाल भने निकै संघर्षपूर्ण थियो। उनका बाबु भारतीय सेनामा कार्यरत भए पनि उनले आफ्नो बाल्यकाल बाजे मैते पुनसँग जलजला र हम्पालका गोठहरूमा बिताएका थिए। आज त्यही संघर्षबाट अघि बढेका महावीर पुनको सादगीपूर्ण शैलीले म्याग्दी मात्र होइन, नेपाली राजनीतिमा पनि नयाँ राजनीतिक संस्कृतिको सन्देश दिएको धेरैको बुझाइ छ।